भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत् पाँच जना विद्यार्थी भागेर नेपाल-भारत सीमामा आइपुगेका छन्।
दसैं-तिहारमा एकेडेमीले बिदा नदिएपछि उनीहरू भागेर कञ्चनपुरको गड्डाचौकी नाका आइपुगेका हुन्।
बिहीबार मध्यान्ह १२ बजेतिर उनीहरू नाकामा आइपुगेको प्रहरीले जनाएको छ। पाँच जना विद्यार्थीमध्ये नेपालका २ र भारतका ३ जना रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
नेपाल घर भएका दुई जना विद्यार्थी मकवानपुरका १७ वर्षीय नवीन तामाङ र बागलुङका १८ वर्षीय भूमिराज घर्तीमगर छन्। उनीहरू सन् २०१६ देखि त्यहाँ पढ्न गएका थिए।
भारतको पश्चिम बंगालका १५ वर्षीय काङ्ग लामा, १८ वर्षीय मञ्जिल लामा र १९ वर्षीय सञ्जय लामा छन्।
भारतीय विद्यार्थीहरू छोटो पर्ने भन्दै यो बाटो भएर जान खोजेको हुनसक्ने प्रहरीको अनुमान छ।
‘दसैं-तिहारको लागि छुट्टी माग्दा नपाएपछि भागेर आएका भन्ने बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने।
अझै बढी सोधपुछ गरिरहेको उनले बताए। सोही एकेडेमीमा अध्यनरत् अरू केही नेपाली विद्यार्थीमाथि कुटपिट भएको विषयमा उनीहरूले जानकारी नभएको बताएका छन्।
‘सोधपुछ गर्दा आफूमाथि कुटपिट नभएको र अरूमाथि भए त्यसबारे थाहा नपाएको भन्दैछन्,’ डिएसपी थापाले भने।
उनीहरूको शरिर चोटपटक पनि नदेखिएको डिएसपी थापाले बताए। उनीहरू अहिले दशगजामै छन्। नेपाल घर भएका विद्यार्थीका अभिभावकसँग कुराकानी भइसकेकाले उनीहरूलाई अभिभावकको जिम्मामा घर पठाउने तयारी भएको डिएसपी थापाले सेतोपाटीलाई बताए।
‘उनीहरूका अभिभावकसँग कुरा भएको छ। गाडी खोजेर घर पठाउछौं,’ उनले भने।
भारतका तीन जनालाई सहयोगका लागि त्यहाँको सीमा सुरक्षा बुल (एसएसबी)सँग कुरा भएको उनले बताए। एसएसबीले उनीहरूलाई नाकाबाटै फिर्ता लैजाने बताएको छ।
यसैबीच नेपाली विद्यार्थीमाथि भएको कुटपिटबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले शाक्य एकेडेमीको प्रशासनसँग सोधपुछ गरेको छ।
‘त्यो एकेडेमीमा दुई सय जनाजति नेपाली पढ्दा रैछन्। तीमध्ये ५० जना जतिलाई कुटपिट भएको भन्ने छ,’ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले सेतोपाटीसँग भने,‘उनीहरूले गल्ती स्वीकारेका छन् र माफी माग्न तयार रहेको बताएका छन्।’
देहरादुनमै बस्ने दूतावासको सम्पर्कमा रहेका नेपालीलाई विद्यालय भेट्न पठाउन लागिएको ओडारीले बताए।
दशैं घर जान दिने विषयमा विद्यार्थीमाथि कुटपिट भएको बुझिएको उनले बताए।
अब विद्यार्थीका अभिभावकसँगको सल्लाहमा विद्यार्थीलाई त्यहाँबाट ल्याउने कि त्यहीँ राख्ने भन्ने तय हुने उनले बताए।
‘हामी हरेक विद्यार्थीका अभिभावकसँग उनीहरूका बच्चालाई नेपाल ल्याउने कि त्यहीँ समस्या समाधान गरेर राख्ने भन्नेबारे सम्पर्क गर्दैछौं,’ ओडारीले भने,‘उहाँहरूले लिखित रूपमा दूतावासमा जे चाहना व्यक्त गर्नुहुन्छ, त्यहीअनुसार उद्धार गर्नुपर्ने भए उद्धार गर्छौं त्यहीँ राख्नु पर्ने भए त्यहीँ राख्छौं।’
त्यसका लागि नेपालमा रहेका अभिभावकसँग सम्पर्क भइरहेको उनले जानकारी दिए।