मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरी दिउँसो जति सुन्दर देखिन्छ, त्योभन्दा मनमोहक हुन्छ राति।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यहाँ बत्तीको प्रकाश संयोजन गर्दा पनि मल्लकालीन शैलीको झल्को दिन खोजेको छ। त्यही भएर रानीपोखरीलाई बिजुलीबत्तीले झल्झलाकार पारिएको छैन, बरू मधुरो बत्तीको प्रयोग बढ्ता गरिएको छ।
तपाईंहरूले काठमाडौंका पुराना घर वा मन्दिरका पर्खालमा स–साना प्वालहरू देख्नुभएको छ? त्यसलाई 'ग्वाखं प्वा' भनिन्छ। मल्लकालीन शैलीका ती ग्वाखं प्वा दियो राख्न बनाइएका हुन्। रानीपोखरी वरिपरिका पर्खालमा पनि त्यस्तै ग्वाखं प्वाहरू छन्। यसले चारैतिर मन्द रोशनी छरिएको देखिन्छ।
साढे पाँच वर्षपछि पहिलो चरणको पुनर्निर्माण सकिएको रानीपोखरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। यहाँ सर्वसाधारणको प्रवेश कसरी खुला गर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्राधिकरणले काठमाडौं महानगरपालिकासँग मिलेर कार्यविधि बनाउँदैछ।
कार्यविधि तयार नभएसम्म नियन्त्रित रूपमा सर्वसाधारणलाई जान दिने प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताएका छन्।
'मान्छेहरू रानीपोखरी कस्तो बन्यो भनेर हेर्न उत्सुक छन्। उनीहरूलाई रोक लगाएर निराश पार्न हुन्न। त्यसैले भोलिबाटै यहाँ घुम्न आउन सकिन्छ। अहिलेलाई भीडभाड नहुने गरी थोरै मान्छे मात्र पठाउने कि भन्ने सोचेका छौं,' उनले भने।
उनले अगाडि भने, 'अबको एक–दुई महिना कति मान्छे आउँछन् भनी अध्ययन गर्नेछौं। पोखरीले धान्नसक्ने मात्र मान्छे आए कुनै समस्यै भएन। भीड लाग्न थाल्यो भने संख्या नियन्त्रण गरेर छिराउन सकिन्छ। सुरक्षागार्डहरू राख्ने र निश्चित संख्याका मान्छे छिरेपछि ढोका बन्द गर्न सकिन्छ।'