केराउ तस्करी गर्ने समूहले धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको पत्ता लागेको छ।
तस्करी गर्ने समूह धनगढीको हो। एक गाडा केराउ लिएर गइरहेको समूहले असई र जवानको हत्या गरेको प्रहरी उच्च स्रोतले सेतोपाटीलाई बतायो।
सो गाडामा कति परिमाणमा केराउ थियो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ।
धनगढी उपमहानगरपालिका-१२ को जुगेडा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवान साउदको शनिबार राति हत्या गरिएको थियो।
नेपाल-भारत सीमाको मोहना नदीनजिकै उनीहरू दुवैलाई तस्करले राति करिब ११ बजे हत्या गरेको देखिएको एक प्रहरी अधिकारीले बताए।
हत्या गरिएकामध्ये असई विकको आइतबार र जवान साउदको मंगलबार मोहना नदीमा शव भेटिएको थियो। उनीहरू दुबैलाई हत्यापछि नदीभित्रै फालिएको प्रहरी अनुसन्धानले देखाएको छ।
असई विकलाई भने नदीभित्र गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
ती प्रहरी अधिकारीका अनुसार यस घटनामा प्रहरीले सात जना तस्कर समातेको छ। तीमध्ये एक जनाले प्रहरी जवान साउदको शव गाडेको स्थान देखाएका थिए।
पक्राउ परेका सबै धनगढीकै भएको ती प्रहरी अधिकारीले जानकारी दिए।
तस्करी गर्ने समूह करिब १०/११ जनाको भएको प्रहरीको अनुमान छ।
‘नेपालबाट केराउ लैजाँदै गरेको गाडा नियन्त्रण गर्ने क्रममा तस्करहरूले लाठी, फरुवा र उखु काट्ने खुर्पी प्रहार गरी हत्या गरेको देखिएको छ,’ ती अधिकारीले भने।
दुबैको घाँटीमा निर्मम तरिकाले खुर्पी प्रहार गरेको देखिएको छ।
‘प्रत्याक्रमणका लागि असई विकले आफूले बोकेको पेस्तोल निकाल्नै नसकेको देखिएको छ,’ ती अधिकारीले भने।
उनका अनुसार हत्यापछि उनीहरू केराउ लिएर भारत गएको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न अन्य केहीको खोजी भइरहेको छ।
अस्थायी प्रहरी चौकी जुगेडा तस्करी नियन्त्रणमा लागेको थियो।
जुगेडा नेपाल-भारत सिमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वारि जुगेडा करिब ३० किलोमिटर टाढा पर्छ।
दुबै देशको सीमा छुट्याउने मोहना नदीले हो। जुगेडाबाट नदी करिब साढे पाँच किलोमिटर हो।
यो तस्करी हुने क्षेत्रले चिनिन्छ। यो ठाउँमा किराना सामान र कपडा तस्करी अत्यधिक हुने गरेको छ। चौकीमा विक तीन महिनाअघि मात्र गएका थिए।
नेपालमा अनुदानकै रूपमा क्यानडाबाट हरियो केराउ आउने गरेको छ। यसको बजारमूल्य हाल ८०-९० रुपैयाँ प्रतिकिलो पर्छ। तर, यही केराउ भारतमा भने १२० रुपैयाँ भारु पर्ने गरको छ।
नेपालमा सस्तो दरमा पाइने र भारत लैजाँदा निकै फाइदा हुने गरेकाले चोरी तस्करी बढेको प्रहरीको भनाइ छ।
कानुनत: तेस्रो देशबाट आयातित सामग्री पुन: अर्को देश निकासी गर्न पाइँदैन।
सिमावर्ती जिल्लाहरूमा पछिल्लो समय मरिच, छोकडापछि केराउ तस्करी अत्यधिक रुपमा हुने गरेको छ।