सरकारले भारतको जयनगरदेखि जनकपुरधामसम्म रेल चलाउनका लागि तयारी थालेको छ। बन्द रहेको रेल सेवा लगभग ७ वर्षपछि सञ्चालन आउन लागेको हो।
ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा ल्याइए पनि कानून तथा जनशक्तिको अभावमा रेलका इन्जिन तथा बोगी धनुषाकै इनरवामा थन्काइएको छ।
सरकारले नयाँ रेलसेवा सञ्चालन गर्ने तयारी थालेका बेला यसअघि जनकपुरदेखि जयनगरसम्म चलेका नेपाल रेल्वेका पुराना डिजेल तथा कोइला इन्जिन भने संरक्षण अभावमै कवाड बन्दै गएका छन्।
ब्रोडगेज रेलमार्गको निर्माण थालिएसँगै राज्यले चासो नदिएकै कारण ती इन्जिन लथालिंग अवस्थामा छन्।
इन्जिन, बोगीसहितका अन्य महत्वपूर्ण पार्टपूर्जाहरूमा अहिले खिया लागेर नष्ट हुँदै गएको छ।
यी सम्पत्ति संरक्षणका लागि नेपाल सरकारले १६ जना कर्मचारी समेत खटाएको थियो। अहिलेको समयमा भने अधिकांश कर्मचारी अवकाश प्राप्त गरिसकेका छन्। रेल्वेको संरक्षणका लागि अहिले दैनिक २ कर्मचारी मात्रै खटिँदै आएका छन्।
धनुषाको खजुरी स्टेसनमा रहेका ती पुराना इन्जिनको रेखदेखका लागि सैलुन कवारी र उत्तिमलाल पण्डित खटिँदै आएका छन्। उनीहरुमध्ये एक जना दिनमा खट्छन् भने अर्का एक रातमा खट्ने गरेका छन्।
‘दुई जना मात्रै छौँ, दिनरात खट्नुपर्ने हुन्छ’ इन्जिनको रेखदेखमा खटिँदै आएका सैलुनले भने। सरकारले इन्जिनको संरक्षणका लागि थप कर्मचारी राख्नुपर्ने सैलुनको भनाइ छ।
‘हामीमध्ये कोही एक जना बिरामी पर्यौ वा कहीँ गयौँ भने संरक्षण गर्ने कोही हुन्न’ अर्का संरक्षक उत्तिमलाल भन्छन् ‘२४ घण्टा खट्नका लागि दुई कर्मचारीले सक्ने अवस्था छैन।’
जनकपुरधामबाट १५ किलोमिटरको दूरीमा पर्ने खजुरी रेल्वे स्टेसनस्थित थन्काइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन।
२०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगी सहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।
विश्वभर नै विस्थापित भइसकेको कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने आवाज पनि पटक पटक उठ्दै आइरहेको छ। यस विषयमा सरकार सकारात्मक रहे पनि ठोस कदम भने उठाउन सकेको छैन।
संरक्षण नभएकै कारण रेलको कतिपय पाटपूर्जा समेत चोरी भएको स्थानीय अवधेश कामत बताउँछन्। पुराना इन्जिनलाई संरक्षण गरेर संग्राहलय बनाउन सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र आर्थिक रुपले समेत फाइदा हुने उनको भनाइ छ।
पुराना रेलका पाटपूर्जा संरक्षणका लागि केन्द्रका साथसाथै स्थानीय सरकाले समेत पहलकदमी लिनुपर्ने स्थानीयको भनाइ छ। संग्राहलय निर्माणतर्फ कुनै निकायले ध्यान नदिएको स्थानीय धनिकलाल दास बताउँछन्।
नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनकै लागि भएपनि आफूहरु संग्राहलय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल शुरु गरेको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरीका वडाध्यक्ष हरिशचन्द्र साहले बताए।
उनका अनुसार खजुरीमा रहेको नेपाल रेल्वेको १० विघाभन्दा बढी जग्गालाई उपयोग गरेर संग्राहलय निर्माण गर्न सकिने छ।
इन्जिनको संरक्षणका लागि अन्यत्र लगिए कवाडीको मूल्यमा बिक्री हुने निश्चित रहेको नेपाल रेल्वेकै कर्मचारी हेमबहादुर कटुवाल बताउँछन्। रेल्वेका पुराना संरचना जोगाउन संग्राहलय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग समेत गर्दै आएको उनले बताए।
यसबारे रेल विभागका महाप्रबन्धक गुरु भट्टराईलाई सोध्दा संग्राहलय निर्माणको कार्य सम्भाव्यता अध्ययनपछि शुरु गरिने प्रतिक्रिया दिए।
उनका अनुसार रेल्वेका ऐतिहासिक तथा पुराना सम्पतिहरु संरक्षण गर्नुपर्नेमा रेल विभाग गम्भिर छ। छिट्टै नै धनुषाको खजुरीमा संग्राहलय निर्माण गर्ने प्रकृया अगाडि बढाइने उनले बताए।
महाप्रबन्धक भट्टराईले बताए अनुसार खजुरीमा संग्राहलय निर्माणको सम्भाव्यता अध्ययनका लागि १ लाख ५० हजार रुपैयाँ बजेट समेत छुुट्याइएको छ।
‘सम्भाव्यता अध्ययन सकिए लगत्तै संग्राहलय निर्माणको प्रकृया अगाडि बढाइने छ’ महाप्रवन्धक भट्टराईले भने ‘चालु आर्थिक वर्षमा संग्राहलय निर्माणको प्रकृया अगाडि नबढे आगामी आर्थिक वर्षसम्ममा निश्चित रुपमा निर्माण प्रक्रिया सुरु हुनेछ।’