भारतका राष्ट्रिय टेलिभिजन च्यानलहरूमा केही महिनादेखि एउटा विषयले खास प्राथमिकता पाइरहेको छ।
तपाईंहरूलाई लाग्ला त्यो विषय कोरोना महामारी हो! वा, चीनसँगको सीमा विवाद!
यी दुवै अनुमान सही होइनन्।
अहिले भारतीय मिडियामा सबभन्दा बढी प्राथमिकता पाएको विषय हो, बलिउड। तपाईं 'रिपब्लिक' खोल्नुस् या 'आजतक', प्रायः राष्ट्रिय च्यानलमा बलिउड नै छाएको देख्नुहुन्छ।
यसको सुरूआत जेठ ३२ गतेबाट भयो, जब बलिउड अभिनेता सुशान्त सिंह राजपुत मुम्बईको अपार्टमेन्टमा मृत फेला परे। उनको शव पंखामा झुन्डिएको थियो।
सन् २०१९ को तथ्यांकअनुसार भारतमा हरेक दिन औसत ३८१ जनाले आत्महत्या गर्छन्। आत्महत्या गर्नेमा सहरी युवाको संख्या बढी छ। सुशान्त तिनैमध्ये एक हुन सक्थे, जो डिप्रेसनको शिकार भए र आत्महत्याको बाटो रोजे।
मिडियालाई भने यस्तो सहज उत्तरको अपेक्षा थिएन। उनीहरूलाई बलिउड फिल्ममा जस्तै एक बलिउडकर्मीको मृत्युमा पनि एक्सन, सस्पेन्स र मेलोड्रामाको खोजी थियो।
यही खोजीमा टेलिभिजन च्यानलहरूले 'मिडिया ट्रायल' सुरू गरे। सुशान्तको मृत्यु हत्या हो या आत्महत्या भन्नेबारे मिडियाहरू आ–आफ्नै अड्कलबाजीमा लागे। धेरैको जोड 'हत्या' साबित गराउनमा केन्द्रित थियो। यसनिम्ति बलिउडको 'नातावाद' र 'समूहवाद' लाई यो घटनासँग जोडियो।
सुशान्तले खेल्न ठिक्क परेको फिल्ममा कुनै स्टारपुत्र राखिएको र त्यही कारणले उनी डिप्रेसनको शिकार भएको कथा बुनियो।
बलिउडमा सुशान्तलाई राम्ररी चिन्नेहरूले उनी डिप्रेसनग्रस्त रहेको बताउँदै आएका छन्। उनकै एक मनोपरामर्शदाताले पत्रकार बर्खा दत्तसँगको अन्तर्वार्तामा भनेकी छन्, 'सुशान्तमा मानसिक समस्या थियो। उनी डबल पर्सनालिटीका शिकार थिए।'
मिडियाले भने सुशान्तको स्वास्थ्यलाई स्थान दिएन। बरू उनको मृत्युमा सिंगो बलिउडलाई जिम्मेवार ठहर्यायो। करण जौहरलाई जिम्मेवार ठहर्यायो। महेश भट्ट र आलिया भट्टलाई जिम्मेवार ठहर्यायो। भट्ट पिता–पुत्रीको पछिल्लो रिलिज 'सडक–२' लाई सामाजिक बहिष्कार गर्नधरि कुनै कसर छाडिएन। उक्त फिल्मको ट्रेलर रिलिज हुँदा लाखौंले 'डिस्लाइक' गरे। जनताको असन्तुष्टि नै मिडिया ट्रायलको जीत थियो।
बलिउडमाथि 'नातावाद' र 'समूहवाद' को आरोप लगाउनमा अभिनेत्री कंगना रनावतले सत्तानिकट 'गोदी' मिडियाहरूलाई खुब साथ दिइन्। कंगना आफैं पनि सत्तारुढ भारतीय जनता पार्टीसँग निकट छिन्। उनले बलिउडको नातावादबाट आफू पीडित रहेको बयान दिएकी छन्। कुनै हस्तीको आशीर्वादबिना स्थापित आफू र सुशान्तजस्ता कलाकारलाई बलिउडमा सधैं 'बाहिरिया' ठानिने उनको आरोप छ।
