पोखराबाट गाडी चढेर एक घण्टामा पुग्न सकिन्छ, लुदी झरना। माछापुच्छ्रे गाउँपालिकाको ल्याङघलेलमा पर्ने उक्त झरनामा मंगलबार क्यानोनिङ गर्न पुगेका पोखराका साजन सुवेदीले जीवनमा अहिलेसम्म गरेका भन्दा नि:तान्त फरक अनुभूति गर्न पाएको बताए।
त्यसो त साजनले यसअघि नै प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्ल्यायर लगायत साहसिक खेल खेलिसकेका छन्। ‘क्यानोनिङको आनन्द छुट्टै हुँदो रहेछ,’ उनले भने, ‘झरनामा डोरीको सहायताले पानीसँगसँगै झर्नुको मजा नै बेग्लै।’
क्यानोनिङको खास सिजन चैत, वैशाखमा हो। त्यसपछि भदौ, असोज, कात्तिकसम्म क्यानोनिङ गर्नेहरूको भिड हुन्थ्यो। गर्मीमा झरनाको चिसो पानीमा खेल्न गर्मी मौसम नै उपयुक्त हुन पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङ बताउँछन्। तर, क्यानोनिङको सिजनमा लकडाउन भयो, लकडाउनपछि गत शनिबारदेखि मात्र पोखरा क्यानोनिङ सञ्चालनमा आयो।
शनिबार सञ्चालनमा आएकै दिन १८ जनाले क्यानोनिङ गरेका थिए। मंगलबार साजनसहित ११ जनाले क्यानोनिङ गरेको सञ्चालक गुरुङले बताए। पोखरा क्यानोनिङजस्तै यहाँका पर्यटकीय क्षेत्र लामो लकडाउनपछि अहिले खुलेका छन्। पर्यटन क्षेत्र खुले पनि पर्यटक भने छैनन्।
फेवातालमा विगत १५ वर्षदेखि डुंगा चलाउँदै आएकी तारा विकले पहिलोपटक छ महिनासम्म डुङ्गाको बहना समाउन पाइनन्।
ताराका दम्पत्ति नै डुङ्गा चालक भएकाले उनीहरूको परिवारका वैकल्पिक आम्दानीको बाटो पनि थिएन। लकडाउन खुलेपछि फेवातालका डुंगा व्यवसायीले तालमा डुंगा सयर गराउने निर्णय गरे, ताराले डुंगाको बहना समाउन पाइन्।
‘यसअघि फेवातालको डुंगा यति लामो बन्द भएको तारालाई थाहै थिएन।
‘नेपाल बन्द होस् कि १९ दिने कर्फ्यू, डुंगा कहिल्यै बन्द भएको थिएन,’ उनले भनिन्, ‘यसपालि त अचम्मै भयो।’ अचेल दिनहुँ फेवातालको बाराहीघाटमा बसेर डुङ्गा चढ्न चाहने पर्यटकको खोजीमा हुन्छिन् तारा। फेवा डुङ्गा व्यवसायी समितिले असोज २ गतेदेखि डुंगा चलाउने निर्णय गरेको थिए।
समितिका सचिव रुद्र भुजेलका अनुसार दिनमा ८ वटादेखि १५ वटा डुंगा अहिले चलेका छन्। गत शनिबार भने आशालाग्दो गरी डुंगा चल्यो। शनिबार बाराहीघाटबाट मात्र ६० वटा डुंगा र चार वटा पाइडल बोट चले। मंगलबार मात्र ११ वटा डुङ्गा चलेको भुजेलले बताए। फेवातालको बाराहीघाटमा मात्र ७ सय वटा डुंगा छन्। पर्यटक नहुँदा धेरै डुंगा तालमै थन्किएका छन्।
पोखरा घुम्न आउने जो कोहीले फेवाताल लगायतका तालहरूमा डुंगा सयर गर्न चाहन्छन्। अलि साहसी पर्यटक प्याराग्लाइडिङ गर्छन्, त कोही क्यानोनिङ पनि। अन्नपूर्ण क्षेत्रको पदयात्राको द्वार भएकाले पनि पोखराको पर्यटनलाई पदयात्राले भर दिएको थियो।
