भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कक्षा ६ मा पढिरहेका १७ वर्षीय भूमिराज घर्तीमगर भागेर बिहीबार नेपाल आइपुगेका छन्। उनी बागलुङ जिल्ला निसिखोला गाउँपालिका-५ निचीमा रहेको आफ्नो घर जान एकेडेमीबाट भागेर आएका हुन्।
काठमाडौंमा रहेकी दिदीलाई आफू आउन लागेको भन्दै उनले कञ्चनपुरको गड्डाचौकी नाका आएपछि फोन गरेका थिए।
बिहीबारको रात उनलाई महेन्द्रनगरस्थित अनमी भवनमा बनाएको होल्डिङ सेन्टरमा राखिएको छ।
सन् २०१५ मा उनी गाउँको स्कुलमा कक्षा ५ मा पढिरहेका थिए। भारतको एक स्कुलमा ‘लामा बन्नका लागि पढ्ने बच्चा
चाहिएको’ छ भन्ने खबर आयो। घरबाट आमाबुवाले ‘इच्छा भए जाऊ’ भनेपछि उनी खुसी हुँदै गएका थिए।
‘म ज्ञानेन्द्र माविमा ५ मा पढ्थें, भारतमा राम्रो हुन्छ भन्ने सुनेर खुसी भएर गएँ,’ उनले भने.
गाडीमा आफ्ना दाइसँग काठमाडौं र त्यहाँबाट लामा गुरुमार्फत् देहरादुन पुगेको उनले बताए।
देहरादुनको शाक्य एकेडेमीमा पुग्दा उनी कक्षामा ‘घटुवा’ भए। उनी अहिले बल्ल कक्षा २ मा पढ्न पाइरहेका थिए। ‘मेरो पढाइ हेरेर कम कक्षामा राखेको होला,’ उनले भने।
उनको बुझाइअनुसार ५-६ वर्ष राम्रै भयो। स्कुल राम्रो थियो, पढाइ पनि।
‘गाउँको स्कुलमा सामान्य पढाइ हुन्थ्यो, त्यहाँ उच्च गुणस्तरको पढाइ हुँदो रहेछ,’ उनले भने।
गाउँको स्कुलमा पढ्दा उनी घरको काम पनि गर्थे। गाउँमा सानोतिनो फटाइँ पनि गर्थे रे!
देहरादुनमा भने होस्टेलमा बसेर ‘अनुशासनमा’मा चल्नुपर्थ्यो। बिहान ५ बजे उठ्ने, आधा घण्टा ‘फ्रेस’ भएर ६ देखि ७ बजेसम्म बुद्धिष्टको विशेष कक्षामा सहभागी हुन्थे।
अनि ब्रेकफास्ट। ८ बजे लुगा फेरेर स्कुल जाने उनी साढे १ बजे कक्षा सकिएपछि लन्च खान्थे।
दुई घण्टा आराम गरेपछि ३-५ बजेसम्म खेलकुदमा सहभागी हुन्थे। अपराह्न ५ बजेपछि नुहाइधुवाइ गरेर ६ देखि ७ सम्म विशेष कक्षामा सहभागी हुन्थे। अनि खाना खान्थे।
राति ८ देखि ९ बजे होमवर्क गरेर सुत्ने तालिका उनको थियो।
उनीसँगै होस्टेलबाट भागेर आएका अर्का साथी नवीन तामाङ उनीसँगै पढ्थे।
उनीहरूको हरेक वर्ष एक महिनाको ‘समर होलिडे’ हुन्थ्यो।
यो वर्ष भने कोभिडका कारणले त्यो नभएको उनले बताए।
भूमिराज भारत गएको तीन वर्षपछि २०१८ को ‘समर होलिडे’मा उनी एक महिना नेपाल आउन पाएका थिए।
त्यसबाहेक अरु बेला परिवार भेट्न पाएका थिएनन्। टेलिफोनमा काठमाडौंमा रहेकी दिदीसँग तीन महिना त कहिले ५-६ महिनामा एक पटक फोनमा कुरा हुन्थ्यो।
‘वार्डेन दाइ नेपाली हुनुहन्छ। परिवारका कसैले फोन गरे उहाँले बोलाएपछि कुरा गर्न मिल्थ्यो,’ उनले भने।
घर (नेपाल)बाट फोन गरेपछि मात्र बोल्न पाइन्थ्यो। स्कुलबाट सिधै भने कुरा गर्न नमिल्ने उनले बताए।
यसै सिलसिलामा घरबाट फोन आउँदा एक महिनाअघि उनले ‘नेपाल आउन चाहन्छु’ भनेर उनले घरमा सुनाएका रहेछन्।
दिदीसँग भने बिहीबार पनि बोर्डर आइपुगेपछि फोन गरेका थिए। नाकामा ‘नेपाली हो’ भन्ने प्रमाणित गर्ने कागजपत्र चाहिएपछि जन्मदर्ता पठाइदिन दिदीलाई उनले फोन गरेका थिए।
डायरीमा लेखेर राखेको नम्बरमा प्रहरीले फोन गरिदिएर मेसेन्जरमा जन्मदर्ताको फोटो आएपछि बल्ल उनी बोर्डरवारि आउन पाए।
कोभिडका कारणले स्कुल पनि नचलेपछि होस्टेलको गेटबाट बाहिर पनि जान नपाएको उनले बताए।
