२०७५ साउन १० गते साँझ। कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्त हराइन्।
हराएकी बालिका पन्तको भोलिपल्ट सोही वडाको उखुबारीमा शव भेटियो। उनको बलात्कारपछि हत्या भएको थियो।
११ गते लाश फेला परेसँगै कञ्चनपुर प्रहरीले अनुसन्धान थाल्यो। तर, त्यहाँ आन्दोलनको सुरू भयो। प्रहरीलाई लाश उठाउन दिइएन।
भोलिपल्ट १२ बजे पोस्टमार्टम सुरू हुनुपर्नेमा साँझ ६ बजे मात्र सम्भव भयो।
बालिका बलात्कार-हत्याले कञ्चनपुर तात्तिएको खबर देशैभरि फैलिइरहेको थियो। त्यसमा सरकार र नेपाल प्रहरीको चासो बेग्लै किसिमको थियो।
नेपाल प्रहरीले केन्द्रबाट अनुसन्धान टोली पठाउने आवश्यकता देख्यो। साधारणतया, केन्द्रबाट अनुसन्धान टोली केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृत पठाइने गरेको छ।
तत्कालीन ब्युरो प्रमुख नारायणसिंह खड्काले प्रहरी नायब उपरीक्षक अंगुर जिसी रोजे। जिसी यस्ता अधिकृत थिए- जसले निर्माण व्यवसायी शरदकुमार गौचन हत्या भर्खर टुंग्याएका थिए।
उनी ब्युरोको जघन्य अपराध पिलरका प्रमुख पनि थिए।
उनको क्षमता हेरेर जिसीलाई कञ्चनपुर खटाइयो। जिसी १३ गते बेलुका हिँडे, इन्सपेक्टर गणेश सापकोटा र प्राविधिक टिमका सई धर्मेन्द्र राईसाथ।
यसबेला पोस्टमार्टम भए पनि निर्मलाको लाश जलेको थिएन।
जिसीले परिणाममुखी अनुसन्धान सुरू गर्ने तत्तातो बचन दिएपछि परिस्थिति अलि साम्य भयो। जिसीले अनुसन्धान टोलीलाई विस्तार गरे।
जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिच प्रदेशबाट समेत गरेर १५ जनाको अनुसन्धान टिम बनाए।
अनुसन्धानबारे सिआइबी प्रमुख र आइजीलाई रिपोर्ट गरिरहनुपर्थ्यो।
यो टोलीले अनुसन्धान गर्दै जाँदा भदौ ३ गते भीमदत्त नगरपालिका-१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गर्यो।
‘घटनास्थल, परिस्थिति तथा बयान लिँदा दिलीपसिंहले बलात्कार-हत्या अडिओ-भिडिओ दुवै माध्यमले बके,’ जिसी भन्छन्।
तर, कञ्चनपुरको एक पत्रिकाले दिलीपबारे अनेकथरी कुरा छाप्यो कि उनी महिलालाई आँखा जुधाएर पनि हेर्न सक्दैनन्, उनमा यौनशक्ति नै छैन।
यसै समाचारलाई लिएर घटनामा ‘ट्वीस्ट’ आयो। मानिसहरूले दिलीप हत्यारा हुन् भन्ने विश्वास नै गरेनन्।
हिरासतमा लिइएका विष्ट दोषी हैनन्, प्रहरीले भिआइपी अपराधी जोगाउन एउटा साधारण दिलीप पक्रियो भनी माहौल परिवर्तन भयो।
जिसीले यसको अन्तिम कडी डिएनए परीक्षणलाई लिए। निर्मलाको यौनांगबाट झिकिएको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइयो।
यसबेला नेपाल प्रहरी नेतृत्वले निर्मलाको हत्यारा लगभग पत्ता लगाइसकेको भनिरहेको थियो।
तर, प्रहरीकै विधिविज्ञान प्रयोगशालाबाट आएको रिपोर्टसँग दिलीपको डिएनए मिलेन।
जिसी झसंग भए यतिबेला। उनले यो रिपोर्टसँग असहमति जनाए। रिपोर्ट पुन: परीक्षणको आवाज उठाए।
