भक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।
झापा चन्द्रगढी पृथ्वीनगर नगरपालिका १ का २१ वर्षीय दिपेश राईलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले झापा भद्रपुर नगरपालिका ८ बाट पक्राउ गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका वडा नम्बर ४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो।
उनीहरूलाई गत असोज १८ मा पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेश गरी जबरजस्ती करणीसम्बन्धी कसूरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूले किशोरीलाई लठ्याउने औषधि मिसाई खान दिएर जबरजस्ती करणी गरेको आरोप छ। उनीहरूले गत असोज १६ गते किशोरीलाई रत्नपार्कबाट बसमा चढाएर भक्तपुर लगेका थिए।