कैलालीको गोदावरी नगरपालिका-११ की जुनकिरी नेपालीका बुवा भारत जान्थे। उतै नोकरी गर्थे, घरखर्च पठाउँथे। बुवाले पठाएको पैसाले उनीहरूको घर चल्थ्यो। घरसँगै जुनकिरीको पढाइ पनि चल्थ्यो। उनका बुवा चाडबाडमा मात्रै नेपाल फर्किन्थे।
यसपालि कोरानाका कारण काम बन्द भएपछि उनी चैतमै घर आए। अहिलेसम्म घरमै छन्। घरमा खेतीपाती लगाउन जमिन छैन। कमाइ हुने कुनै बाटो छैन।
बुबा घरमै भएपछि खर्च चलाउन समस्या हुने गरेको जुनकिरीले बताइन्।
जुनकिरी कक्षा ९ पास भएर यसै वर्ष १० मा गएकी हुन्। ६ महिनादेखि उनले कुनै पनि तरिकाले पढ्न पाएकी छैनन्।
लकडाउनयता घरको काममा समय बिताएको उनले बताइन्।
‘घरको काम गरिन्छ। ज्यालामा अरूको धानसान लगाउने, काट्ने काम गरें,’ उनले भनिन्।
कोरोनाकै कारण लामो समय बन्द भएको उनको स्कुलमा फेरि पढाइ सुरू हुन थालेको छ। स्कुलमा कक्षा ८ र १० का लागि कक्षा सञ्चालन भएका छन्।
उनी पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोदकुमार उपाध्याय भट्टराईले कोरोनाका कारण अरू कक्षा चलाउन नसके पनि बोर्ड परीक्षा हुने भएकाले कक्षा ८ र १० का विधार्थीलाई पढाउन थालेको बताए।
उनले गाउँमा गएर अरू कक्षाका केटाकेटीलाई पनि पढाउने तयारी भइरहेको जानकारी दिए।
जुनकिरीकी मिल्ने साथी प्रियंका बिक पनि स्कुल जान थालिसकिन्। अरू केही साथीहरू पनि स्कुल पढ्न आउने गरेका प्रियंकाले बताइन्। तर कक्षाका सबै साथी भने स्कुल आइसकेका छैनन्।
प्रियंकाले पोहर कक्षामा ९४ जना भए पनि अहिले २०-३० जना मात्र स्कुलमा आउने गरेका बताइन्।
जुनकिरी पनि स्कुलमा भर्ना भएकी छैनन्। उनका बुबाले उनको नाम नलेखाएकाले उनले स्कुलबाट किताब पनि पाएकी छैनन्।
‘नाम नलेखेर किताब पनि लिएको छैन,’ उनले भनिन्।
नाम लेखाउन २ हजार रुपैयाँ चाहिन्छ। घरमा बुबासँग एक रुपैयाँ नभएकोले कक्षा १० मा भर्ना नभएको उनले बताइन्।
जुनकिरीले लकडाउन यता कुनै पनि विधिबाट पढ्न नसकेको बताइन्। उनीसँग इन्टरनेटबाट पढ्न मोबाइल वा कम्प्युटर छैन। रेडियोबाट कसरी पढ्ने उनले थाहा पाएकी छैनन्। टिभी उनको घरमा छैन।
टेलिकमले मोबाइलबाट पढ्ने प्याकेज ल्याएको कुरा पनि उनलाई थाहा छैन।
‘जेबाट पढुँ भने पनि पहिला पैसा चाहियो, नत्र कसरी किन्ने,’ उनले भनिन्।
प्रधानाध्यापक भट्टराईले प्रत्यक्ष वा टोलटोलमा शिक्षक गएर पढाउनुबाहेक अरू विकल्प विद्यालयसँग नरहेको बताए।
‘यहाँ रेडियो, टिभी, अनलाइनबाट पढ्न विद्यार्थीको पहुँच नै छैन,’ उनले भने।
उनको स्कुलमा अहिले इन्टरनेट पनि छैन।
जुनकिरीले कक्षा १ देखी ९ सम्म पढ्दा पनि हरेक वर्ष सामुदायिक विद्यालयमा पैसा तिर्नु परेको थियो।
उनले साथी आशिकाको पनि आफ्नैजस्तो समस्या रहेको बताइन्।
उनकी अर्की एउटा साथीले अब पढाइ हुँदैन होला भनेर बिहे नै गरिसकिन्।
‘दीपावलीसम्म पढेर इन्डिया जान्छु भन्थी। बुबाआमा पनि घर आएपछि उसले बिहे गरिसकी,’ उनले भनिन्।
सरकारले वैकल्पिक विधिबाट पठनपाठन सुचारू गर्न विद्यार्थी सिकाइ सहजीकरण निर्देशिक २०७७ जारी गरेपछि अहिले केही स्कुलले पढाउन थालिसके।
गोदावरी नगरपालिका-२ मा रहेको दुर्गाक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले अनलाइन, प्रत्यक्ष र टोल शिक्षाजस्ता विधिबाट असोज १८ गतेदेखि नै पठनपाठन सुरू गरेको बताए।
पहुँच नभएकाले २० देखि ३० प्रतिशतमात्र विद्यार्थि शैक्षिक गतिविधिमा सहभागी हुने गरेका जोशीले बताए।
दुर्गालक्ष्मी यहाँको नमूना स्कुल हो। यहाँ कम्प्युटर इन्जिनियरिङ पनि पढाइ हुने भएकाले इन्टरनेट र प्रविधिको उपलब्धता छ। यसकारण यो विद्यालयलाई वैकल्पिक विधिबाट कक्षा चलाउन सहज भएको जोशीले बताए।
गोदावरीका ५६ सरकारी विद्यालयमध्ये अधिकांशमा इन्टरनेटको सुविधा नरहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। विद्यालय निरीक्षक प्रयाग जोशीले नगरपालिकाले अहिले स्कुल सञ्चालन गरिहाल्न निर्देशन पनि नदिएको बताए।
सरकारले जारी गरेको निर्देशिकाका आधारमा स्कुलले विद्यार्थी अभिलेख गर्ने काम गरिरहेका उनको भनाइ छ। विद्यार्थीको विवरण प्राप्त भएपछि मात्र नगरपालिकाले कसरी जाने भन्ने निर्णय गर्ने जोशीले बताए।
गोदावरी नगरापलिकाको वडा नम्बर ११ मा १० प्रतिशत जति विद्यार्थीमा मात्र वैकल्पिक विधिबाट पढाउन सकिने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यपक भट्टराईले बताए।
शैक्षिक सत्रको आधा समय आइपुग्दा पढाई हुने/नहुनेमा सरकारले प्रस्ट पार्न नसकेकाले कतिपय विद्यार्थीले ‘ड्रप आउट’ गर्ने जोखिम बढेको उनको भनाइ छ।
वडा नम्वर ११ का वडा अध्यक्ष शिव बिकले कक्षा १ देखि १० सम्म पुग्दा ४० प्रतिशत विद्यार्थीले स्कुल छोड्ने गरेको बताए।
अहिले लामो समयदेखि पठनपाठन बन्द रहेका कारण विद्यार्थी कामका लागि पढाई छोड्ने वा विहे गरेर जाने जोखिम बढेको उनले बताए।