पोखराको मजुवा– बिसौना–बिजयपुरकोट पर्यटकीय पदमार्गमा काम गर्दै आएका थिए, ५५ बर्षीय टंकबहादुर तामाङ।
टंकबहादुरसँगै सोही पदमार्गमा काम गर्ने उनका भतिज इन्द्रबहादुर तामाङ र अर्का मजदुर पन्थबहादुर तामाङले मजुवाको जंगलछेउमा पालको छाना र स्याउलाले बारेर छाप्रो बनाए। यी तीनै जना त्यही छाप्रोमा बस्थे।
छाप्रोमा उनीहरू मिलेर खाना बनाउने र खाने गर्दथे। गत वैशाख २० गते राति छाप्रोमा अप्रिय घटना भयो। छाप्रामा टंकबहादुरको टाउको र अनुहारमा गम्भीर चोट थियो, रगताम्य अवस्थामा शव भेटियो।
बाँकी दुई जना भने छाप्रामा देखिएनन्। प्रहरीले २१ गते बिहानै छाप्रो पुगेर शव पोष्ट मार्टम गर्न अस्पताल लगे।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ बान्द्रेका टंकबहादुर, उनका भतिज इन्द्रबहादुर र सिन्धुलीका पन्थबहादुर j}वैशाख २० गते छाप्रोमा रक्सी र मासु खाइरहेका थिए। रक्सीको नशा चढ्दै गएपछि टंकबहादुर उनका भतिज इन्द्रबहादुरको बोली पनि चढ्दै थियो। यिनीहरूले धेरै हल्ला गरे भन्दै पन्थबहादुर भने छाप्रोबाट निस्किए।
‘यिनीहरू सधैँ झगडा गर्छन्, सुत्न पनि दिँदैनन्’ भनेर पन्थबहादुर नजिकै एक व्यक्तिको घरको पिँढीमा गएर सुते। जब बिहान भयो, पन्थबहादुर छाप्रोमा पुगे। छाप्रोमा टंकबहादुरको शव देखे, इन्द्रबहादुरलाई देखेनन्। आफ्नै काका टंकबहादुरको हत्या गरेर उनी फरार भए।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार रक्सी खाँदा–खाँदै झगडा चर्किएपछि इन्द्रबहादुरले काकाको हत्या गरेर फरार भएका थिए।
घटनाको झन्डै ६ महिनापछि अभियुक्त इन्द्रबहादुर लमजुङको सोतीपसलबाट पक्राउ परेका छन्। यसअघि उनी काकासँगै उक्त स्थानमा मजदुरी गर्न पुगेका थिए।
प्रहरीले लिएको प्रारम्भिक बयानमा इन्द्रबहादुरले काकाको हत्या गरेको स्वीकार गरेको डिएसपी हमालले बताए।
झगडा हुँदै गर्दा इन्द्रबहादुरले छाप्रोमा भएका भाँडा भुइमा खसाए। भाँडा खसालेको भन्दै टंकबहादुरले भतिजलाई गाली गरे। 'त्यसैको झोंकमा काकाको टाउकोमा घनले हानें' इन्द्रबहादुरले बयानमा भनेका छन्।
टंकबहादुरका छोराले इन्द्रबहादुरका विरूद्ध हत्या अभियोगमा किटानी जाहेरी दिएका छन्। वैशाख २० गते भएको घटनाका अभियुक्त कात्तिक २ गते लमजुङबाट पक्राउ गरी पोखरा ल्याएको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको डिएसपी हमालले बताए।