असोज २१ गते साढे ४ बज्दैथियो।
बा९६प ७११४ नम्बरको रातो पल्सर मोटरसाइकल पसलअगाडि आएर रोकियो।
मोटरसाइकलमा दुई जना युवा थिए। उनीहरूको हुलिया हेर्दैमा डरलाग्दो थियो: वलिष्ठ शरीर, ठूल्ठूला पाखुरा।
नचिनेका ती व्यक्ति आएको देखेर कान्छी योञ्जन आश्चर्यमा परिन्- को रहेछन्?
चाँगुनारायण -९ भक्तपुरमा त्यो दिन अनौठा मान्छेको आगमनसँगै योञ्जन परिवारले दु:ख झेल्न धेरैबेर पर्खिनु नै परेन।
६१ वर्षीय चन्द्रबहादुर योञ्जन परिवारसाथ बस्थे। कान्छी उनकी पत्नी हुन्।
घरमा उनको सानो किराना पसल छ। जसमा चियासँगै मदिरा पनि बिक्री हुन्छ।
चन्द्रबहादुर रामेछाप सोनापति गाउँपालिका-३ का स्थायी बासिन्दा हुन्। चाँगुनारायण आएर घर जग्गा व्यवसाय गर्न थालेपछि यहीँ घर बनाएका थिए।
घरमा सानो पसल पनि थियो। उनी चाँगुनारायणका ग्रामीण भेगका कम मूल्यका जग्गा व्यवसाय गर्थे।
असोज २१ गते अचानक अपरिचित दुई युवा दिउँसो साढे ४ बजे उनको पसलमा पुगेका थिए।
दुई वटा बियर अर्डर गरे। चुरोट पनि मगाए।
‘देखिने गरी बियर राखेको थियो, छैन भन्न पनि मिलेन,’ कान्छीले भनिन्, ‘बियर पिउँदा-पिउँदै जग्गाको कुरा निकाले।’
चन्द्रबहादुर जग्गा व्यवसायी हुन् भन्ने उनीहरूलाई पहिल्यै थाहा भएको हुँदो हो! जसै कान्छीले यसतर्फ अनुमान लगाइन्।
बियरको चुस्की सुरू भएसँगै दुई युवाले चन्द्रबहादुरसँग जग्गाको कुरा थाले। आफूहरूलाई सस्तो मूल्यको तीन आना जग्गा चाहिने बताए।
डरलाग्दो भेषमा रहेका युवालाई जग्गा किन्न आएका ग्राहक ठाने चन्द्रबहादुरले। हुन पनि प्रयोजनकै कुरा गरेपछि चन्द्रबहादुर धेरै शंकित बनेनन्।
‘हुन्छ, साइटतिर जाऔं न,’ चन्द्रबहादुरलाई उद्धृत गर्दै कान्छी भन्छिन्।
साढे ५ बज्यो। घाम अस्ताउन लागिरहेको थियो।
चन्द्रबहादुर ती युवासँग मोटरसाइकलमा हिँडे। चन्द्रबहादुरले चाँगुनारायण-८ सुडालको धानखेतको फाँट देखाए- यहीँ छ तीन आना जग्गा।
तर, ती युवाले जग्गा देखाउने चन्द्रबहादुरलाई त्यहीँ निर्घात पिटे। बेहोस् भएपछि उनको साथमा रहेको डेढ तोलाको ब्रासलेट र मोबाइलसमेत लुटेर हिँडे।
एक घन्टा नबित्दै धानखेतमा चन्द्रबहादुर रक्ताम्य बेहोस् ढलेको भन्दै मानिसहरूले सुनाउन थालेपछि कान्छी दौडिएर पुगिन्। एक किलोमिटर टाढा रहेको खेतमा योञ्जन मुढोझैं ढलिरहेका थिए।
‘मोराहरू त जग्गा किन्न आएका नभएर मार्न पो आएका रहेछन्!,’ कान्छीले भनिन्, ‘मेरो त आधा सास भयो।’
चन्द्रबहादुर सास फेरिरहेका थिए। उनलाई तत्कालै थिमीस्थित अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि ग्रीनसिटी अस्पताल लगियो।
तर, चन्द्रबहादुरले भोलिपल्ट २२ गते बिहानै अन्तिम सास लिए।
यसरी छिनको छिनमै दुई युवा आएर चन्द्रबहादुरलाई हत्या नै गर्नुपर्ने कारण के थियो? परिवारले अहिलेसम्म सुइँको नपाएको बताएका छन्।
जग्गा व्यवसायमा सक्रिय रहने गरेकाले कोहीसँग केही थियो कि! तर, चन्द्रबहादुरले कोहीसँग लेनदेन भएको कुरा बताएका थिएनन्।
२२ गते जब चन्द्रबहादुरको मृत्यु भयो। घटना अनुसन्धानका लागि महानगरीय अपराध महाशाखामा खबर आयो।