पदयात्राको सिजन भए पनि विदेशी पर्यटक नेपाल आउन सक्ने अवस्था छैन भने नेपाली पनि खुलेर घुम्न सक्ने अवस्था छैन।
नेपालमै थुनिएका केही विदेशी र केही नेपाली भने पदयात्रामा जान थालेका छन्। पर्यटक खुलेर घुम्न सक्ने अवस्था नभएकै कारण पोखराको लेकसाइडलगाायत पर्यटकीय क्षेत्र सुनसान नै छन्।
लकडाउन खुलेपछि केही व्यवसायीले होटल र रेष्टुरेण्ट सञ्चालन गरेका छन्। तर, होटल र रेष्टुरेण्टमा बस्ने पर्यटक नै नभएको व्यवसायीले बताएका छन्। पोखरामा अहिले ७ सय वटा पर्यटकस्तरका होटल छन्। जहाँ ३० हजार बेड छन्। यी होटलमध्ये करिब आधा मात्र अहिले खुलेको होटल एसोसिएसन अफ नेपाल हानका पश्चिमाञ्चल अध्यक्ष विकल तुलाचनले बताए।
‘सरकारले होटल रेष्टुरेण्ट खुलाए पनि पर्यटक आएका छैनन्,’ तुलाचनले भने, ‘संक्रमण बढेको बेला आउने कुरा पनि भएन, खुलेका पनि खाली नै छन्।’ यद्यपि, पोखराका होटलहरूले पर्यटकका लागि भने विभिन्न प्याकेज अफर गरिराखेको छ।
पोखरामा आन्तरिक पर्यटक भित्र्याउन व्यवसायीले छुट्टाछुट्टै प्याकेजहरू ल्याइरहेको तुलाचनले बताए।
फाट्टफुट्ट आउने पर्यटकका लागि सरकारले तोकेको सुरक्षा सावधानी अपनाएको उनले बताए। पर्यटक आएर बसेपछि उक्त कोठालाई पूर्णरुपमा निर्मलीकरण गर्ने र कम्तीमा ७२ घण्टा अर्को पर्यटकलाई नदिने, मास्क र स्यानिटाइजर अनिवार्य गरेको उनले बताए।
लकडाउन खुलेपछि पोखरामा प्याराग्लाइडिङ पनि उड्न थालेका छन्। प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढाउन ५० प्रतिशतसम्म छुट दिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। लकडाउनअघि पोखरामा प्याराग्लाइडिङ गर्न एक जनाको ७ हजार ५ सय रुपैयाँ लाग्थ्यो। अहिले पनि आधा रकममै प्याराग्लाइडिङ गराएको अध्यक्ष भण्डारीले बताए।
पर्यटकीय सिजन भएका कारण गत वर्ष यही सिजन दिनमा कम्तीमा ५ सय जनासम्म प्याराग्लाडिङ गर्न आउँथे। हावामा कावा खाँदै पोखराको सराङकोटबाट प्याराग्लाइडिङमार्फत फेवातालको सिरानमा झर्न विदेशी मात्र होइन, नेपाली पर्यटक पनि उत्तिकै लाइन लाग्थे।
अहिले भने दिनमा बढीमा एक सय जनाले प्याराग्लाइडिङ गर्ने गरेका छन्। त्यही पनि धेरैजसो पोखरामै बसोबास गर्नेहरू छन्।
केही पर्यटक काठमाडौं, भैरहवा, बाग्लुङबाट काम विशेषले आउँदा प्याराग्लाइडिङ गरेर फर्केको भण्डारीले बताए। पोखरामा प्याराग्लाइडिङ गराउने ६० वटा कम्पनी छन्। सोही कम्पनीमार्फत व्यावसायिक रुपमा प्याराग्लाइडिङ गराउने पाइलट ३ सय ५० जना रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारीले बताए।