यसबीच सुशान्तकी 'प्रेमिका' भनिने रिया चक्रवर्तीको नाम यो घटनामा उछालियो। रियाले सुशान्तको बैंक खाताबाट लाखौं रुपैयाँ गायब पारेको आरोप लगाइयो। मिडियाले उनलाई प्रेमीको सम्पत्ति पच पार्ने 'धूर्त' प्रेमिकाका रूपमा चित्रण गरे। एउटा च्यानलले त रियाले सुशान्तमाथि 'काला जादू' गरेको आरोपधरि लगायो।
सुशान्त प्रकरणमा रियाको नाम उछालिनुको एउटा कारण महाराष्ट्रको राजनीति हो।
महाराष्ट्रमा शिव सेनाका उद्धव ठाकरे मुख्यमन्त्री छन्। उनी पहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट थिए। पछि भाजपा छाडेर प्रतिपक्षी दलहरूसँग एकता गरे र संयुक्त सरकार बनाए। यसले ठाकरे र मोदीको सम्बन्ध बिग्रेको थियो।
सुशान्तको घटनामा 'मिडिया ट्रायल' चलिरहँदा ठाकरेका छोरा र रियाको निकट सम्बन्ध छ भन्ने हल्ला चल्यो। यही सम्बन्धका कारण महाराष्ट्र सरकारले 'सुशान्तको हत्यालाई आत्महत्या साबित गर्न खोजेको' कथनले मिडियामा पर्याप्त स्थान पायो।
यस्तो हल्ला चर्काउन सामाजिक सञ्जालमा ८० हजारभन्दा बढी 'नक्कली' अकाउन्ट खोलिएको महाराष्ट्र प्रहरीले दाबी गरेको छ। नक्कली अकाउन्ट खोल्नेमा भाजपा समर्थकहरू बढी पाइएका छन्।
यति मात्र होइन, यो घटनालाई षड्यन्त्रका रूपमा प्रचार गर्ने टेलिभिजन च्यानलहरू सबै भाजपा निकट देखिन्छन्। यसमा अग्रस्थान 'रिपब्लिक' कै छ, जसका सञ्चालक अर्नव गोश्वामी भाजपाको खुलेरै समर्थन गर्छन्।
सत्तासँग निकट टेलिभिजन च्यानलहरूले अगष्ट अन्त्यतिर अर्को समाचार प्राथमिकतासाथ प्रसारण गरे।
रिया र सुशान्तका कर्मचारी तथा साथीहरूबीच आदानप्रदान भएका पुराना ह्वाट्सएप मेसेजका आधारमा उक्त समाचार तयार पारिएको थियो, जसमा रियाले सुशान्तको निम्ति गाँजाको प्रबन्ध मिलाउँथिन् भनेर देखाइएको छ।
यही आधारमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले रियालाई पक्राउ गर्यो। उनीमाथि लागुपदार्थ सिन्डिकेट चलाएको अभियोग छ।
यो घटनालाई मिडियाहरूले फेरि जोडतोडसँग उछाले। बलिउड लागुपदार्थको अखडा बनेको र बलिउडकर्मीहरू दुर्व्यसनको शिकार भएको आरोप लगाइयो। करण जौहरको एउटा व्यक्तिगत पार्टीको भिडिओ पनि भाइरल भयो, जसमा केही कलाकार नशामा देखिन्छन्।
निजी पार्टीको भिडिओ फुटेज र व्यक्तिगत ह्वाट्सएप मेसेजकै आधारमा अभिनेत्रीहरू दिपिका पादुकोण, सारा अलि खान लगायतलाई नार्कोटिक्स ब्युरोले बयान दिन बोलायो।
यी अभिनेत्रीहरू बयान दिन गएको दृश्य मिडियाले यस्तरी प्रस्तुत गरे, मानौं उनीहरू ठूलै आतंकवादी हुन्। एउटा मिडियाले त दिपिका चढेको गाडी पछ्याउँदै सनसनीपूर्ण रिपोर्टिङ गरेकोसमेत देखियो।
दिपिका र साराको बयान जारी छ। सुशान्तको मृत्युलाई भने गत साता मेडिकल बोर्डले 'आत्महत्या' ठहर गरिसकेको छ। रिया पनि एक महिना थुनामा रहेर धरौटीमा छुटेकी छन्।