तर, उनलाई प्रहरी विधि-विज्ञान प्रयोगशालाले दिएकै रिपोर्टमा खोट लगाएको भन्दै प्रहरी नेतृत्व आक्रोशित बन्न थाल्यो।
‘मैले कतिपटक अनुनय विनय गरेँ, यो रिपोर्ट पुन: एकपटक परीक्षण गरौं, कहिलेकाहीँ रिपोर्ट गलत पनि आउन सक्छ भनेर,’ जिसी भन्छन्, ‘आज पनि म त्यही भन्छु, निर्मलाको बलात्कार हत्या दिलीपबाटै भएको हो।’
दिलीपलाई सरकारी वकिल कार्यालयले मुद्दा नचलाइकन छोडिदियो।
यसपछि जिसीमाथि तीव्र दबाब पर्न थाल्यो। गृह मन्त्रालयले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्नेत नेतृत्वमा अनुसन्धान टोलीमाथि नै छानविन गर्न समिति गठन गर्यो।
बस्नेत टोलीले अनुसन्धानमा गम्भीर लापरबाही गरेको भनी कञ्चनपुरका तत्कालीन एसपीसहित सिआइबीबाट गएका जिसीसमेतलाई कारबाहीको सिफारिस गर्यो। यो सिफारिसपछि विष्टलाई बर्खास्त गरियो, जिसीलाई निलम्बन।
त्यतिमात्र हैन, यातना दिएर विष्टलाई बयान दिन बाध्य बनाएको र प्रमाण नष्ट गरेको कसुरमा विष्ट र जिसीसहित आठ प्रहरीलाई मुद्दा अघि बढाइयो।
‘कतिपय अनुसन्धानका कुरा बाहिर ल्याउन कानुनले दिँदैन, त्यसबेला मैले दिलीपको बयानको भिडिओ बाहिर ल्याउन चाहिनँ,’ जिसीले भन्छन्, ‘त्यो बयानसम्म बाहिर ल्याएको भए मलाई खासै ठूलो असर पर्दैनथ्यो कि।’
२२ दिन लामो अनुसन्धान गरेर अन्तिम सत्य मानेको डिएनएबाट पनि धोका खाएपछि आफूविरूद्ध परिस्थिति सिर्जना भएको उनी बताउँछन्।
‘रेप एन्ड मर्डर केशमा पहिलो डिएनए नेपालमा भएको थियो, त्यो मैले पहिलो प्रयोग गरेको थिएँ,’ उनले भने, ‘मेरो अनुसन्धानतिर जनविश्वास पनि भएन। प्रहरी संगठनले पनि विश्वास गरेन।’
आफूमाथि नै मुद्दा दायर भएपछि भने प्रहरी संगठनको सदस्य नभएर आफू प्रतिवादी अन्य अपराधीजस्तो भएको जिसीले गुनासो गरे।
‘स्याम्पल कलेक्सन कसरी भएको थियो, त्यो बेला त म थिइनँ, पुन: परीक्षण गरेको भए के बिग्रिन्थ्यो र,’ उनी भन्छन्, ‘मैले बोलेको अर्थ भएन, अरूको बोली नै प्रमाण मानियो, यही नै दुर्भाग्य भयो।’
पछि जिसीले डिएनए परीक्षणबारे मानवअधिकार आयोगसँग अनुसन्धानका लागि निवेदन दिए। आयोगले टिम गठन गर्यो।
डिएनए रिपोर्ट विश्वसनीय नभएको रिपोर्ट दियो।
‘मैले जे क्लेम गरेको थिएँ, आयोगले त्यसरी नै डिएनए रिपोर्ट विश्वसनीय छैन भन्यो तर मैले विश्वास आर्जन गर्न सकिनँ,’ जिसीले भने।
यसबेलासम्ममा तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनाल निर्मला अनुसन्धान किनारा नलाग्दै संगठनबाट बिदा हुन लागेका थिए।
सुदूरपश्चिम प्रदेश प्रहरीमा तत्कालीन डिआइजी तारिणीप्रसाद लम्साल पुगेका थिए। उनले पनि निर्मला बलात्कार-हत्याबारे भएको अनुसन्धानबारे टिप्पणी उठाएर फाइल दिए।
तर, उनको फाइलमा पनि प्रहरी हेडक्वार्टरले कुनै चासो लिएन।
फेरि डिआइजी सुरज केसीको नेतृतवमा अर्को छानविन समिति गठन भयो। त्यसले धीरु बस्नेत प्रतिवेदनलाई दोषी देखायो।प्रतिवेदन कार्यान्वयन नगर्नू भन्यो।
