बाग्लुङको गल्कोट नगरपालिका–२ मौरिया थुम्काकी रत्नकुमारी कार्की उमेरले ९४ वर्ष पुगिन्।
सरकारले दिने वृद्ध भत्ता उनको आम्दानीको स्थायी स्रोत हो। गत वर्षदेखि भने उनको आम्दानीमा अर्को भत्ता पनि थपिएको छ, चाडपर्व भत्ता। गलकोट नगरपालिकाले गत वर्षदेखि ८५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भन्दै चाडपर्व भत्ता दिन थालेको मेयर भरत शर्माले बताए।
गत वर्षदेखि नगरपालिकाले ८५ वर्ष नाघेका उमेर समूहका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ चाडपर्व भत्ता दिन थालेको शर्माले बताए।
‘ज्येष्ठ नागरिकलाई हामीले सम्मान र संरक्षण गर्नुपर्छ भनेर भत्ता दिन थालेका हौं,’ मेयर शर्माले सेतोपाटीसँग भने, ‘थोरै रकमले पनि उनीहरुलाई उत्साह भर्न, सुरक्षाको प्रत्याभूति दिएका छौं।’
ज्येष्ठ नागरिकलाई भत्ता लिन बैंक वा नगरपालिकाको कार्यालय धाउनुपर्दैन। नगरपालिकाभर रहेका ८५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकको सूची बोकेर जनप्रतिनिधि र वडा सचिव भत्ता बाँड्न घरघरै पुग्छन्।
घरमै आएर भत्ता पाएपछि बयोवृद्धा कार्कीले जनप्रतिनिधिलाई आशिर्वाद दिइन्। उनले भत्ता बापत आएको रकम घरायसी खर्च गरेको र बाँकी मन्दिरमा दान दिएको बताइन्।
ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिन भनेर गत वर्षको बजेटमा नगरपालिकाले ८ लाख रुपैयाँ राखेको थियो। ज्येष्ठ नागरिकको संख्या कम भएपछि गत वर्ष छुट्याएको बजेटबाट केही रकम जोगियो।
यस वर्ष पनि चाडपर्व भत्ताका लागि ८ लाख बजेट राखेको मेयर शर्माले बताए। ‘यसपटक केही ज्येष्ठ नागरिक बढ्नुभएको छ’, उनले भने, ‘बजेट पनि बढाउनुपर्ने भएको छ।’
गल्कोट नगरपालिकाले गत वर्ष २ सय ९८ जना ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिएको थियो। यस वर्ष ८५ वर्ष नाघेका ३ सय ६ जनालाई भत्ता वितरण गरिरहेको नगरपालिकाले जनाएको छ। नगरभर ८५ वर्ष उमेर काट्ने वित्तिकै चाडपर्व भत्ता पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए।
ज्येष्ठ नागरिक सबैको घरमा उचित व्यवस्थापन र संरक्षण नभएको आफूले देखेको मेयर शर्माले बताए। त्यही भएर नै सरकारले दिने मासिक भत्ता बाहेक चाडपर्वको खुसी ज्येष्ठ नागरिकलाई पनि होस् भनेर भत्ता दिन थालेको उनको भनाइ छ।
‘हामी बाटो बनाउन, डोजर चलाउन खर्च गर्न केही मान्दैनौं, सामाजिक सुरक्षामा भने कञ्जुस्याई गर्छौँ’, मेयर शर्माले भने, ‘जेष्ठ नागरिकको संरक्षण र सम्मान पनि त विकास नै हो।’