यसरी चार महिनाअघि सुशान्तको मृत्युबाट सुरू घटनाक्रम लागुऔषध प्रकरणसम्म आइपुग्दा एउटा कुरा प्रस्ट भएको छ– भारतीय सत्ता कुनै न कुनै बहानामा बलिउडलाई बदनाम गर्न चाहन्छ। यो अभीष्टमा भाजपानिकट 'गोदी' मिडिया हतियारका रूपमा प्रयोग भएका छन्।
अब प्रश्न उठ्छ, आखिर भाजपाले एक बलिउडकर्मीको मृत्युलाई यति ठूलो मुद्दा किन बनायो? बलिउडलाई बदनाम गर्नुमा भाजपाको के स्वार्थ हुनसक्छ?
सबभन्दा पहिला हामी यसको तात्कालिक कारण हेरौं।
सुशान्तसिंह राजपुतको पुर्ख्यौली घर बिहार हो। बिहारलाई भारतकै एक पिछडिएको प्रान्तका रूपमा चिनिन्छ। धेरै कम व्यक्ति छन्, जसले बिहारबाट संघर्ष गर्दै बलिउडमा 'हिरो' को मुकाम बनाए।
आफ्नो भूमिबाट उठेर महानगरी मुम्बईमा छाप छाड्न सफल सुशान्तको व्यक्तिगत उतारचढावले बिहारका जनतामा ठूलो प्रभाव पार्छ। उनीमाथि हुने न्याय–अन्यायले बिहारको राजनीति तरंगित हुन्छ। त्यसमाथि उनको मृत्यु हत्या हो कि आत्महत्या भन्ने प्रश्न सबभन्दा बढी बिहारकै निम्ति चासोको विषय हो। यदि त्यो हत्या हो भने किन ढाकछोप गर्न खोजिँदैछ र निष्पक्ष अनुसन्धान किन भइरहेको छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
राजनीतिमा कुनै पनि प्रश्नको वजन समयले निर्धारण गर्छ। सामान्य समय हुँदो हो त सुशान्तको मृत्यु मुम्बई क्राइम ब्रान्चको निम्ति मात्र टाउको दुखाइ बन्थ्यो होला। तर, यो प्रश्न त्यति बेला उठेको छ, जब बिहार राज्यसभा चुनावको मुखमा छ।
यही अक्टोबर २८ बाट बिहारमा राज्यसभा चुनाव सुरू हुँदैछ। सुशान्तको मृत्युलाई 'हत्या' साबित गर्नु र त्यसमा निष्पक्ष अनुसन्धान माग गर्नुमा भाजपाको राजनीतिक स्वार्थ देखिन्छ। बिहारमा अहिले भाजपा र नितिश कुमारको गठबन्धन सरकार छ।
बिहारबाट लोकसभामा ४० सदस्य निर्वाचित हुन्छन्। आगामी लोकसभाका लागि पृष्ठभूमि तयार पार्न पनि भाजपाका लागि यो मुद्दा महत्वपूर्ण बनेको छ।
भाजपाले सुशान्तलाई बिहारको 'धर्तीपुत्र' का रूपमा अगाडि सारेको छ। धर्तीपुत्रका हत्यारालाई सजाय दिलाउनु उसको चुनावी एजेन्डा हो। राज्यसभा चुनावको निम्ति तयार पारिएको पोस्टरले नै यो एजेन्डा छर्लंग पार्छ, जसमा भनिएको छ– 'हामीले बिर्सेका छैनौं, हामी तपाईंहरूलाई पनि बिर्सन दिँदैनौं।'
तर, यसपालि बलिउड यति ठूलो मुद्दा बन्नुमा तात्कालिक कारण मात्र जिम्मेवार छैन। यसमा एउटा राजनीतिक खेल पनि छ।
यो खेलको सस्पेन्स बुझ्न हामीले भारतको पछिल्लो राजनीतिक घटनाक्रम नियाल्नुपर्छ।
हामी सबैलाई थाहा छ, नरेन्द्र मोदी सरकार र उनको भारतीय जनता पार्टी उदारवादी विचारधारामा विश्वास राख्दैन। धार्मिक कट्टरता नै उनीहरूको राजनीतिक आधार हो।