प्रतिवेदन कार्यान्वयन नगर्नू भनेको बेला जिसीहरू मुद्दा खेपिरहेका थिए।
समयक्रम चल्दै जाँदा गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले जिसीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दियो।
उनीहरूलाई मुद्दा चलाउने निर्णय गलत भएको भन्दै यसमा तत्कालीन प्रहरी प्रमुखले यी अधिकृतसँग माफी माग्नुपर्ने फैसला अदालतको छ।
यसरी २५ महिनापछि अन्तत: जिसीलाई अदालतले सफाइ दिएपछि अहिले प्रहरी संगठनमा फर्केर पुन: काम गर्ने बाटो खुलेको छ। सोही फैसलालाई आधार मानेर गृह मन्त्रालयले बिहीबार जिसीको निलम्बन फुकुवा गरेको छ।
जिसी आत्मविश्वाससाथ भन्छन्, ‘यो मेरो च्यालेन्ज हो, निर्मलाको बलात्कार र हत्या दिलीपले नै गरेको हो, समय क्रममा मैले गरेको अनुसन्धान ठिक थियो भन्ने पुष्टि भएको छ, अब प्रहरी संगठनले यसलाई कसरी कारबाही गर्छ हेरौं।’
दिलीपलाई अनेक कोणबाट अध्ययन गर्दा बलात्कार र हत्या उनीबाटै भएको देखिएको जिसी बताउँछन्। र, उनको विगतको पृष्ठभूमिबाट पनि बलात्कार र हत्या गर्न नसक्ने व्यक्तिको रुपमा नपाएको जिसीको भनाइ छ।
उनका अनुसार निर्मला हत्यामा अरू कुनै कारण छैनन्। भयंकर योजना पनि बनेको हैन। कोही अन्य भिआइपी पनि संलग्न छैनन्। दिलीपले चंगुलमा पारी लगेर बलात्कारपछि हत्या गरेका हुन्।
यो प्रकरणमा जति खर्च र आलोचना नेपाल प्रहरीले आजसम्म नभोगेको जिसीले बताए।
‘भीडको लहैलहैमा लागेर प्रकरणलाई अन्तै मोडियो, हामी असफल हैन। प्रहरी असफल हैन। भीडले अतिरञ्जित गरायो। र, भीडकै पछि प्रहरी संगठन दौडिँदा निर्मला प्रकरण अनुसन्धानको गर्भमै रहन पुग्यो,’ जिसीले भने, ‘यसमा क्लियर कट दिलीप नै हत्यारा हो।’
जिसी २०६१ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थिए। उनी लागुऔषध र अपराध अनुसन्धान ब्युरोमा लामो समय काम गरेका अधिकृत हुन्।
उनी अब केही दिनमा हाजिर हुँदैछन्। उनी ठान्दैछन्, प्रहरीको अनुसन्धान अधिकृतको जागिर जतिबेला पनि धरापमा छ।
‘जति नै सावधान भएर काम गर्छु, जोगिन्छु होला भन्ने नि लाग्दैन। मैले भिडले दोषी देखेको बम दिदी-बहिनीलाई थुनेको भए पनि यस्तो परिस्थिति खेप्ने थिइनँ होला, तर भीडले जे भने पनि निर्दोषलाई थुन्न मेरो नैतिकताले दिएन,’ उनले भने।
भीडको नियन्त्रणमा अपराध अनुसन्धान बह्यो भने प्रहरीले यसरी दु:ख पाउने आफूले धेरै ठाउँ देखेको जिसीले बताए।
‘यति लामो निलम्बनमा रहँदा एक दिन पनि बिचलित पनि भइनँ। मैले मानसिक तनाव पाएँ। परिवारले दु:ख पाए। मेरो ठाउँमा अरू कोही थियो भने डिप्रेसन भएर आत्महत्या गरिसक्थ्यो होला,’ जिसी भन्छन्, ‘आफूलाई कमजोर बनाइनँ। म गलत छैन भन्ने लाग्छ। आफूले गरेको ठिक काममा कसैसँग शिर निहुराउन जरुरी थिएन।’
यो पनि हेर्नुहोस्
निर्मला प्रकरण: डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा