सुदूरपश्चिमका तीन अस्पतालमा हाल १८ वटा आइसियू बेड र १५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सञ्चालनमा छ।
कैलालीको सेती प्रादेशिकमा १० आइसियू बेड र १० भेन्टिलेटर छन्। कञ्चनपुरको महाकाली अस्पतालमा ८ आइसियू बेड र ३ भेन्टिलेटर छन्।
डडेल्धुरा अस्पतालमा २ भेन्टिलेटर रहे पनि आइसियु बेड छैन। अस्पतालले सामान्य बेडमा आवश्यक परेका बेला भेन्टिलेटर प्रयोग गर्ने गरिएको जनाएको छ।
कोरोना संक्रमण फैलिनु पूर्व सेती प्रादेशिक अस्पतालमा ३ भेन्टिलेटर र ५ आइसियू बेड रहेका थिए। चैत यता ७ भेन्टिलेटर र ५ आइसियू बेड थपिएको अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उता महाकाली अस्पतालमा कोरोना माहामारी पछि मात्र भेन्टिलेटरसहितको सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरी श्रेष्ठले जानकारी दिए।
प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाका अनुसार महामारी फैलिएपछि २० वटा भेन्टिलेटर खरिद भएका छन्। दुई अस्पतालमा ८ ओटा जडान गरिए पनि जनशक्ति नभएका कारण १२ ओटा थन्किएकाे स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र कार्कीले बताए।
‘जनशक्ति नभएकाले खरिद गरेका भेन्टिलेटर पनि अन्य अस्पतालमा जडान गर्न सकिने अवस्था छैन,’ उनले भने।
संघीय सरकारले सुदूरपश्चिमका तीन अस्पतालमा भेन्टिलेटर र आइसियू सेवा विस्तार गर्ने तयारी गरेको छ। डडेल्धुरा अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको टिकापुर अस्पतालमा भेन्टिलेटर सहितको आइसियू सेवा विस्तारका लागि ७ करोड बजेटको सुनिश्चितता पठाएको छ। सेवा विस्तारका लागि तयारी थालिएको यी अस्पतालहरुले जनाएका छन्।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह कार्कीले संघीय सरकारबाट महाकाली अस्पताल र टिकापुर अस्पतालका लागि २/२ करोडको सुनिश्चितता पत्र प्राप्त भएको बताए।
उनले पत्र अनुसार ती दुई अस्पताललाई ४/४ वटा भेन्टिलेटरसहित १०/१० बेडको आइसियू सञ्चालनको तयारी अगाडि बढाउन भनिएको जानकारी दिए।
उता डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जगदिशचन्द्र विष्टले भेन्टिलेटरसहितको आइसियू सञ्चालनका लागि संघीय सरकारबाट तीन करोडको सुनिश्चितता पत्र प्राप्त भएको बताए।
अब भेन्टिलेटर र आइसियू कहाँ राख्ने र कसरी सञ्चालन गर्ने भन्ने तयारी सुरू गरिएको विष्टले बताए। उनले पाँच वटा भेन्टिलेटरसहित १५ बेडको आइसियू सेवा विस्तार गर्न तीन करोड बजेटको सुनिश्चितता प्राप्त भएको बताए।