बाबरी मस्जिद ध्वंसमाथि उभिएको भारतीय सत्तापक्ष 'मुसलमानविरोधी' छ भन्ने धारणा बलियो छ। यसलाई धार्मिक कट्टरताका पछिल्ला केही घटनाले पुष्टि गर्छन्।
जस्तै, हिन्दु धर्ममा वर्जित गाईको मासु खाएको भन्दै धेरै ठाउँमा मुसलमानहरू मरणासन्न कुटिएका छन्। स्कुलका पाठ्यपुस्तकदेखि सिनेमा र साहित्यका माध्यमबाट हिन्दु राजा–रजौटाहरूको बहादुरी बढाइचढाइँ प्रस्तुत गरिन्छ। मुस्लिम राजाहरूलाई क्रूर शासकका रूपमा देखाइन्छ। मुगल शासनकालमा बनेका मस्जिद, स्मारकहरू भत्काउने र उर्दू भाषा बहिष्कारको नारा चर्को सुनिन्छ।
यी राजनीतिक घटनाक्रम बलिउडसँग कसरी जोडिन्छन् त? अब हामी यसबारे चर्चा गरौं।
बलिउड भनेको हिन्दी फिल्म उत्पादन गर्ने र स्टारहरू जन्माउने कारखाना मात्र होइन, भारतको सामाजिक–राजनीतिक पृष्ठभूमिमा बलिउडका दुइटा विशेषता छन्।
पहिलो, बलिउड आफैंमा भारतको छुट्टै प्रान्तजस्तै हो।
यस्तो प्रान्त, जहाँ धर्म निरपेक्षताको बोलबाला छ। जहाँ धार्मिक आस्था, राजनीतिक झुकाव र भूगोलको सीमाले कुनै अर्थ राख्दैन। जहाँ नेपाली अभिनेत्रीदेखि पाकिस्तानी अभिनेतासम्मले बराबर हैसियत पाउँछन्। जहाँ उदारवादी सोच, दृष्टि र मूल्य–मान्यताले वर्षौंदेखि जरा हालेको छ।
दोस्रो विशेषता हो, बलिउड भारतका अनेक संस्कृतिभित्रको छुट्टै संस्कृति हो।
यस्तो संस्कृति, जसको प्रभाव भारतको सीमाबाट उठेर दक्षिण एसिया र विश्वभरि फैलिएको छ। जसको प्रभाव कालापानी र लिम्पियाधुरा विवादबीच पनि नेपालमा कम छैन। जसले सीमामा सिपाहीहरू लडिरहँदा पनि चिनियाँ राजधानी बेइजिङमा नेतादेखि जनतासम्मको स्नेह पाउँछ। जसले भारतका तमाम भाषाभाषी, गाउँ–सहर, जातपातलाई एकसूत्रमा उनेको छ।
बलिउडमाथि भाजपाको पछिल्लो चासोलाई हामीले यी दुइटा विशेषताको चश्माले हेर्यौं भने सही तस्बिर सामुन्ने आउँछ।
सबभन्दा पहिला दोस्रो विशेषताको कुरा गरौं।
बलिउड भारतको प्रभावशाली संस्कृति हो भन्नेमा कसैको दुई मत नहोला। यो संस्कृतिको प्रभाव यति फराकिलो छ, मान्छेहरू बिहे–ब्रतबन्धदेखि मृत्यु संस्कारमा समेत बलिउडको नक्कल गर्छन्। लवाइखवाइ, बोलचाल र सामाजिक उठबसमा बलिउडकै शैली पछ्याउँछन्।
हुँदाहुँदा राजनीतिक र सामाजिक क्षेत्रका गन्यमान्य व्यक्ति बलिउड कलाकारसँग हिमचिम बढाएर रवाफ देखाउन खोज्छन्। पारिवारिक जमघटमा बलिउड सेलेब्रिटीलाई नचाउँदा आफ्नो प्रतिष्ठा बढेको ठान्छन्।
चुनावी नारा र सामाजिक सन्देशहरूमा समेत 'मुन्नी' यस्तरी बदनाम हुन्छिन्, मानौं जनताको मनसम्म पुग्ने बाटो नै बलिउडी गीतका मुखडा हुन्।
मैदान यति फराकिलो भएपछि खेलाडीहरूमा गोल मार्ने चाहना किन नहोस्!
