जन्म मिति २०३९ साल साउन ७ गते। नाम सुनिल सुनार। नागरिकता नम्बर १९९४९। जारी मिति २०५० साउन ७ गते, जिल्ला रुपन्देही।
नेपाली नागरिकताको प्रमाण पत्र लिन पाउने उमेर कति हो? नेपालको नागरिकता कानुनले भन्छ- कम्तीमा बालिग हुनुपर्छ।
अर्थात्, उमेरको हिसाबले नागरिकता प्रमाण पत्र लिन कम्तीमा १६ वर्ष पुगेको हुनुपर्छ।
तर, माथिको मितिले सुनारले ११ वर्षमै नागरिकता प्राप्त भएको देखाउँछ।
‘खुंखार’ सुन तस्कर सुनिल सोनी उर्फ सुनिल सुनारले ११ वर्षमै नागरिकता प्रमाण-पत्र लिए कसरी?
आउने दिनमा गृह प्रशासनले अनुसन्धान पक्कै गर्ला। तर, राजश्व अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ- सुनिलले ११ वर्षमै नागरिकता प्रमाण पत्र लिएको देखियो।
यही नागरिकता उनले व्यावसायिक फर्म दर्ताका लागि बैंक तथा वित्तीय संस्थामा पेशे। यसैको आधारमा राजश्व प्रशासनले उनको कारोबारको ‘सूची’ अपडेट गरिरहेको थियो।
भलै, यो फर्जी नागरिकता हुनुपर्छ- किनकि ११ वर्षमै नागरिकता प्राप्ति सम्भव छैन। विभागको निष्कर्ष पनि यही हो।
तर, तिनै सुनारको नाममा दोस्रोपटक २०५८ साल पुस २८ गते जारी भएको अर्को नागरिकता पनि छ। नागरिकता नम्बर उही हो - १९९४९।
यो नागरिकताका आधारमा अर्को फर्म दर्ता भएको देखिन्छ- उही सुनिल सुनारको नाममा।
२०५८ सालमा जारी भएको नागरिकताअनुसार सोनीले रुपन्देही सिद्धार्थनगर-१२ मा सोनी ज्वेलर्स फर्म दर्ता गरेका छन्।
२०५० सालमा जारी भएको नागरिकताका आधारमा २०७३ सालमा उनले सोनी गोल्ड एन्ड सिल्भर प्रा.लि. दर्ता गरेका छन्, रुपन्देहीमै।
विभागको अनुसन्धान अनुसार सोनी भारतीय नागरिक हुन्। उनको उत्तरप्रदेश कुशीनगरमा भोटर्स कार्ड छ। त्यसको नम्बर ३३२६७५८ हो। यो सन् २०२० मा अद्यावधिक भएको भोटर्स कार्ड हो।
यी ‘खुंखार’ सुन तस्कर सुनिलले यहाँनेर राज्यलाई त झुक्याए नै, राजश्व प्रशासन र बैंक तथा वित्तीय संस्थालाई पनि गुन्द्रीमा सुताए।
स्वाभाविक प्रश्नचाहिँ, ११ वर्षमा लिएको नागरिकता बोकेर उनी फर्म दर्ता गर्न जाँदा कसैले चाल पाएनन्? त्यही ११ वर्षे नागरिकताका आधारमा राजश्व प्रशासनको दायरामा आउँदा पनि कसैले देखेनन्?
एउटा सुन तस्करले नेपालको गृह र राजश्व प्रशासनलाई यतिसम्म छल्न सक्नुमा सोनीको ‘खुबी’ हो भन्न त लाजै हुने भयो, नेपालको प्रशासनिक निकायको निकम्मा पनि।
‘उनको नाममा दुई वटा त नेपाली नागरिकता नै देखिए, एउटा त ११ वर्षकै उमेरमा जारी भएको देखियो, के यो सम्भव छ?,’ विभागका महानिर्देशक दीर्घराज मैनाली यही प्रश्नले अहिले सोचनीय बनेका छन्।
उनले दुबै नागरिकताको आधिकारिकता खोज्न गृह मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिरहेका छन्।
‘मैले यी दुई नागरिकताबारे गृह मन्त्रालयलाई चिठी लेखिरहेको छु,’ मैनालीले भने, ‘राज्य-प्रशासनले सानो कुरामा ध्यान नदिँदा सोनीले खुलेआम सुन तस्करी गर्न छुट पाएका रहेछन् भन्ने पनि देखियो।’
यी दुबै नागरिकता फेरि वंशजको आधारमा बनाइएका छन्। वंशजको नागरिकता लिन नेपालमा कम्तीमा तीन पुस्ताको बसोबास चाहिन्छ।
हालसम्मको अनुसन्धानमा २०५० सालमा जारी भएको नागरिकता नम्बर भने एउटी महिलाका नाममा देखिएको छ। ती महिलाको नाम हटाएर सोनीले आफ्नो नाममा किर्ते नागरिकता बनाएको देखिएको छ।
