'म इस्लामावादबाट केटा बनेर गुजरात पुगेको छु। यो कुराको मलाई यति खुसी छ कि म बताउनै सक्दिनँ। मलाई सानैदेखि केटीका लुगा मनपर्थेन। मेरो काम र आनीबानी केटाहरूको जस्तो थियो। मेरा सात बहिनीहरू, दुई भाइ पाएर धेरै खुसी भएका छन्। मेरो भाइ पनि खुसी छ।'
यो भनाइ गुजरात, सोनबडीको दोश्रो वर्षमा अध्ययनरत छात्र वलिद आबिदको हो। केटी भएर जन्मेका उनले लिंग परिवर्तन गरेका हुन्।
लिंग परिवर्तन गर्नुअघि उनको नाम बुशरा आबिद थियो।
उनकी बहिनी वाफिया आबिदले पनि लिंग परिवर्तन गराएर मुराद बनेका छन्। मुराद अहिले ९ कक्षाका छात्र हुन्।
यी दुवै जना पन्जाबको एक जमिनदार परिवारका हुन्।
डाक्टरका लागि एउटा फरक केस
वलिद र मुरादका आमाबुवाको सन् १९९३ मा बिहे भएको थियो। बिहेपछि उनीहरूका एकपछि अर्को गर्दै ९ छोरी जन्मिए। दुई छोरीले लिंग परिवर्तन गरेपछि उनीहरूका अब सात छोरी र दुई छोरा भएका छन्। वलिद उनीहरूका पाँचौ सन्तान हुन् भने मुराद छैठौं।
यी दुवै बहिनीको इस्लामावादस्थित पाकिस्तान इन्स्टियुट अफ मेडिकल साइन्सेसको बालबालिका अस्पतालमा १२ जना डाक्टरको टोलीले लिंग परिवर्तन गरेको हो। यो शल्यक्रियाको नेतृत्व डा. अमजद चौधरीले गरेका थिए।
बिबिसीसँगको कुराकानीमा डा. चौधरीले आफूले यसअघि लिंग परिवर्तन शल्यक्रिया गरेको भए पनि आफ्ना लागि यो केस फरक रहेको बताएका छन्। वलिद र मुरादको दुई वर्षदेखि लिंग परिवर्तनको उपचार चलिरहेको थियो।
डा. चौधरीका अनुसार उनले कहिल्यै पनि साख्य दिदीबहिनीको शल्यक्रिया गरेर दाजुभाइ बनाएका थिएनन्।
'हामीले उनीहरूको भिन्दाभिन्दै शल्यक्रिया गर्यौं। वलिद आबिदको शल्यक्रिया २० सेप्टेम्बरमा भएको हो। त्यसपछि उनलाई अस्पतालको आसियुमा राखियो। जब शल्यक्रिया पूर्ण रूपमा सफल भएको निश्चित भयो, हामीले १० अक्टोबरमा मुरादको शल्यक्रिया गर्यौं,' डा. चौधरीले भनेका छन्।
उनका अनुसार कयौं चिकित्सक सहभागी भएको यो शल्यक्रिया ६ घण्टासम्म चलेको थियो। शल्यक्रिया सफल भएपछि दुवैलाई २१ अक्टोबरमा घर जाने अनुमति दिइएको थियो।
किन गर्नुपर्यो लिंग परिवर्तन?
एबटावादस्थित अयूब शिक्षण अस्पतालका डाक्टर जुनैदका अनुसार केही बच्चाको लैगिंकता जन्मको समयमा स्पष्ट हुँदैन। यो कारणले उनीहरूको प्रजनन् अंगले स्पष्ट आकार लिन सक्दैन। यस्ता बच्चामा दुवै किसिमको लैंगिक विशेषता हुन्छ र यस्तोमा उनीहरूलाई 'एटिपिकल जेनेटेलिया' नामक समस्या हुन सक्छ।
डा. चौधरीका अनुसार यो समस्या जन्मजात हुन्छ, जसका कारण विशिष्ट अंग र यौन विकासमा रोकावट हुन जान्छ। यो समस्या निकै कम मानिसलाई हुन्छ। ०.५ देखि ०.७ प्रतिशतलाई हुन सक्ने डा. चौधरी बताउँछन्।
'यो केसमा दुवै जना केटी नै थिए तर उनीहरूमा महिलामा हुने कुनै पनि विशेषता थिएनन्,' उनले भने।
उनका अनुसार उमेर पुग्दा पनि उनीहरूको महिनावारी सुरू भएको थिएन। त्यसपछि आमाले गुजरातमा उनीहरूको स्वास्थ्य जाँच गराइन्। त्यहीँबाट उनीहरूलाई पाकिस्तान इन्स्टियुट अफ मेडिकल साइन्सेस अस्पतालमा रिफर गरिएको थियो।
त्यहाँ गरिएको सुरूआती परीक्षणबाट उनीहरूलाई 'एटिपिकल जेनेटेलिया' भएको पत्ता लागेको थियो। यही कारण उनीहरूको लिंग परिवर्तन आवश्यक भयो। त्यसपछि शल्यक्रियाबाट उनीहरूका प्रजनन् अंगलाई सामान्य स्थितिमा ल्याइएको हो।
डा. चौधरीका अनुसार यस्तो शल्यक्रिया अगाडि र पछाडि उपचार आवश्यक पर्छ। शल्यक्रियाअघि महत्वपूर्ण मनोवैज्ञानिक परीक्षण तथा मनोपरामर्श गरिन्छ भने शल्यक्रियाको केही समयपछि औषधिहरूको प्रयोगबाट आवश्यक हर्मोनहरू सिर्जना र विकास गरिन्छ।
डा. चौधरीले यसअघि पनि कयौं मानिसको यस्तो किसिमको शल्यक्रिया गरिसकेका छन्। तीमध्ये थुप्रै मानिसले शल्यक्रियापछि राम्रो जीवन बिताइरहेको उनी बताउँछन्। शल्यक्रिया गर्ने-नगर्ने निर्णय भने पूर्णरूपमा बिरामी स्वयंको हुन्छ।
'यो केसमा पनि हामीले दुवै जनालाई निर्णय गर्ने पर्याप्त समय दिएका थियौं। हाम्रो उनीहरूसँग लगभग सबै विषयमा कुरा भएको थियो। हाम्रा मनोचिकित्सकले पनि उनीहरूसँग कुरा गरेका थिए,' उनले भने।
आमाबाबुहरूले आफ्ना बच्चाहरूको शारीरिक संरचना, प्रजनन् अंग र व्यवहार अलग भएमा तुरून्त चिकित्सकको परामर्श लिनुपर्छ। बेलैमा गरे यसको उपचार सम्भव भएको तर ढिलो भए पछि विभिन्न समस्या पैदा हुन सक्ने डा. चौधरीको भनाइ छ।