पोखरा–३ नदीपुरकी माया श्रेष्ठले आफ्नो हराएको छोरा ९ महिनापछि भेटाइन्। उनका ११ वर्षीय छोरा विजय लकडाउन हुनुभन्दा २ महिनाअघि नै हराएका थिए।
घरबाट कहाँ गए, कोसँग गए कसैलाई पत्तो थिएन।
‘खोज्दा-खोज्दै लकडाउन भयो’, मायाले भनिन्, ‘त्यसपछि खोज्न पनि सकिएन।’
विजय भने पोखरा छाडेर कहीँ गएका थिएनन्।
उनको काम नै लुक्दै हिँड्ने थियो। सडक बालबालिकासँग संगत बसेपछि लुक्न र भाग्न माहिर भइसकेका थिए। जब लकडाउन भयो, पोखरा महानगरले सडक बालबालिकालाई खोज्न थाल्यो। यही क्रममा फेला परेका थिए विजय।
महानगरपालिकाले लकडाउन हुनासाथ पोखरामा रहेका २८ जना सडक बालबालिकाको उद्धार गरेर अन्नपूर्ण गाउँपालिकाको लेवाडेस्थित चिल्ड्रेन नेपालको भवनमा पुग्यो। त्यतिबेला उक्त भवन निर्माण सकिनै लागेको थियो, भवनमा महानगरले लैजानुअघि एक जना पनि बालबालिका थिएनन्।
महानगरले उद्धार गरेका सडक बालबालिकामध्ये १० जना भागे। बाँकी १८ जना भने त्यहीँ बस्न राजी भए।
‘सडक बालबालिकालाई कोरोनाको जोखिम झन् धेरै हुन्छ भनेर उद्धार गरेका हौं’, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले भनिन्, ‘लकडाउनले सडक बालबालिकाको उद्धार गर्ने अवसर दियो।’
महानगरले चिल्ड्रेन नेपालमा आश्रित सडक बालबालिकाको बस्ने खानेदेखि अनौपचारिक शिक्षाको समेत जिम्मा लियो। उनीहरू विस्तारै रमाउन थाले। पठनपाठनमा ध्यान दिन थाले। खानाका साथै लत्ता कपडाको प्रबन्ध पनि महानगरले नै मिलाइदियो।
छोरा हराएकी मायालाई भने यो सब थाहै थिएन। जति खोज्दा पनि उनले छोरा पाइनन्। त्यसपछि झिनो आशा लिएर उनी हेराउन गइन्। चामल र पैसा चढाएर हराएको छोरा कहाँ छ भनेर सोधिन्। ‘हेराउने’ व्यक्तिले विजयको ‘सास र हड्डी पनि फेला नपर्ने’ भनिदिए।
मायाको आँखाबाट आँसु थामिएन। हेराउने व्यक्तिले सहजै केही फेला नपर्ने बताइदिएपछि उनको मन झनै गह्रुँगो भयो। रूँदै खोज्न हिँडिन्। तै पनि फेला पारेनन्। जसै गरे पनि केही पत्ता नलागेपछि मायाले छोरा फेला पार्ने आश मार्दै गइन्।
माया नदीपुर क्षेत्रमा अर्काको लुगा धुने र भाँडा माझ्ने काम गर्छिन् भने उनका श्रीमान बाकस बनाउने काम गर्छन्। ‘हेराउने’ले सास र हड्डी समेत फेला नपर्ने बताएका विजय जब घर फर्किए, उनीहरूको आँखामा हर्षका आँसु छल्कियो। ‘छोरा अब आउँदैन होला भनेर हामीले त आश मारिसकेका थियौं’, मायाले भनिन्, ‘आज छोरा आयो, यहाँभन्दा खुसी कहिल्यै थिइनँ।’
लकडाउनका कारण परिवारसँग संवाद गर्न नसकेको चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष रामचन्द्र पौडेल बताउँछन्।
लकडाउन खुलेपछि बालबालिकालाई लिएर घर खोज्दै हिँडेर अहिले सबैको घर पत्ता लागेको उनले बताए।
उनका अनुसार चिल्ड्रेन नेपालमा आश्रित ८ जना बालबालिका दसैंको मुखमै परिवारसँग पुनर्स्थापित गरिएको छ।
सडकमा विभिन्न कारणवश पुगेका बालबालिकालाई पुनर्स्थापित गर्दा वडा अध्यक्षलाई साक्षी राखिएको छ।
बालबालिकाको परिवारलाई अब सडकमा जानुपर्ने अवस्था आउन नदिन अभिभावकलाई पनि परामर्श दिएको पौडेलले बताए।
