सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्को हुँदै पाटन दरबार स्क्वायर जाने सडकछेउमा एक पुरूष लम्पसार थिए।
उनी कहाँबाट त्यहाँ आइपुगे, कहिले बसे भन्ने यकिन थिएन।
अन्दाजी ३१ वर्षका ती पुरूषलाई त्यस्तो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे- एक जना मान्छे रक्सी खाएर लडेको छ।
उनी अचेत अवस्थामा थिए। उनलाई स्थानीयले ‘काइँला’ भनेर बोलाउँदा रहेछन्। केहीले अनिल पनि भन्ने गर्थे। ’
उनी लडेको सडकमा थुप्रै सवारी साधन गुडिरहेका थिए। कार्यालय समय भएर पनि होला अलि भीड बढी नै थियो। सो बाटो भएर लाग्ने हरेक मान्छेले उनलाई हेर्दै हिँड्थे।
दुई-तीन जना प्रहरी ‘काइँला’लाई अस्पताल लग्न प्रहरीको भ्यान पर्खिंदै थिए।
केहीबेरमै प्रहरीको भ्यान आइपुगेको थियो। भ्यान आएपछि दुई जना प्रहरीले हातमा पञ्जा लगाए।
एक जनाले काइँलाको हात समाते भने अर्काले उनको खुट्टा। दुबै प्रहरीले उनलाई गाडीमा हालेर अस्पताल लगे। उनलाई ललितपुरको पाटन अस्पतालमा लगिएको थियो।
अस्पताल पुर्याउँदासम्म काइँलाले आफ्नो प्राण त्यागिसकेका थिए। डाक्टहरूले मृत घोषणा गरे।
उनको मृत्यु गाडीमा भयो वा सडकमा भन्ने खुलेको छैन। प्रहरीले सुरूमा उनको पहिचान गर्न सकेको थिएन। उनको शरीरबाट प्रहरीले फोन, परिचय पत्र पनि भेटाएको थिएन।
जसकारण सोमबार साँझसम्म पनि काइँलाको सनाखत हुन सकेको थिएन। पछि त्यही ठाउँका पसलेले उनको पहिचान खुलाए।
तर, उनको पूरा नाम, ठेगाना भने कसैले बताउन सकेको छैन। करिब १५ वर्षदेखि ललितपुर क्षेत्रमा मजदुरी गरेर उनले जीवन गुजारेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
‘सानै उमेरमा ललितपुर आएको देखिन्छ। हाल त सुकुम्बासी टोलमा बस्थे,’ एसएसपी राईले भने, ‘तर, उनको घर कहाँ हो भन्ने खुलेन।'
उनी ललितपुरको सुकुम्बासी बस्तीमा बस्थे।
‘उनको परिवार पनि छैन। केही वर्षअघि एक पसलेकोमा काम गरेका रहेछन्। उनले काइँला हुन् भनेर चिनाए,’ एसएसपी राईले भने, ‘उनी त्यसक्षेत्रमा आउने जाने गरिरहन्थे।'
उनको मृत्यु हुनुको कारण मादक पदार्थ सेवनले हो या हैन अहिले खुलेको छैन। उनको शरीरमा कुनै चोटपटक पनि देखिएको छैन।
उनको शव अहिले पाटन अस्पतालमा राखिएको छ। उनको पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने एसएसपी राईले बताए।