सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ।
यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो।
तर पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा कठिनाइ भएको भन्दै स्वास्थ्य मन्त्रालयले परिवारले नै शवको अन्त्येष्टि गर्ने गरी मापदण्ड संशोधन गरेको हो।
कतिपय विज्ञहरूले भने सरकारले परिवारलाई नै संक्रमितको शव अन्त्येष्टि गर्न दिँदा त्यसबाट थप संक्रमण फैलिने जोखिम रहेको चेतावनी दिएका छन्।
कोरोना संक्रमितकै उपचारमा खटिएका एक विज्ञ भन्छन्, 'जोखिम नहुने भए यत्रो महिनासम्म किन सेनालाई खटाउनुपर्थ्यो? शवलाई छुन समेत दिइँदैनथ्यो। पहिले सर्ने अहिले नसर्ने भन्ने हुँदैन न नि!'
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि विशेष सावधानी अपनाउन चुके त्यसबाट संक्रमण फैलिने जोखिम रहने बताउँछन्।
त्यसैले यदि परिवारले नै शवको अन्त्येष्टि गरे पनि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
शवबाट कोरोना सर्ने यकिन नभए पनि जोखिम भने सधैं रहने उनको तर्क छ।
डा. पुनका अनुसार संक्रमितको मृत्युअघि नाकबाट बग्ने पानी वा कुनै तरल पदार्थबाट संक्रमण अरूमा सर्नसक्ने हुन्छ।
'संक्रमितको मृत्यु हुनुअघि कहिलेकाहीँ नाकबाट पानी वा र्याल बग्ने गर्छ र शवलाई खाली हातले छोएर फेरि हात नाक, मुख र आँखामा लैजाने गर्दा त्यसबाट संक्रमण सर्ने जोखिम हुन्छ,' उनले भने।
त्यसैले शवको अन्त्येष्टिमा सहभागी सबैले अनिवार्य जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनी सुझाउँछन्।
त्यसका लागि सकेसम्म कम व्यक्ति सहभागी हुने, भौतिक दूरी कायम गर्ने, शवलाई जथाभावी नछुने र मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने डा. पुन बताउँछन्।
साथै, अन्त्येष्टिमा सहभागी भएर फर्केपछि आफूले लगाएको लुगा सरसफाइ गर्दा पनि संक्रमणको जोखिम कम हुने उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवबाट संक्रमण सर्ने जोखिम रहे पनि विशेष सावधानी अपनाए त्यसबाट संक्रमण नसर्ने दाबी गरे। त्यसका लागि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
प्रवक्ता गौतमले भने, 'शवले खोक्दैन। शवले ह्याछ्युँ गर्दैन। त्यसैले सर्ने सम्भावना एकदम कम छ। त्यसैले मास्क लगाउने, पञ्जा लगाउने र प्लाष्टिकले बेरेर अन्त्येष्टि गर्ने।'
उनले सेनाले मात्र शव व्यवस्थापन गर्दा ढिलाइ भएको भन्दै यस्तो निर्णय गरेको जिकिर गरे।
काठमाडौंमा समयमै सेना आउनसक्ने भए पनि जिल्लाहरूमा भने समयमै सेना आएर शव व्यवस्थापन गर्न गाह्रो रहेको उनको भनाइ छ।
'जिल्लामा सेनाको व्यारेक कहाँ हुन्छ? आज बोलाउँदा भोलि आइपुग्ने स्थिति हुनसक्छ। त्यसैले सर्वसाधारणकै अनुरोध आएर पनि उक्त निर्णय गरिएको हो,' उनले भने।
प्रवक्ता गौतमले पहिले मानिसहरू संक्रमितको शवलाई छुन डराए पनि अहिले भने सबैलाई थाहा भएको जनाए।
उनले भने, 'माघ- फागुनतिर कोरोना पोजेटिभलाई डाक्टर नर्सहरूले त छुन मान्दैनथे, अब अरूको के कुरा गर्नु! तर अहिले त मान्छेलाई धेरै कुरा थाहा भएको छ।'