त्यसैले त, कुनै पनि सरकार वा राजनीतिक दलको निम्ति आफ्नो विचार जनतासमक्ष पुर्याउन बलिउड जत्तिको प्रभावकारी माध्यम सायदै अरू कुनै होला।
खासगरी सत्तापक्षलाई बलिउडको साथ र सहकार्य जरूरी हुन्छ– जनतामा चिनिन र जनतालाई आफ्नो काम चिनाउन।
तपाईंहरूले पछिल्लो समयका बलिउड फिल्म सर्सती हेर्नुभयो भने सरकारको गुणगान र भाजपाको हिन्दु राष्ट्रवाद हाबी हुँदै गएका देखिन्छन्। चाहे मोदी सरकारको शौचालय विस्तारलाई बढाइचढाइँ गरिएको 'ट्वाइलेट–एक प्रेमकथा' होस् या पाकिस्तानी भूमिभित्रै घुसेर सर्जिकल स्ट्राइक गरिएको 'उरी'।
मुगल शासकहरूलाई क्रूर र हिंस्रक चित्रण गरेर होस् या भारतका हिन्दु राजा–रजौटाको सौर्य र वीरताको गाथा सुनाएर — यी दुवैथरी फिल्मले कुनै न कुनै रूपमा हिन्दु राष्ट्रवाद बलियो बनाउने प्रयास गरेको छ, जुन सत्तापक्षको एजेन्डा हो।
यस हिसाबले बलिउड संस्कृतिलाई सत्ताको छत्रछायामा ल्याउने र यही माध्यमबाट हिन्दु राष्ट्रवादलाई देशभित्र र बाहिर विस्तार गर्ने अभियानमा सत्तापक्ष धेरै हदसम्म सफल देखिन्छ।
जहाँसम्म बलिउडको पहिलो विशेषता अर्थात् धार्मिक निरपेक्षताको सवाल छ, त्यसमा भने बलिउड सबभन्दा ठूलो प्रतिपक्ष हो, राहुल गान्धीको कंग्रेसभन्दा कयौं गुना ठूलो।
बलिउडमा जुन धार्मिक निरपेक्षता, उदारवादी सोच र दृष्टिले जरो गाडेको छ, अहिलेको सत्तापक्षलाई सबभन्दा बिझाउने त्यही हो। त्यसमाथि बलिउडमा तीन जना स्टार सबभन्दा लोकप्रिय छन्। संयोगले ती तीनै जना 'खान' अर्थात् मुसलमान हुन् — शाहरूख, आमिर र सलमान।
हिन्दु राष्ट्रवादलाई बढावा दिने भाजपाको निम्ति योभन्दा असह्य अर्को के होला?
