शनिबार राति ड्युटी गएका धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको आइतबार बिहान शव भेटियो। नेपाल-भारत सीमा छुट्याउने मोहना नदी किनारमा उनको शव भेटिएको थियो। उनको घाँटी रेटिएको थियो। विकको शव भेटिएको केही घन्टासम्म पनि सँगै ड्युटी गएका जवान रामबहादुर साउद बेपत्ता थिए।
प्रहरीले उनको खोजी गरिरहेको थियो तर विकको हत्या कसले गर्यो भन्ने पनि खुलेको थिएन। तस्करले नै दुबै प्रहरीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो तर कतिपयले भने असई विकको हत्यामा जवान साउँदलाई पनि शंका गरे।
‘कतिले त तेरो मान्छे कता छ भन्दै धम्काए पनि,’ साउदका दाई गंग साउदले मंगलबार सेतोपाटीसँग भने।
अनुसन्धानका क्रममा रहेको घटनामा कतिपयका निराधार शंकाले कर्तव्यनिष्ठ प्रहरीका परिवारमा झन् पीडा थपेको उनले बताए।
‘ड्युटीमा रहँदा डराउने त्यति कमजोर होइन त्यो मान्छे, प्रहरी बन्न धेरै संघर्ष गरेको हो,’ गंगले भने।
अछामको बान्नगढी जयगढ गाउँपालिका-५ घरका रामबहादुर घरका साइला छोरा हुन्। उनका कान्छा भाइ नेपाली सेनामा छन्। एक भाइले सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन्।
उनीभन्दा अगाडिका दाइ गंग आधारभूत विद्यालयका शिक्षक हुन्।
घरमा बुबा र आमाले खेती किसानी गर्छन्।
रामबहादुर सानैदेखि शारिरीक कसरतमा अब्बल थिए। उनी फुर्तिला र जोसिला थिए। दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उनी स्कुलमा पहिलो हुन्थे।
गंगका अनुसार सानैदेखि फोर्समा जाने उनको सपना थियो। कक्षा १२ पास गरेपछि उनले दिपायलमा प्रहरी हुन आवेदन दिएका थिए।
त्यसबेला उनी छनोटमा परेनन्। प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उनले हिम्मत हारेनन्।
‘सपना नै थियो प्रहरी हुने, छैठौं पटक २०६७ मा नाम निकालेको हो,’ गंगले भने।
छनौटपछि उनले ९ महिना डोटी बुडरमा तालिम लिए। तालिमपछि दिपायलमै काम गरे। त्यसपछि दार्चुला सरूवा भए। २ वर्षदेखि जुगेडा अस्थायी प्रहरी चौकीमा थिए।
जागीर खाएको २ वर्षपछि उनको बिहे भयो। श्रीमती घरयासी काम गर्छिन्। उनका दुई छोरी छन्।
‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागी काम गर्छु भन्थ्यो,’ गंगले भने।
१० वर्षको जागिरले उनको परिवारको घरखर्च चलेको थियो।
अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उनको इच्छा थियो।
‘छोरीलाई धेरै पढाउने उसको सोच थियो,’ गंगले भने।
पछिल्लो पटक भदौमा उनी घर गएका थिए। १० दिन घरमा बसे। यसबेला साथीभाइ आफन्तसँग भेटघाट पनि गरे।
घटना भएको दिन उनका कान्छो भाइ काठमाडौंबाट घर आएका थिए। रामले धनगढीबाट सामान किनेर घरका लागि भाइको हातमा पठाएका थिए।
दिउँसो कान्छी छोरीसँग फोनमा कुरा भयो।
गंग आइतबार खेतमा भट्मास काट्दै थिए।
‘धनगढीमा असइको हत्या भयो र राम बहादुर बेपत्ता छन्’ भन्ने खबर सुने।
‘त्यसैबेला मलाई लागिसकेको थियो, ऊ पनि बाँचेन होला,’ उनले भने।
घरमा खाना खाने समय थियो। सबैले खाएपछि बल्ल उनले सुनाए। आफन्त र गाउँले पनि घरमा आए। केहीले धनगढी जाउँ भन्ने सुझाव दिएपछि गंग हिँडे।
सोमबार धनगढी पुगेर घटनस्थलमै खोजीमा लागे। करिब ६० घन्टा बिते पनि भाइ भेटिएन।
‘भाइ नभेटिएपछि कतिले रामले असई मार्यो भनेको सुनेपछि निकै मन दुख्यो,’ उनले भने।
असईसाब् र आफ्नो भाइले देशको सेवा गदैगर्दा ज्यान गुमाउनु परेकोमा गर्व लागेको उनको भनाइ छ।
‘बर्दीमै प्राण त्याग्यो, यसमा मलाई गर्व लागेको छ,’ उनले भने।
उनी फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहन्छन्। हत्यारा पनि पत्ता लागेका छन्। कोही दोषी नउम्कियोस् भन्ने उनलाई लागेको छ।
साउदको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको छ। आजै शव अछाम लैजाने परिवारका सदस्यले बताए। बुधबार उनको अन्तिम संस्कार हुनेछ।