यता कोरोना रिपोर्ट पोजेटिभ आउनु, उता सास फेर्न गाह्रो हुनु।
अक्सिजन लेभल एकैपटक ९८ बाट ९१ पुग्दा काठमाडौंका छत्र श्रेष्ठ आत्तिनु स्वाभाविक थियो। उनको सासको गति छोटो हुँदै जादा यता श्रीमती मनीषाको ढुकढुकी बढिरहेको थियो।
मनीषा त आफैं योगगुरू। अरूलाई योगमार्फत् श्वासप्रश्वास नियन्त्रण गर्न सिकाउने उनलाई आफ्नै श्रीमानको सासको गतिले व्यग्र बनायो। एकछिन त अलमलमा परिन्, आत्तिइन्। धैर्य भने हारिनन्।
‘ल...ल! प्राणायाम गर्न जाम्। सास आफैं नियन्त्रणमा आउँछ,’ हौसला दिँदै श्रीमानलाई बाहिर छतमा ल्याउन खोजिन्।
‘म सक्दिनँ’ भन्दै तर्कन खोजेका छत्र उनको ढिपी अगाडि हारे।
विस्तारै उनलाई सास फेर्न सजिलो हुँदै गयो। अक्सिजन लेभल फेरि ९८ मा फर्कियो। स्वास्थ्यको जानकारी लिइरहने नर्सले अचम्म मान्दै सोधिन् पनि, ‘अक्सिजन लिनुभएको हो?’
कोरोना पोजेटिभ भएयता मनीषा र छत्र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा छन्। पोजेटिभ देखिएका दाजुभाउजूको सम्पर्कमा आएपछि उनीहरूले आफूमा पनि कोरोना देखिएको शंकामा जाँच गराएका थिए। मनीषालाई सामान्य घाँटी दुख्ने भए पनि छत्रलाई सासै फेर्न गाह्रो भएको थियो।
कोरोना देखिएयता उनीहरूको योग जारी छ। अस्पतालको छतमा यी जोडी योग गरिरहँदा आइसोलेसनका अन्य मान्छे पनि सिक्न खोज्थे। अस्पतालको स्वीकृति लिएपछि उनले तेस्रो दिनबाट सबैलाई योग सिकाउन थालिन्। अहिले त उनी आइसोलेसनमा बसेकै १२ दिन भइसक्यो।
नियमअनुसार ११ दिनमा कोरोनाको अर्को पिसिआर गर्नुपर्ने हो। सरकारी तहबाट पिसिआर नगराइने निर्णय भएपछि उनीहरू अलमल परेका छन्। सरकारबाट नगराए आइसोलेसनबाट निस्किएर आफैं गर्ने सोचमा छन्।
कीर्तिपुर अस्पतालमा कोरोना बिरामी क्षमता १६५ छ। अहिले १४१ जना भर्ना छन्। दिनको चारपटक खाना, आयुर्वेदिक औषधि दिने र त्यसले नभए एलोपेथिक औषधि दिइन्छ।
‘आइसोलेसनमा बस्नेले दिनको एक हजार तिर्नुपर्छ भन्ने सुनेको थिएँ, तर निःशुल्क रहेछ। त्यति भएर पनि यहाँ सुविधामा कुनै कमी छैन। हाम्रो आवश्यकता पूरा गर्ने त छँदैछ सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ,’ मनीषाले जानकारी दिइन्।
४१ वर्षीया मनीषा व्यावसायिक योगगुरू हुन्। १९ वर्षअघि उनको शरीर ९० किलो रहेछ। आफ्नो मोटो शरीर र दैनिक टिभीमा रामदेवले योग गरेको देखेर उनलाई पनि यसमा आकर्षण बढेको थियो। त्यो बेला योग सिकेको साढे तीन महिनामा ३२ किलो घट्दा हौसला मिलेको थियो। सिकेपछि दुई वर्ष त पतञ्जलीमा तालिम पनि दिइन्। पछि भारतको हरिद्वार पुगेर तालिम लिइन्।
पछि व्यावसायिक रूपमा मान्छेको घरघरै पुगी उनी योग सिकाउँथिन्। लकडाउन अघिसम्म यो क्रम जारी थियो। त्यसपछि अनलाइन कक्षा। आइसोलेसनमा बसेयता अनलाइन कक्षा टुट्यो। अस्पतालमा आफूजस्तै कोरोना बिरामीसँगको दुरी भने योगले नजिक्याएको छ।
धेरैले त उनलाई भन्न पनि थालेका छन्, ‘तपाईं हाम्रो लागि भगवान भएर आउनुभयो।’
मनीषासँग दैनिक करिब ५० जनाले योग गर्छन्। बिहान सवा ८ बजेबाट उनको कक्षा सुरू हुन्छ। न्यानो घाममा भिटामिन ‘डी’ पनि पाइन्छ भन्दै उनी योग गर्न आउनेलाई प्रेरित गर्छिन्।
कोरोनाले प्रत्यक्ष स्वासप्रश्वास प्रणालीलाई असर गर्छ। योगले श्वासप्रश्वास प्रणालीलाई सक्रिय र बलियो बनाउने हुँदा स्वास्थ्यकर्मीले पनि योग कोरोनामा सहयोगी हुँदै आएको बताएका छन्।
मनीषा पनि भन्छिन्, ‘अक्सिजन लेभल घट्दै जाने, सुख्खा खोकी लाग्ने, एलर्जी हुनेले मसँग योग सिक्दा राम्रो भएको बताएका छन्। कोरोना नहुनेलाई पनि योगले फाइदै पुग्छ।’
उनले एउटा योग अभ्यास तीन मिनेटबाट सुरू गर्दै पाँच, सात, दस मिनेट बढाउँदै लगिन्। अहिले त सिक्नेले नै भन्न थालिसकेछन्, ‘अब हामी १५ मिनेटसम्म पनि सक्छौं।’
हामी पनि बिहानको घाम ताप्दै मनीषाकै शैलीमा योग गरौं न त!