बलिउड 'प्रान्त' मा हिन्दु र मुसलमानबीच यस्तो सौहार्द सम्बन्ध छ, जुन भारतका अन्य कुनै प्रान्तमा छैन। मुम्बईमा हिन्दु र मुस्लिमबीच दंगा हुँदा पनि बलिउडलाई छुँदैन। बरू उनीहरू दंगा साम्य पार्न अघि सरेका प्रशस्तै उदाहरण छन्।
मुसलमानहरूको ठूलो चाड इद आउँदा हिन्दु धर्म मान्ने अमिताभ बच्चन 'इद मुबारक' भन्दै शुभकामना दिन्छन्। दिपावली बेला मुस्लिम धर्मावलम्बी शाहरूख खानको घर झल्झलाकार हुन्छ। गणेश पूजामा मुसलमान कलाकारहरू पनि उत्तिकै उमंग साथ सरिक हुन्छन्, जति हिन्दु।
बलिउडको यही धार्मिक सौहार्द भाजपालाई काँडाझैं खट्किन्छ। आजको मितिमा भाजपालाई हिन्दु राष्ट्रवाद देशभरि फैलाउन कंग्रेस वा अन्य प्रतिपक्षीभन्दा ठूलो तगारो बलिउड नै हो। जबसम्म बलिउडमा उदारवादी सोच हाबी भइरहन्छ, तीन 'खान' जबसम्म देशका सुपरस्टार रहन्छन्, तबसम्म भाजपाको हिन्दु राष्ट्रवाद फैलाउने अभीष्ट पूरा हुन गाह्रो छ।
लागुपदार्थको घटनामा तानिएका दुई जना अभिनेत्रीलाई हेर्ने हो भने पनि सरकारको निशाना प्रस्ट हुन्छ।
सारा अलि खान मुसलमान हुन्। उनलाई यो मुद्दामा फसाएर बलिउडको मुसलमान समुदायमाथि त्रासको तरबार झुन्ड्याउनु सरकारको मनसाय हुन सक्छ।
दिपिका हिन्दु नै हुन्, तर उनले लामो समयदेखि अनुदारवादी सत्ताको आलोचना गर्दै आएकी छन्। केही समयअघि नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको आन्दोलनमा सरिक भएर उनले आफ्नो राजनीतिक झुकाव प्रस्ट पारेकी थिइन्। त्यो बेला दिपिकाको 'छपाक' भन्ने फिल्म रिलिज हुनै लागेको थियो। भाजपा समर्थकहरू उनी र उनको फिल्मविरुद्ध खुलेर लागे। दिपिका भने त्यस्ता अवरोधबाट टसमस भइनन्।
तिनै दिपिकालाई लागुपदार्थको मुद्दामा फसाएर भाजपा सरकार सायद बलिउडलाई प्रस्ट सन्देश दिन चाहन्छ- या त मेरो समर्थन गर, या परिणाम भोग्न तयार होऊ।
अर्कातिर, कंगना रनावतलाई हेर्ने हो भने उनले मिडियामा प्रशस्त बोल्ने समय पाइरहेकी छन्। उनलाई राज्यले व्यक्तिगत सुरक्षा दिएको छ। कंगना र अनुपम खेर भाजपाको समर्थन गर्दा आफ्नै बलिउडकर्मीको खेदो खन्न पछि पर्दैनन्। कंगना र फिल्म निर्देशक अनुराग कश्यपबीच केही समयअघि सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो। अनुपम र नसिरुद्धिन शाहले पनि विभिन्न अन्तर्वार्तामा एकअर्काविरुद्ध घोचपेच गरेको सुनिन्छ।
यसरी भारतको सत्ता बलिउडलाई दुई चिरामा बाँड्न सफल देखिन्छ। यति हुँदाहुँदै बलिउडको परम्परागत उदारवादी र धर्मनिरपेक्ष किल्ला ढलेको छैन।
बलिउडमा अहिले पनि उदारवादी सोच राख्ने र धार्मिक बहुलताका पक्षपातीहरू नै हाबी छन्। हिन्दु राष्ट्रवादीहरू विभिन्न बहानामा आफ्नो पकड कस्न खोज्दै छन्, ताकि बलिउडले घुँडा टेकोस्। आफूलाई समर्पण गरोस्। र, सत्ताको आदेशअनुसार हिन्दु राष्ट्रवाद फैलाउने सिनेमाहरू बनाओस्।
जसरी राजनीतिक प्रान्तमा प्रभुत्व जमाउन चुनाव जितेर सत्तामा पुग्नुपर्छ, त्यसरी नै बलिउडको सांस्कृतिक प्रान्तमा प्रभुत्व जमाउन बलिउडकर्मीमाथि अतिक्रमण गर्नुपर्छ। उनीहरूलाई गलाउनुपर्छ। भाजपाले यही बाटो रोजेको छ।