खबर आएपछि महाशाखाले अनुसन्धान टोली परिचालन गर्यो। पाँच दिनपछि महाशाखाको टोलीले सोमबार साँझ तीन जना युवा पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये घटनामा प्रत्यक्ष संलग्न भएका ती दुई युवा थिए- सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका-२ घर भई बौद्ध-७ बस्ने २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिका-५ घर भई हाल बौद्ध-७ बस्ने २७ वर्षीय प्रेम तामाङ।
र, यो हत्याका मुख्य योजनाकार थिए- सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ लेखर्क घर भई हाल काठमाडौं थली बस्ने २७ वर्षीय कामी लामा।
अनुसन्धान अनुसार यी युवासँग बौद्धमा रहेको एउटा जिमखानामा लामाको नियमित भेट हुने गरेको थियो।
जिमखानामा भेट हुँदा साधारण चिनजान भएका लामाले हालैको एक दिन उनीहरूलाई काम लगाएका थिए- चन्द्रबहादुरलाई थर्काउनु।
कामीले यी दुई युवालाई त्यसदिन चन्द्रबहादुरलाई हप्कीदप्की गरेर फर्किन भनी अह्राएका थिए।
चन्द्रबहादुरलाई थर्काउनुको कारण रहेछ। महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा भन्छन्, ‘उनीहरूबीच जग्गा बैना भएको र चन्द्रबहादुरले बैनाअनुसार जग्गा नदिएपछि मनमुटाव सुरू भएको रहेछ।’
थापाका अनुसार कामी लामाले चन्द्रबहादुरलाई चार महिनाअघि १६ लाख रुपैयाँ बैना दिएका थिए। उनले त्यहीँको धानखेतको (जहाँ उनले अहिले देखाएका थिए) चार आना जग्गा देखाएका थिए।
‘उनीहरूबीच पटक-पटक जग्गाबारे विवाद हुने गरेको देखिन्छ, कामी लामाले भनेअनुसारको जग्गा नपाएपछि बैनाको पैसा फिर्ताका लागि ताकेता गरेको बुझिन्छ,’ थापा भन्छन्, ‘तर, चन्द्रबहादुरले पैसा फिर्ता दिन नसकिरहेको देखिन्छ।’
यसरी पैसा फिर्ता माग्दा पनि चन्द्रबहादुर तर्किन थालेपछि लामाले उनलाई हपार्ने उद्देश्यले यी दुई युवालाई खटाएको अनुसन्धानबाट खुलेको छ। यी दुई युवालाई लामाले असोज १८ गते चन्द्रबहादुरको घर देखाइदिएका थिए।
उनीहरूले सोही दिन योजना बनाउन नसकेर दुई दिनपछि त्यहाँ पुगेका थिए। ती युवालाई पैसा उठे कमिशन दिने लामाले आश्वासन दिएका थिए।
‘जग्गा हेर्ने बहाना बनाएर फिल्डमा लगी कुटपिट गरेको उनीहरूले बताएका छन्,’ थापाले भने।
तर, यी तिनै जनालाई चन्द्रबहादुरको मृत्यु भयो भन्ने थाहा रहेनछ। ‘मरेको थाहा भएको भए हामी भाग्थ्यौं,’ तिनै जनाको बयान उद्धृत गर्दै एसएसपी थाले भने।
उनीहरूको उद्देश्य चन्द्रबहादुरलाई डरत्रास देखाउने भए पनि युवाहरूले निर्घात पिटेको देखिन्छ। शारीरिक अभ्यास गरेका युवाको मुक्का र लात्ती प्रहारको चोटले नै चन्द्रबहादुरको प्राण गएको देखिन्छ।
‘घटनामा अन्य कुनै हातहतियार प्रयोग नभएको देखिएको छ,’ थापाले भने।
रमेश र प्रेमले चन्द्रबहादुरलाई पिटेनन् मात्र, पिटेपछि उनले लगाएको सिक्री र मोबाइल पनि लुटे। सिक्री ल्याएर बौद्धमा एक लाख ५५ हजार रुपैयाँमा बिक्री गरेको समेत देखिएको छ। सो सुन पसलबाट प्रहरीले गालिसकेको सिक्रीको एक तोला दुई लाल सुन बरामद गरेको छ।
दुवैले सुनबाट आएको पैसामध्ये ५ हजार होटलमा बसेर खर्च गरेको देखिएको छ। बाँकी पैसा ७५/७५ हजार बाँडेको देखिएको छ।
यो रकममध्ये प्रेमबाट ५० हजार र रमेशबाट ४६ सय मात्र फेला परेको छ। बाँकी पैसा उनीहरूले खर्च गरिसकेको देखिएको थापाले बताए।
यी युवाहरू अन्य अपराधमा पनि संलग्न रहेको शंका प्रहरीको छ। तिनै जनालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त जगातीमा पठाइएको छ।