पुनर्स्थापित गरिएका बालबालिका कास्की, तनहुँ, म्याग्दी र पर्वतका छन्। बुटबलका बच्चालाई दसैंपछि घरमै लगेर पुनर्स्थापित गर्ने पौडेलले बताए।
बालबालिका र तिनका अभिभावक पत्ता लागेपछि लगातारको परामर्शपछि मात्र बालबालिकालाई अभिभावकको जिम्मा लगाएको पौडेलले बताए।
‘हामी लामो समय अभिभावकसँग संवाद गरेर उहाँहरूले जिम्मेवारी लिन्छौं भनेपछि मात्र बालबालिकाको जिम्मा लगाएका छौं’, पौडेलले भने।
लकडाउनकै समयमा फेवातालबाट उद्धार गरिएका १३ वर्षीय अञ्जली परियार र र उनका ११ वर्षीय भाइ अभिषेकको पनि चिल्ड्रेन होमबाट परिवारमा पुनर्मिलन भएको छ।
उनीहरूलाई पोखराको फेवातालबाट महानगरको टोलीले उद्धार गरेको थियो।
‘हामी फेवातालमा पौडी खेलिरहेका थियौं, एक्कासि पुलिस आयो’, अञ्जलीले भनिन्, ‘हामीलाई पुलिसले गाडी चढाएर यहाँ ल्यायो।’
उनीहरू प्रारम्भिक कक्षा पढ्दा–पढ्दै छाडेका थिए। लकडाउनअघि उनीहरूले पढाइ छाडेर हिँडेको ४ महिना भएको थियो।
अञ्जली र अभिषेक दिनभर फेवाताल आसपास घुम्ने र साँझपख पोखरामै फुपूको घर जाने गर्दथे।
उनका बुवा काम गर्न भारत गएका छन्। आमाले भने अर्को विवाह गरेर गएको अञ्जलीले बताइन्।
लकडाउनका बेला सडकमै भेटिएकी १२ वर्षीया बालिका विनिता श्रेष्ठ पोखराको लभ्लीडाँडा निवासी हुन्।
साथीले लेकसाइड जाम भनेपछि उनी गएकी थिइन्। त्यही बेला प्रहरीले उद्धार गरेर चिल्ड्रेन होममा पुगेकी थिइन्।
साथीसँग लेकसाइड जाँदा–जाँदै उनले धुम्रपान सिकिन्। लकडाउन हुनुअघि उनले पढ्न छाडेको ३ महिना बितेको थियो।
उनका बुवा घरमै खाना पकाउने काम गर्छन्।
‘बाबाले अरु काम गर्न सक्नुहुन्न’, विनिताले भनिन्, ‘ममी अर्काको घरमा भाँडा धुन, कपडा धुन जानुहुन्छ त्यहीँबाट पैसा ल्याउनुहुन्छ।’
परिवारमा पुनर्स्थापित सबै बालबालिकाको पढाइ महानगरपालिकाले हेर्ने उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।
घर परिवारलाई राम्रोसँग हेरचाह गर्न आग्रह गरेको भन्दै उनले थपिन्, ‘अब उनीहरू सबै महानगरको रेखदेखमा हुन्छन्।’
चिल्ड्रेन होममा रहेकी अन्य बालबालिकालाई पनि सकेसम्म परिवारमै पुनर्स्थापना गर्ने उपमेयर गुरुङले बताइन्।
परिवार नै नभएको अवस्थाका बालबालिकालाई पनि होस्टलमा राखेर अध्ययन अघि बढाउन सहयोग गर्ने सोच रहेको उनको भनाइ छ।
चिल्ड्रेन नेपालका अध्यक्ष पौडेलले पनि अहिले बालबालिकाको आनीबानीमा धेरै सुधार आएको बताए।
‘धुम्रपान, मध्यपान लगायत कुलतमा लागेका बालबालिकाले त्यो लत छाडिसकेका छन्’, उनले भने, ‘अब धेरै सुधार आइसकेको छ, राम्रोसँग हेरचाह गर्नुहोला भनेर जिम्मा लगाएका छौं।’
उद्धार गरिएका सडक बालबालिकाको व्यवस्थापन र परामर्श सेवाको जिम्मेवारी लिएको चिल्ड्रेन नेपालले अन्य सडक बालबालिकाको पनि उद्धार गर्ने जनाएको छ।
अहिले रहेका बालबालिकामध्ये बाँकीलाई पनि परिवारसँग पुनर्स्थापित गर्ने र परिवार नै नरहेका बालबालिकालाई बालगृहमा राखेर अध्ययनमा लगाउने तयारी रहेको उनले बताए।