सुरूमा आफूलाई सजिलो हुनेगरी पलेँटी मारेर आसनमा बस्नुस्। चारवटा साससम्बन्धी अभ्यास छन् है!
‘ओम...’ भन्दै लामो सास तान्नुहोस्।
तपाईंलाई ‘ओम’ भन्न मन भएन भने ‘हम’ वा अरू केही भन्न सक्नु हुन्छ।
पाँचपटक यो भनेपछि हामी भष्ट्रिका प्राणायाम गरौं। जति सक्नुहुन्छ लामो सास तान्नुस्। त्यो सास रोक्नुहोस् र बिस्तारै छाड्नुहोस्। यो प्रक्रियालाई परक (तान्ने), कुम्बक (रोक्ने) र रेचक (छाड्ने) भनिन्छ। सुरूका दिनमा लामो सास तान्न नसक्नुहोला। त्यो क्षमता विस्तारै बढ्दै गइहाल्छ नि।
एउटै आसनमा बस्दाबस्दा खुट्टा गल्यो होला। ल केहीबेर खुट्टा तन्काउनुहोस्।
खुट्टा तन्काएपछि उज्जेयी प्राणायम गरौं। घाँटी खसखस हुने, सुख्खा खोकी लाग्नेलाई यो निकै राम्रो हुन्छ।
यसमा घाँटी कसेर ‘उम...’ गरेर तान्नुपर्छ। तीनवटा विधि हुन्छ यसमा। चिउँडोले पहिला छाती छोएर क्षमताअनुसार सास रौकौं। अनि टाउको उठाएर दायाँ नाकको प्वाल बन्द गरेर बायाँबाट छाडौं। यो प्रक्रियालाई ५ देखि १० पटकसम्म दोहोर्याउनुहोस्।
अन्तिम अनि मुख्य हो ‘अनोलोम बिलोलम’। यसमा एउटा नाकबाट लामो सास तान्नुहोस् र अर्कोबाट छाड्नुहोस्।
अब फेरि खुट्टा तन्काऔं।
यसपछि भ्रामरी गरौं। यो भनेको माउरी जसरी भुन्भुनाउने हो। हातका चार औंलाले आँखा-कानलाई बुढी औंलाले बन्द गरौं। अब ‘हुम्म...’ गर्दै माहुरी जसरी भुन्भुनाउनुहोस्।
अब फेरि पाँचपटक ओम भन्दै लामो सास तान्दै फालौं। ओमको सट्टा हम.. वा अरु केही भन्न सक्नुहुन्छ।
बधाइ छ, तपाईं स्वः उपचार प्रक्रियामा सहभागी हुनुभयो। अब हामी सिंहजस्तै गर्जने है?
यसलाई सिंहासन भनिन्छ। सिंह जतिसुकै भोको भए पनि उसले घाँस खाँदैन। आफ्नो आहार आफैं जुटाउँछ। त्यो कुरालाई आत्मबोध गर्दै सिंहजस्तै गर्जनुस्। तपाईंभित्रको सिंहलाई जगाउनुहोस्।
गर्जेर मात्र भएन, हाँस्नु पनि त छ।
हामी अब बलियो भइसक्यौं, सकारात्मक भइसक्यौं। यही खुसियालीमा मज्जाले हाँस्नुस्। जो मान्छे हाँस्न जान्दैन, त्यो मान्छे सही अर्थमा बाँच्न जान्दैन।
रमाइलो कुरा के छ भन्दा, हाँस्ने पनि चार तरिका छन् है!
ओठले हाँस्नुस् मुसुक्क।
दाँतले हाँस्नुस्... हाहाहा।
बिस्तारै मन पनि हाँस्छ।
त्यसपछि पेट हल्लिएर पेट हाँस्छ।
‘हासौं, गाऔं, नाचौं’ भन्ने गीत नै छ नि। गीत बजाएर नाचौं है त!
मनीषाको योग सिकाउने शैलीले धेरैलाई हाँस्दै-हाँस्दै नचाइसकेको छ!