सुर्खेतमा डेंगीका बिरामी बढेका छन्। पछिल्लो तीन महिनामा १०२ जना डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा पनि सबैभन्दा धेरै वीरेन्द्रनगरका मानिस डेंगीबाट संक्रमित भएका छन्।
सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीण भन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले बताए।
‘यो सफा पानीमा फुल पार्ने लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले शहरी क्षेत्रमा धेरै संक्रमण देखिएको छ’ उनले भने।
आर्थिक वर्ष ०७६/७७ मा सुर्खेतका १३४ जनालाई डेंगी भएको थियो। अहिले पनि डेंगी संक्रमणको दर जिल्लामा गत आर्थिक वर्षको बराबर रहेको प्रमुख वाग्लेले बताए। उनका अनुसार यो आर्थिक वर्षको अहिलेसम्म डेंगीबाट मृत्यु भने भएको छैन।
जनस्वास्थ्य सेवा कार्यालयले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र मार्ने अभियान सुरु गरेको छ।
प्रमुख वाग्लेका अनुसार एक सातासम्म चल्ने यो अभियान सञ्चालन गर्न ७ सदस्यीय समिति पनि बनाइएको छ। ‘समितिले सम्वन्धित विषयमा सर्वसाधारणलाई जानकारी गराउने काम पनि गर्छ’ उनले भने।
एडिज प्रजातिको लामखुट्टेले टोक्दा सर्ने डेंगी रोग तीन प्रकारको हुन्छ। यसको कुनै उपचार छैन। संक्रमितलाई देखिएको लक्षणका आधारमा मात्र उपचार हुने गरेको वाग्लेले बताए। यसको अवस्था गम्भीर भएमा प्लाज्मा विधिबाट समेत उपचार गर्नुपर्ने अवस्था आउँछ।
कतिपय डेंगी संक्रमितमा लक्षण समेत नदेखिने गरेको उनले जानकारी दिए। एक्कासी ज्वरो आउनु, ५ देखि ७ दिनसम्म नियमित ज्वरो आइरहनु, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांशपेशी, ढाड दुख्ने, शरीरमा विविरा आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने डेंगीका लक्षणहरु हुन्।