पोहोर साल जेठमा एकजना केटा उनकी छोरीको हात माग्न आए।
कैलालीको गोदावरी नगरपालिका-१२ की धनसरा (नाम परिवर्तन)लाई ११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन् न पाल्न। यो दु:ख सहनुभन्दा त बरू बिहे गरेर गई भने सुख पाउली ठानेर उनले छोरीको हात दिइन्। मंसिरमा बिहे हुने कुरा छिनियो।
त्यही बीचमा केटा पक्षले थाहा पाएछन्- धनसरालाई एचआइभी भएको छ। एचआइभी धनसरालाई भएको थियो तर केटा पक्षले छोरीसँगको विवाह तोडिदियो। अरूसँग नै खबर पठाइदियो- हामी यो विवाह गर्दैनौं।
खबर सुनेर धनसराको मन कुँडियो। सानैदेखि एचआइभी संक्रमितका छोराछोरी भनेर हेलाहोचोमा पर्ने आफ्ना सन्तानको विवाह पनि नहुने पीरले उनको मन बेचैन भयो।
धनसराको जीवनमा बेचैनी शिलशिला १५ वर्षकी हुँदादेखि नै सुरू भएको हो। जतिबेला उनका बुवाआमाले गाउँकै एकजनासँग उनको विवाह गरिदिएका थिए।
‘श्रीमान् निको फेला परेको भए यस्तो किन हुन्थ्यो,’ केही दिनअघि धनसराले सेतोपाटीसँग भनिन्।
उनका श्रीमान् भारत जान्थे। पैसा कमाएर घर पठाउनु त कहाँ हो कहाँ गाउँबाट गएकाहरूसँग उतै ऋण माग्थे। गाउँलेको ऋण धनसरा कुखुरा-बाख्रा बेचेर तिर्थिन्।
‘मलाई बिहे गरेकी श्रीमती मान्थेनन्, बाहिर-बाहिर यताउता गर्थे,’ उनले भनिन्, ‘तर घरमा सासससुरा तँबाट बच्चा जन्मे त रूख बिरूवाबाट जन्मेला भनेर बचन लाउँथे।’
बिहे गरेको ६ वर्ष बित्यो। बालबच्चा भएनन्। छोरीको घरबार हुने चालामाला नदेखेपछि धनसराका आमाबुवाले अर्को बिहे गर नभनेका होइनन् उनले जता गए पनि यस्तै हो ठानिन्। बरू अहिलेकै श्रीमानलाई मनाउने सोचिन्।
आमाले गाडीभाडा दिएर श्रीमान् भेट्न भारत पठाइन्।
धनसरा श्रीमान खोज्दै भारत पुगिन्। श्रीमानसँगै बस्न थालेपछि उनी दुई जिउकी भइन्। केही समयपछि छोरी जन्मिइन्।
छोरी बोकेर उनी घर फर्किइन्। चार वर्ष घरमा बसिन्। श्रीमान् फर्किएनन्। उनी फेरि भारत गइन्। यसपालि अर्की छोरी जन्मिइन्।
घरमा दुई मुनाजस्ता छोरी हुर्किरहेका थिए। उनका श्रीमानलाई भने उनीहरूको मायाले तानेन। उनी भारतमै बसिरहे। धनसरा केही वर्षपछि फेरि भारत गइन्।
यसपालि छोरा जन्मियो। श्रीमानसँगै बस्दा छोराछोरी त जन्मिए तर उनले कहिल्यै श्रीमानको माया पाइनन्। उनी यहाँबाट लामो बस र रेलको यात्रा झेलेर श्रीमान भेट्न जान्थिन्, उता उनी श्रीमतीलाई हेलाहोचो गर्थे।
२०६२ सालतिरको कुरा हो, उनलाई श्रीमान निकै बिराम परेको खबर सुनिन्। उनी आफैं भारत गएर श्रीमानलाई ल्याएर आइन्।
अत्तरिया अस्पतालमा उपचार गर्न लगिन्। भारतबाट फर्केका हुनाले डाक्टरहरूले एचआइभी चेक गर्न भने, नभन्दै उनका श्रीमानलाई एचआइभी पोजेटिभ देखियो।
धनसराको पनि परीक्षण गर्नु पर्ने भयो। दुई पटक चेक गर्दा नेगेटिभ आएको थियो, तेस्रो पटक जाँच्दा उनमा पनि एचआइभी संक्रमण देखियो।
एचआइभी संक्रमित भएका उनका श्रीमानको २०६४ साल मृत्यु भयो।
‘आफू त हिँडिहाले, मलाई पनि सारेर गए,’ उनले भनिन्, ‘सुरूमा हर्टअट्याक आएजस्तो भयो, केटाकेटी कसरी पाल्ने भन्ने भयो। अब म मरिहाल्छु भन्नेजस्तो लाग्यो। आफन्तलाई केटाकेटी हेरिदिनु भनेर अनुरोध पनि गरें।’
एड्स लागेर बा गुमाएका र आमा पनि संक्रमित भएको थाहा पाएपछि गाउँभरि उनीहरूका छोराछोरीले अपहेला सहनु पर्यो। गाउँका केटाकेटी उनीहरूसँग खेल्न पनि आउँदैनथे।
एचआइभीले घरबार उजाडेपछि स्कुल पढ्न पनि निकै संघर्ष गर्नुपर्यो।
‘ड्रेस नभएर अर्काको मागेर लगाउँथें, कापी नभएर साथीहरूले एक एक पेज दिएपछि सिलेर कापी बनाएर लेखें,’ उनकी कान्छी छोरी पार्वतीले भनिन्।
पेन्सिलको निम डटपेनमा हालेर लेख्ने रहर पुरा गरेकी उनी अहिले १२ कक्षा पढ्दैछिन्। तर, अहिले उनीसँग बिहे गर्न भन्दै आउनेहरू उल्टै लान्छाना लगाएर जान्छन्।
धनसराका आमाछोरीले ढुसी परेको थोत्रो घर दशैंका लागि लिपपोत गरेकी छन्। त्यसको चुहिने छानामा हरेक वर्षा उनले तीन हजारको त्रिपाल हालेर टाल्ने गरेकी छन्।
आजभोलि पानी नपरेकाले ठिक भएको छ। नत्र भित्र-बाहिर सबैतिर चुहिन्छ।
केही दिनअघि जेठी छोरी र ज्वाइँ आएका बेला घरमा सुत्ने ठाउँ पुगेन। यो घर पनि ७-८ वर्षअघि संस्थाले बनाइदिएको हो।
संक्रमित भएपछि गाउँमा उनीमाथि विभेद हुनथाल्यो।
‘धारामा गए निका-फुर्सा मान्छे यहीँ नुहाउन आउँछन् भन्थे। गाउँलेले घृणा गर्न थालेपछि घर बाहिर जान मन पनि नलाग्ने। त्यसै घरमै सोचीसोची बस्थें,’ उनले भनिन्।
अहिले गाउँमा अरू मान्छे र संक्रमित विभिन्न तालिममा सहभागी हुन थालेपछि कम हेप्न थालेका छन्।
संक्रमण देखिएको २ वर्षमै श्रीमान् बितेपछि आफू पनि मर्ने हुँ किजस्तो उनलाई लाग्थ्यो।
‘अब छोराछोरीलाई र मलाई केही नहोस्, यिनलाई पाल्न पाउँ भनेर आँट गरें,’ उनले भनिन्।
कमाउने मान्छे नै नरहेपछि उनकै काँधमा सबै जिम्मा थियो। समाजको अपहेलानाले काम गर्न पनि सहज थिएन। स्कुलमा आग्रह गरेपछि केटाकेटीलाई निःशुल्क पढाइ दिन थाले।
तीनै छोराछोरीको पाँच-पाँच पटक एचआइभी जाँच्दा पनि संक्रमण देखिएन। उनीहरू संक्रमित नभए पनि विभेद भने भोगिरहनु परेको छ।
जेठी छोरीलाई ९ कक्षा पढाएपछि गाउँका मान्छेले दाल चामल दिएर सहयोग गरेपछि बिहे गरिदिइन्।
घरमा खान नुन तेल पनि नहुने भएपछि १४ वर्षको उमेरदेखि नै उनका छोरा भारत जान थाले। उनले धेरै पैसा भने कमाउन सकेका छैनन्।
‘कहिले होटलको सेठले पैसा नदिने, कहिले नेपालीले नै केटाकेटी हो भनेर ठग्ने रहेछन्, कमाइ केही छैन,’ उनले भनिन्।
पोहोर दीपावलीमा घर आएका बेला छोराले ६ हजार रुपैयाँ आमालाई दिएको थिए।
तिहार मानेर फेरि गएका उनी अहिले कोरोनाले घर आएका छन्। अब गाडी खुलेपछि फेरि इन्डिया नै जाने योजना छ।
‘भाडा पनि धेरै लाग्छ भन्छन् आजकाल। जान त जाने हो। कहाँबाट टिकट काटेर पठाउँ, कसैसँग ऋण काढेर भए पनि पठाउनै पर्यो,’ उनले भनिन्।
लकडाउन पछि उनका घरमा समस्याको गुणन भएको छ।
कान्छी छोरी १२ को परीक्षा दिने छिन्। कोरोनाकै कारणले उनको परीक्षा रोकिएको छ।
एसएलसी दिन्जेलसम्म छोराले पठाएको २-३ हजारले उनले छोरीलाई पढाएकी हुन्।
‘जेठी दिदीले र मैले पढ्न पाएनौं, तँ पढ भनेर उसले दिदीलाई भन्छ। सरहरूले पनि कहिले ट्युसन फी र अरू शुल्क छुट गरिदिएकाले सजिलो भएको हो,' उनले भनिन्।
स्नातक पढ्न अत्तरियाका क्याम्पस जानुपर्नेछ। त्यहाँ कसैले छुटमा पढाइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ।
पोहोर बिहे रोकिएपछि अब उनकी छोरी केही वर्ष बिहे नगर्ने सोचमा छन्।
‘मलाई पढ्न मन छ, पहिले भाइको बिहे गरेरमात्र आफू बिहे गर्छु,’ उनले भनिन्।
भएको छ कठ्ठा जमिन पनि श्रीमानको उपचारमा बेचेरै सकियो। अहिले बसेको पाँच कठ्ठा प्रति जमिनको लालपुर्जा उनीहरूका नाममा छैन।
खानेपानीको नल्का पनि छैन। गाउँमा घरघर पानीको धारा आउने भयो भनेर सबैले ३-३ हजार उठाए। धनसराको पैसा वडा अध्यक्षले तिरिदिए। पछि भत्ता आएपछि अध्यक्षको पैसा उनले फिर्ता गरिदिइन्।
‘अहिले पाइप घरसम्म पुगाउन र धारा जोड्न ८-१० हजार लाग्ने भनेका छन्। त्यो पैसा नभएकाले पहिलेको तीन हजार पनि खेर जाने चिन्ता छ,’ उनले भनिन्।
धेरै बोलेपछि, काम बढी गरे पनि धनसरा बिमारी परिहाल्छिन्। पोहर पनि मुटुमा समस्या देखिएपछि काठमाडौं गएर उपचार गराएकी थिइन्। औषधी किन्ने पैसा छैन।
‘साउनको महिना भत्ता पाएपछि ५ सयको औषधी किनें, हजार रुपैयाँ भाडा लाग्यो,’ उनले भनिन्।
उनले मुटुको औषधी पनि खाइरहनुपर्छ। अत्तरियामा पाइँदैन, धनगढी जानुपर्छ।
उनी एचआइभीको औषधी पनि नियमित खाइरहेकी छन्। त्यो भने नि:शुल्क पाइन्छ।
सुरूसुरूमा बिमार देखिएका बेला त मान्छेको नजिक भए पनि सल्किन्छ कि भन्थे। कसैका घरमा गए पनि बस्न प्लास्टिक दिन्थे। आफ्नो घर थिएन। अर्काको घरमा बस्नुपर्ने तर बास दिनेले प्लास्टिक ओछ्याएर सुत्न भन्थे।
‘अहिले त्यो अवस्था भने हटेको छ,’ उनले भनिन्।
यो सबै दु:खको कारण भारत जानुपर्ने बाध्यता होजस्तो धनसरालाई लागेको छ।
‘श्रीमान् यहीँ हुन पाए एचआइभी कहाँबाट आउँथ्यो? आफ्नै ठाउँमा काम पाइदिए राम्रो हुन्थ्यो। छोराछोरीको भविष्य राम्रो हुन्थ्यो। भारत गएर रक्सी खाने, उतै भुल्लिने भएर त ज्यानै गयो,’ उनले भनिन्।
अहिले धनसराले बचत समूहमा खाता खोलेकी छन्। छोरो कमाउन जान थालेपछि अलिकति बचत गरौं भनेर खाता खोलेको बताइन्।
‘ऋण लिन पनि फाइदा होला भनेर त्यहाँ लागें,’ उनले भनिन्।
लकडाउन भएकाले छोरा घरमै बसे। महिनाको ३१० रुपैयाँ समूहमा भर्नुपर्छ। अघिल्लो महिनाको रकम एकजना छिमेकीले हालिदिएका थिए। त्यो धनसराले उनका धान काटेर चुक्ता गरिन्।
कृष्ण जन्माअष्टमीमा तेल किन्नु पर्दा उनीसँग २० रुपैयाँमात्र थियो। ४० रुपियाँ उधारो राखेर साहुजीले तेल दिएनन्।
‘एकल महिलाको भत्ता आउन थालेपछि उधारो पाइन्थ्यो,’ उनले भनिन्,' अहिले त त्यो पनि रोकिदिएको छ, हामीजस्ता एकललाई त भत्ता दिन पर्ने, किन रोकेको रैछ?’
१२ पढेकी छोरीलाई कसैले जागिर देला कि भन्ने आश उनमा छ।
उनकी छोरीमा त्यो आशमात्र होइन सपना बनेर बसेको छ।
'जागिर गरेर पढ्ने, घर बनाउने, नल्का हाल्ने र भाइलाई भारत जान नदिने इच्छा छ,' उनले भनिन्।
कैंयौका नजरमा निकै सानो लाग्ने यो इच्छा पुरा गर्न उनका अगाडि भने समस्याको निकै ठूलो पहाड उभिएको छ।
हेर्नुस् भिडिओ