बलिउडमाथिको यो सत्ता–राजनीति नयाँ होइन।
यसअघि सन् १९७५ को 'इमरजेन्सी' मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पनि बलिउडको समर्थन जित्न निकै प्रयास गरेकी थिइन्।
इन्दिराले १९७५ देखि १९७७ सम्म सम्पूर्ण लोकतान्त्रिक अधिकार खोसेर भारतमा आफ्नो एकल शासन चलाइन्। उनी त्यसरी नै बलिउड कलाकारहरूलाई डाकेर सामूहिक फोटो खिचाउँथिन्, जसरी अहिले नरेन्द्र मोदी बलिउडकर्मीसँग बसेर सेल्फी लिन्छन्।
बलिउडले इमरजेन्सीको समर्थन नगरे पनि विरोध नगरोस् भन्ने इन्दिराको चाहना थियो। त्यही भएर इमरजेन्सीका विरोधी नेता जयप्रकाश नारायणलाई समर्थन गरेको भन्दै शत्रुघ्न सिन्हालाई तत्कालीन सरकारले खुब दुःख दियो। इमरजेन्सीको समर्थन गर्न इन्कार गरेपछि किशोर कुमारका गीतहरू अल इन्डिया रेडियोमा प्रसारण गर्न रोक लगाइयो।
त्यसैबीच सन् १९७५ मा गुलजारको 'आँधी' भन्ने फिल्म रिलिज भयो। सुचित्रा सेन र सञ्जीव कुमार अभिनीत उक्त फिल्म राजनीतिक महत्वाकांक्षाका लागि श्रीमान र छोरीसमेत त्याग्ने महिला पात्रमाथि केन्द्रित छ। यो पात्र इन्दिरा गान्धीको जीवनसँग मिल्दोजुल्दो ठानेर तत्कालीन सत्ताले फिल्म प्रदर्शनमा प्रतिबन्ध लगायो। सन् १९७७ पछि मात्र यो फिल्म हलमा चलेको थियो। करिब तीन वर्षपछि प्रदर्शन हुँदा पनि यसले बक्स अफिसमा धूम मच्चायो।
त्यही समय स्मिता पाटिल, उत्पल दत्त, राज किरण अभिनीत 'किस्सा कुर्सीका' भन्ने फिल्म पनि प्रतिबन्धित भएको थियो। इन्दिरा र उनका छोरा सञ्जय गान्धीमाथि राजनीतिक व्यंग्य गरिएको यो फिल्मलाई इमरजेन्सी अवधिभरि प्रदर्शन हुन दिइएन। यसका सबै रिल तत्कालीन सरकारले जफत गरेको थियो। पछि १९७९ मा बल्ल यो फिल्म रिलिज भयो।
बलिउड अहिले त्यस्तै थिचोमिचोको शिकार छ। धेरैले अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खानजस्ता सुपरस्टार किन मौन छन् भनेर प्रश्न गर्छन्। यसलाई कसरी बुझ्नुपर्छ भने, बलिउड भनेको कला मात्र होइन, त्योभन्दा बढी बिजनेस हो। कलाकार जति ठूलो हुन्छ, उसको पछाडि उति नै ठूलो रकम दाउमा हुन्छ। उति नै धेरै कलाकार र प्राविधिकहरूको रोजीरोटी जोडिएको हुन्छ।
कसैले सत्ताको विरोध गरेकै कारण फिल्म प्रतिबन्धित भयो भने सयौं करोड लगानी डुब्छ। त्यसैले ठूला कलाकारहरू सत्ताविरूद्ध बोलेर करोडौं लगानीसँग जोखिम मोल्ने अवस्थामा हुँदैनन्।
बलिउडका तीन 'खान' माथि त झन् अर्को चुनौती पनि छ – आफ्नो धार्मिक सन्तुलन कायम राख्ने।
उनीहरू तीनै जना मुस्लिम भएकाले सत्ताको निशानामा छन्। उनीहरूका प्रत्येक अभिव्यक्ति वा गतिविधिलाई सत्ताले धर्मको रंग दिनसक्छ। उनीहरूलाई हिन्दुविरोधी चित्रण गरिन सक्छ। हिन्दु राष्ट्रवादी नारा चर्काइएको अहिलेको संवेदनशील घडीमा यी तीन 'खान' ले यस्तो विवादबाट टाढा बस्नु नै ठिक ठानेका हुन सक्छन्।
त्यसो भए के बलिउडले यो संकट सामना गर्ने कुनै उपाय छैन?
