काठमाडौं उपत्यकाको कोरोना संक्रमण दर दैनिक सरदर दुई हजार हाराहारी छ। शुक्रबार मात्र उपत्यकामा २,४०२ जना नयाँ संक्रमित थपिएका छन्।
संक्रमण दर बढेपछि अस्पतालहरूका बेड भरिएका छन्। कतिपयले बिरामी भर्ना लिनै मानिरहेका छैनन्। कतिले अब कोरोना बिरामी भर्ना गर्ने ठाउँ छैन भनिरहेका छन्।
देशको सबभन्दा पुरानो सरकारी अस्पताल वीरमा कोरोनाका लागि जम्मा १० बेड आइसियु/भेन्टिलेटर छ। यी सबै भरिएको वीरका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्। साधारण बिरामीका लागि भने बेड खाली छन्।
कोरोना संक्रमणको मुख्य असर स्वासप्रश्वास प्रणालीमा हो। यस कारण संक्रमितलाई जतिबेला पनि अक्सिजन चाहिन सक्छ। त्यसैले, घरमा एउटा अक्सिजन सिलिन्डर राखिरहनुपर्ने हुनसक्छ। घरमा राखिएको सिलिन्डरले श्वासप्रश्वासको आपतकालीन परिस्थिति टार्न सक्छ।
संक्रमण भएपछि काम लाग्छ भनेर अक्सिजन सिलिन्डर स्टक राख्नुपर्दैन। राजधानीमा अक्सिजनको अभाव छैन। यहाँ एक दर्जनजति अक्सिजन ग्यास उत्पादक कम्पनी छन्। उनीहरूसँग अक्सिजन सिलिन्डर अभाव छैन।
बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक लगायत ठाउँमा ग्यास कम्पनी छन्। ती कम्पनीले राजधानीमा नियमित अक्सिजन सिलिन्डर बजारमा पठाइरहेका छन्।
बजारमा दुई खालका अक्सिजन सिलिन्डर पाइन्छन्- एउटा ठूलो र अर्को सानो।
सानो आकारको अक्सिजन १० लिटर र ठूलो ४७ लिटर क्षमताको हुन्छ। सानोले करिब ८ घन्टासम्म अक्सिजन दिन्छ। ठूलो सिलिन्डरले २४ घन्टासम्म दिन्छ।
यी दुवै खाले सिलिन्डरको अलग-अलग मूल्य छ।
शंकर ग्यास उद्योगका अनुसार सानो सिलिन्डरको मूल्य ९ हजार २ सय ५० रूपैयाँ हो। ठूलो सिलिन्डरको १८ हजार ६ सय पर्छ।
हुन त ग्यास आफैंमा त्यति महँगो होइन, तर सिलिन्डरको समेत धरौटी राख्नुपर्ने हुँदा बढी तिर्नुपर्ने हुन्छ।
उदाहरणका लागि, १० लिटर ग्यासको मूल्य जम्मा २५० रुपैयाँ हो भने ४७ लिटरको ६०० रुपैयाँ। यसबाहेक थप रकम धरौटी हो। सिलिन्डर फिर्ता गर्दा धरौटी पनि सँगसँगै फिर्ता हुने शंकर ग्यासका प्रबन्धक शंकर भण्डारीले जानकारी दिए।
उनको कम्पनीमा सानो र ठूलो दुवै सिलिन्डरको अभाव छैन। उत्पादन भने घटेको उनी बताउँछन्।
शंकर उद्योगले दैनिक करिब १५ सय सिलिन्डरसम्म ग्यास उत्पादन गर्न सक्ने क्षमता राख्छ। अहिले अस्पतालहरूमा अप्रेसनहरू बन्द छन्, कोभिड विशेष अस्पतालमा मात्र ग्यास सिलिन्डर गइरहेका छन्।
‘हाम्रो उद्योग चार सिफ्टमा चल्थ्यो, अहिले दुई सिफ्ट चलाउन पनि मुश्किल छ, त्यसैले अस्पतालहरूमा अक्सिजन बढी खपत छैन,’ उनले भने।
घर-घरमा भने अक्सिजन बढी खपत हुन थालेको छ। यसको कारण कोभिड-१९ नै हो। अस्पतालहरूमा बिरामी भरिएकाले मानिसहरू होम आइसोलेसनमै बढी बसिरहेका छन्।
घरका लागि विशेषगरी सानो आकारको अक्सिजन लैजाने गरिन्छ। बोक्न सजिलो र हलुंगो हुने हुँदा सानो अक्सिजन सिलिन्डर घरमा बढी प्रयोग हुन्छ।
हिमाल ग्यास उद्योगले भने सानो सिलिन्डरको अभाव रहेको बतायो।
‘हामीकहाँ सानो सिलिन्डर कम छ, हाहाकारै जस्तो छ, साना सिलिन्डरहरू फिर्ता भएका छैनन्, मानिसहरूले बढी स्टक राखेकाले अभाव छ,’ हिमाल ग्यासका स्टोरकिपर महेश चौधरीले भने।
कोभिड मात्र नभएर अन्य श्वासप्रश्वासका बिरामीका लागि पनि घरमै अक्सिजन राख्ने गरिएको छ।
बजारमा माथिका दुई मात्र नभएर अक्सिटे, नवज्योति, सगरमाथा, सीता, कान्तिपुर, सोपान लगायत उद्योगहरू छन्। आइएमई र एभरेष्ट उद्योगको उत्पादन अहिले बन्द छ।
टिचिङ अस्पतालले आफ्नो लागि अक्सिजन उत्पादन आफैं गर्छ। उसको अक्सिजन प्लान्ट सञ्चालनमा छ। नेपाली सेना र धुलिखेल अस्पतालसँग पनि आफ्नै ग्यास प्लान्ट छ।
तपाईंलाई अक्सिजन चाहियो भने यी उद्योगमै सम्पर्क गरेर मगाउन सक्नु हुन्छ।
हामीसँग तीनवटा ग्यास कम्पनीका नम्बर उपलब्ध छन्।
हिमाल ग्यास ४२५१८७३, शंकर अक्सिजन ४३६४५४७, ४३५६५८४, सगरमाथा अक्सिजन ५५२५९४०
सम्पादकीय नोट: कृपया अन्य ग्यास कम्पनीहरूले हामीलाई आफ्नो नम्बर उपलब्ध गराउन सक्नुहुनेछ।