पोखरा–१४ भोटेचौतारा स्थित सुकुम्बासी बस्तीमा केही दिनयता नयाँ मान्छेहरूको निकै फूर्तिपार्ती थियो। सुकुम्बासी बस्तीमा उनीहरूले स्थानीयलाई जग्गा मिलाइदिने आवश्वासन दिए, स्थानीयले पत्याए।
नपत्याउन् पनि कसरी। नेपाल सरकार अव्यवस्थित सुकुम्बासी समाधान आयोग काठमाडौंको गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी भनेर उनीहरूले आफ्नो परिचय दिएका थिए।
परिचय मात्र भनेको भए स्थानीयले पत्याउने थिएनन्। यसअघि सरकारले गठन गरेको सक्कली सुकुम्बासी आयोगले पनि सुकुम्बासीलाई जग्गा दिने आश्वासन त दिएकै थियो।
सरकारले केन्द्रमा आयोग गठन समेत गरिसकेको थियो। पोखरामा सुकुम्बासी आयोगका पदाधिकारी हौं भन्ने गिरोहले अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग काठमाडौंको ब्यानरमा गण्डकी प्रदेश कार्यसमिति लेखिएको पत्र समेत स्थानीयलाई देखाए। जुन पत्रले स्थानीयलाई विश्वास दिलायो।
सुकुम्बासी आयोगका पदाधिकारी भनिएका व्यक्तिहरूले कामकाज भने अनौठो हुँदै गयो। सुकुम्बासी बस्तीको तीन सय रोपनी जमिनमा भएको घर जग्गा तत्काल उपलब्ध गराइदिने उनीहरूले बताएका थिए। जसका लागि तत्कालै अमिन फिल्डमा लगे जग्गा नापजाँच गर्ने भनेर पैसा उठाउन थाले।
स्थानीयले यहीँनिर शंका गरे। कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालयमा यी सबै घटनाको वृतान्त सुनाइदिए। यसअघि बनेका कैयौं सक्कली सुकुम्बासी आयोगले त जग्गा उपलब्ध गराउन सकेका थिएनन्, अहिले आजको भोलि नै जग्गाको लालपूर्जा दिउँला झैं भनेको सुकुम्बासी बस्तीका एक स्थानीयले बताए।
हुँदै नभएको सुकुम्बासी आयोगको नाममा जग्गाा उपलब्ध गराइदिने भनेर पैसा उठाएको थाहा पाएपछि प्रहरी परिचालित भए, रंगेहात गिरोह पक्राउ परे। पक्राउ पर्नेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका-९ घर भई अहिले पोखराको पर्स्याङ बस्ने ३९ बर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगंगा गाउँपालिका-४ राफु घर भई हाल पोखराको कुँडहर बस्ने रमेशकुमार परियार, रुपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगडी घर भई हाल पोखराको चाउथे बस्ने ओमबहादुर सुनार रहेका छन्।
यस्तै, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले घर भई हाल पोखरा बस्ने रिता विश्वकर्मा, पोखराको चोरसाँघु बस्ने सोनु परियार, पोखराकै बाँझापाटनका सिता सुनार, मियापाटनका हर्कबहादुर विक र मियापाटनका मौसम सदाशंकर पनि पक्राउ परेका छन्। उनीहरूलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको डिएसपी हमालले बताए।
उनीहरूको साथबाट नक्कली सुकुम्बासी समस्या समाधान आयोगको बैठक पुस्तिका, नगदर उठाएको रजिष्टर, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तीका नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजका फोटो समेत प्रहरीले बरामद गरेको छ।
जग्गा उपलब्ध गराइदिने भनेर उनीहरुले सुकुम्बासी बस्तीका स्थानीयसँग उठाएको नगद १ लाख ६१ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी हमालले बताए। प्रहरीले जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका गिरोहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुद्धा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ अनुसार मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी हमालले बताए।