यसको निम्ति हामी फेरि सन् १९७५ मै फर्कौं।
त्यति बेला इमरजेन्सीका नाममा भएको थिचोमिचोले बलिउड कतिसम्म आक्रान्त थियो भने, सिनेकर्मीहरूले तत्कालीन समय–परिस्थिति झल्काउने फिल्म बनाउनै पाएनन्। वा, बनाउनै सकेनन्।
कसैले बनाइहाले पनि 'आँधी' र 'किस्सा कुर्सीका' जस्तै प्रतिबन्धित हुने खतरा थियो। यसले फिल्ममा लगानी भएको ठूलो रकम डुब्न सक्थ्यो।
त्यही समय लेखकद्वय सलीम खान र जावेद अख्तरले यस्तो पात्र सिर्जना गरे, जुन तत्कालीन समय–परिस्थितिको उपज थियो।
त्यो पात्र राजनीतिक थिएन, तर विद्रोही थियो। उसमा इमरजेन्सीको आक्रोश प्रत्यक्ष देखिन्थेन, तर ऊ समाजलाई अन्याय, अत्याचारबाट मुक्त गराउन चाहन्थ्यो। शोषणबाट मुक्त गराउन चाहन्थ्यो। भ्रष्ट नेता र भ्रष्ट कर्मचारीतन्त्रबाट जनतालाई त्राण दिन अघि सर्थ्यो।
त्यो पात्र थियो, एंग्री यङ म्यान। र, त्यही चरित्रबाट आफ्नो अलग चिनारी बनाए, अमिताभ बच्चनले।
लेखक जावेद अख्तरले एक अन्तर्वार्तामा भनेका छन्, 'एंग्री यङ म्यान तत्कालीन राजनीतिक परिस्थितिको उपज थियो।'
उनको भनाइअनुसार, यो पात्रलाई इमरजेन्सीविरुद्ध बलिउडको सिर्जनात्मक विद्रोहका रूपमा लिन सकिन्छ।
बलिउडलाई फेरि त्यस्तै सिर्जनात्मक विद्रोहको खाँचो छ। यस्तो पात्रको खाँचो छ, जसले १९७५ को एंग्री यङ म्यानले जस्तै अहिलेको अधिनायकवादविरुद्ध सिर्जनात्मक ढंगले आवाज उठाउनेछ। हिन्दु राष्ट्रवादविरुद्ध धार्मिक बहुलवादको नारा लगाउनेछ। बलिउडको उदारवादलाई निस्तेज पार्ने प्रवृत्तिविरुद्ध धावा बोल्नेछ।
हो, बलिउडलाई फेरि नयाँ एंग्री यङ म्यानको खाँचो छ।
बलिउडलाई नयाँ अमिताभ बच्चनको खाँचो छ।
(न्यूयोर्क टाइम्स, स्क्रोल, मिन्ट लगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा आधारित)