‘पहिलेदेखि गेटबाहिर जान नपाएका हामीलाई बाहिर कस्तो छ थाहा थिएन,’ उनले भने।
शिक्षकहरूले बाहिर कोरोना ‘डेन्जर’ छ भनेको सुनेका थिए। लामो समय भएपछि स्कुलमा सबै साथीहरूले छुट्टी चाहिन्छ भन्ने आवाज उठाए।
समरमा बिदा मनाउन नपाएका उनीहरूमध्ये ४७ जनाले दसैं आएपछि ‘घर जान पाऊँ’ भनेर निवेदन लेखेका थिए।
तर, स्कुलले निवेदन स्वीकार गरेन।
‘साथीहरू धेरैलाई नेपाल आउन मन थियो तर पाएनौं। घर आउन नपाउँदा दु:ख लाग्यो,’ उनले भने, ‘अनि भाग्यौं।’
निवेदनका बारेमा स्कुलकी अर्की गुरुआमासँग पनि उनीहरूले कुरा राखेका रहेछन्। गुरुआमाले होस्टेलमा बोलाएर सम्झाइन्। अहिले समस्या भएकाले एक हप्तापछि घर जानेबारेमा कुरा गर्ने उनले भनेकी थिइन्।
निवेदन लेखेर पनि घर जान नपाएपछि उनीहरूले भाग्ने योजना बनाउन थाले। यो थाहा पाएपछि गुरु ज्ञाना बज्रा रिन्पोचेले केहीलाई पिटे।
‘६-७ जनाले पिटाइ पनि खाएपछि भाग्ने योजना बनायौं,’ उनले भने।
ज-जसले निवेदन दिएका थिए, घरजाने भनेकाले पिटाइ खाएका थिए। निवेदन दिएकामध्ये ३०-४० जना दसैंको केही दिनअगाडि होस्टेलबाट भागे। नजिकै वरपर गएर बसे।
‘न कपडा न केही, एउटा टिसर्टमा निस्केकाले फेरि फर्केर होस्टेलमै गयौं,’ उनले भने।
अहिले भागेकाहरू होस्टेलमै होलान् भन्ने उनलाई लागेको छ।
‘म त पहिलेदेखि नै घर आउन मन थियो। अरु दुई-तीन जनासँग फेरि भागेर आएँ,’ उनले भने।
बुधबार राति ९ बजेतिर होस्टलमा सुत्ने घण्टी बज्यो। गार्ड गेटमा थिए। उनको कोठामा तीन जना सुत्छन्। अरुलाई थाहै नदिएर उनी निस्के।
‘मैले पहिले नै योजना बनाएकाले सामान प्याक गरेर राखेको थिएँ,’ उनले भने, ‘अरु केही साथीहरूले पनि एकै समयमा भाग्ने सल्लाह गरेका थिए।’
होस्टेलको पर्खाल नाघेर उनी बाहिर सडकमा पुगे। त्यहाँ अरु चार जना पनि ट्याक्सीनेर पुगेका थिए।
भाग्ने योजना बनाएर उनीहरूले एक दिनअगाडि नै ट्याक्सी बुक गरेका थिए। ‘अरू साथीहरूसँग १०–२० गर्दै जम्मा गरें अनि गाउँको एक जनाले दुई सय दिएपछि दुई हजार रुपैयाँ भएको थियो,’ उनले भने।
सात हजार रुपैयाँ ट्याक्सीले लग्यो। अरु साथीहरूले पनि आफूसँग भएको खर्च गरे। बिहीबार बिहान ११ बजे गड्डाचौकी गेट पुगेका उनीहरू भोकै थिए।
‘नाकामा चेक गर्ने प्रहरीले चाउचाउ पकाएर दिए,’ उनले भने।
बिहीबार बसेको ठाउँमा भने उनीहरूलाई खाने र बस्ने व्यवस्था मिलाइएको थियो।
उनले अब फेरि देहरादुन नजाने बताए।
‘दिदीलाई काठमाडौं पढ्छु भनेको छु, भागेर आएपछि फेरि देहरादुन जादिनँ,’ उनले भने।
भूमिराजसँगै भारतको पश्चिम बंगालका १५ वर्षीय काङ्ग लामा, १८ वर्षीय मञ्जिल लामा र १९ वर्षीय सञ्जय लामा पनि नेपाल आएका थिए।
‘ती साथीहरू महेन्द्रनगर पुगेपछि यताबाट भाडा कम लाग्ने र नजिक पर्छ भनेर आएका हुन्,’ उनले भने।
सँगै आएका मकवानपुरका मोरङ्गेका नवीन तामाङ पनि फेरि देहरादुन नफर्कने बताउँछन्।
‘भारतबाट लामा बन्नेहरू आइज भनेर खबर आएर गएको, अब गाउँमा सामान्य अरुजस्तै पढ्ने,’ तामाङले भने।
आफन्तसँग कुरा भएपछि शुक्रबार गाडीमा उनीहरूलाई आ-आफ्नो गन्तव्य पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
देहरादुनबाट अझै अरु नेपाली विद्यार्थी घरपरिवारलाई भेट्न आउन चाहेको थापाले बताए। केहीले डिसेम्बरमा आउने योजना बनाएको थापाले बताए।