गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोरोना संक्रमितको उपचार नि:शुल्क नै गर्ने बताएका छन्।
‘यसअघि जे छ त्यसैलाई निरन्तरता दिन्छौं’, उनले सेतोपाटीसँग भने, ‘शुल्क लिएर कोरोनाको उपचार गर्ने हामीले सोचेकै छैनौं।’
सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्न निर्देशन दिएको बताउँदै उनले सर्वोच्चको आदेशविपरीत जान नहुने बताए।
‘मैले माथि पनि भनेको छु, एक दुई दिनमा निर्णय आउँछ होला’, उनले भने, ‘संघ सरकारले पनि नि:शुल्क नै उपचार गर्नुपर्छ।’
गण्डकी प्रदेशमा कोरोना भाइरसको आफूखुसी परीक्षण गर्न चाहनेले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुल्क तिरेर परीक्षण गर्न सक्छन् भने प्रदेशभरका ११ वटा जिल्लामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नि:शुल्क परीक्षण हुँदै आएको छ।
आफूखुसी परीक्षण गर्दा देखिएका संक्रमितको उपचार र कन्ट्याक्ट ट्रेसिङको परीक्षण पनि नि:शुल्क गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।
उनले कोरोना संक्रमितलाई होम-आइसोलेसन बस्न चाहेनलाई घरमै र अस्पतालको आइसोलेसनमा बस्न चाहनेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरूवा रोग अस्पतालमा आइसोलेसनमा नि:शुल्क राखेको बताए।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६७ जना पुगेको छ। जसमा ५४ जना संक्रमितको मृत्यु भइसकेको छ भने ३ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन्।