तर, त्यही नागरिकता नम्बरमा २०५८ सालमा अर्को नागरिकता उनकै नाममा कसरी जारी भयो, यो पनि अनुसन्धानको अर्को पाटोमा आएको छ। त्यसको पर्दा खुल्न बाँकी नै छ।
‘२०५० सालको नागरिकता नम्बर र २०५८ मा जारी भएको नम्बर एउटै छ, कि उनले दुबै किर्ते गरेको हुनुपर्यो कि अरू कुनै प्रभावले,’ मैनालीले भने, ‘हामी सम्बन्धित जिल्ला प्रशासनलाई सोधिरहेका छौं।’
सोनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटबल उपमहानगरपालिका वडा नम्बर ११ बाट ७५ लाख रुपैयाँ नगदसहित गत असार ३० गते पक्राउ गरेको थियो।
पक्राउपछि अनुसन्धान गर्दा विभागले उनको नाममा अर्बौं बिगो माग्ने अवस्था देख्यो। उनले गरेको सुनको कारोबारमा वैधभन्दा अवैध कारोबार बढी देखियो।
त्यसैले, सोही अनुसन्धानलाई आधार बनाएर सोमबार सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
विभागले अनुसन्धान नगरेको भए सोनीले नागरिकता किर्ते गरेर व्यापारिक फर्म दर्ता गरेर कारोबार गरेको यथार्थ खुल्ने थिएन।
‘हामीले छोटो अवधिमा अनुसन्धान गरी मुद्दा दायर गर्यौं, हाम्रो अनुसन्धानको समय र मान्यता छन्, त्यसलाई उचित ढंगबाट पूरा गर्यौं,’ मैनालीले भने, ‘एउटा मुद्दा त अदालतमा गयो, सोनीको आर्थिक अपराधबारे अझै अनुसन्धान गरेर पुरक निवेदन दर्ता गर्ने बाटो पनि खुला छ।’
मैनालीका अनुसार सुनार थर बनाएर सोनीले नेपालमा व्यापारिक फर्म दर्ता गरेर अहिलेसम्म ३२० किलो सुन तस्करी गरेको देखिन्छ। तर, आफ्नो फर्मको कारोबार भने अत्यन्तै न्यून देखाएका छन्।
सुनारको नाममा सोनी ज्वेलर्स २०६७ सालमा दर्ता भएको देखिन्छ।
सो फर्मले आर्थिक वर्ष २०७०/७१ मा ३५ लाख, २०७१/७२ मा ३९ लाख, २०७२/७३ मा ७८ लाख, २०७३/७४ मा १ करोड ६७ लाख, २०७४/७५ मा ९० लाख आम्दानी देखाएको छ। २०७५/७६ को कारोबारको विवरण बुझाएको छैन।
‘प्राप्त भएको यो आम्दानीको विवरण अत्यन्तै कम हो,’ मैनालीले भने।
यस्तै, सोनी गोल्ड एन्ड सिल्भर प्रा.लि.बाट सोनीले आर्थिक वर्ष २०७३/७४ बाट आम्दानी विवरण बुझाएका छन्। जसमा सो वर्ष ८३ लाख, २०७४/७५ मा ६ करोड ३१ लाख, २०७५/७६ सालमा १० करोड ८१ लाख आम्दानी विवरण बुझाएका छन्।
२०७६/७७ सालको विवरण सोनीले बुझाएका छैनन्।
मैनालीका अनुसार सोनी उर्फ सुनारको नाममा नेपालमा करोडौं कारोबार भएको देखिन्छ। उनले घर-जग्गा, गाडीमा लगानी गरेका छन्। अनुसन्धान गर्दा ३२० किलो सुनको वैध कारोबार भएको देखिँदैन।
‘उनले नेपालमा जोडेको सम्पत्ति छानबिनमा आएको छ, तर यस्ता अवैध कारोबारीले विदेशमा सम्पत्ति राखेका हुन्छन्, जसमा हाम्रो अनुसन्धानको पहुँच पुग्दैन,’ मैनालीले भने।
असार ३० गते सोनीसँगै प्रहरीले सिद्धार्थनगर-६ का अमित परियारलाई पनि पक्राउ गरेको थियो। परियारले सोनीलाई सहयोग गर्दै आएकाले मतियारको रुपमा मुद्दा दायर गरिएको छ। उनीहरू दुबै अहिले प्रहरी हिरासतमा छन्।
मैनाली भन्छन्, ‘सोनी अनुसन्धानले अत्यन्तै गम्भीर अपराध उजागर भएको छ। हाम्रो राजश्व प्रशासनले पनि थाहा नपाएको देख्दा झन् अचम्म लाग्दो घटना भएको छ। राजश्व प्रशासनमा कमी-कमजोरी भए होलान् तर अपराधीले उन्मुक्ति पाउने छैन।’
मैनालीले सोनीबाट भएको सुन तस्करीबारे मुद्दा चलाउनुपूर्व नेपालमा भने ठूला सुनकाण्डका घटना उजागर भएका थिए। ठूला सुनकाण्डका घटनामा गृह प्रशासनले अनुसन्धान गरे पनि साढे ३३ किलो सुन तस्करीको पर्दा अहिलेसम्म उघ्रिएको भने छैन।