स्याङ्जामा फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाइएको छ।
राष्ट्रपति माक्रोंले दिएको मुस्लिमविरोधी अभिव्यक्तिको विरोधमा स्याङ्जाका मुस्लिम समुदायले पनि विरोध जनाएका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित अहले सुन्नत बलजमात नुमरा जामाँ मस्जिदले गत मंगलबार माक्रोको तस्बिर जलाएका हुन्।
मस्जिदबाट निस्केको र्याली बाडखोला चोकमा पुगेर कोण सभा गरेको मस्जिदका सचिव हाजी साह मोहम्मदले जनाए। कोणसभा पछि माक्रोंको तस्बिर जलाएको उनले बताए।
‘विश्वभरका मुस्लिम समुदायले आस्थामाथि प्रहार गरेकाले यसैको विरोधमा हामीले माक्रोंको तस्बिर जलायौं,’ मोहम्मदले सेतोपाटीसँग भने।
विरोधका अन्य कार्यक्रमका बारेमा बैठक बसेर निर्णय गर्ने उनले बताए।
बाडखोला मुस्लिम समाजका सचिव समेत रहेका मोहम्मदले आज भने उनै पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेको बताए।
‘आज उहाँको १४९५ औं जन्मजयन्ती हो, हामी मनाउने तयारी गर्दैछौं’, उनले भने, ‘उहाँका राम्रा कुराहरू सम्झने र प्रसाद ग्रहण गर्छौं।’
मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीले कुनै पनि राष्ट्रको विषयमा विरोध प्रदर्शन कार्यक्रम गर्ने नीति नभएको बताए।
उनले स्याङ्जाको घटनाबारे बुझ्ने बताए।
‘अरूको देशको आन्तरिक मामिलामा विरोध गर्ने हाम्रो नीति हैन, छैन, कसैले गरेको भए त्यो गलत हो, म बुझ्छु,’ उनले भने।
१६ अक्टोबरमा विद्यार्थीहरूलाई मोहम्मदको कार्टुन देखाएर पढाउने शिक्षक स्यामुअल प्याटीको हत्या भएको थियो। उनको पनि चक्कुले घाँटी छिनालिएको थियो।
सो घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले त्यस्ता कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रता भएको बताएका थिए।
माक्रोंको अभिव्यक्तिले मुस्लिम राष्ट्रहरू आक्रोशित भएका थिए। कतिपय देशमा राष्ट्रपति माक्रोंविरूद्ध प्रदर्शन भएको थियो। त्यस्तै फ्रेन्च सामानहरू बहिस्कार समेत गर्न थालिएको थियो।
बिहीबार फ्रान्सको नोट्रेडाम चर्चमा आतंकवादीले तीन जनाको हत्या गरेका थिए।
नाइस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार हमला गर्ने व्यक्तिले आक्रमण गर्दा 'अल्लाहु अक्बर' वाक्यांश प्रयोग गरेका थिए। पक्राउ परिसकेपछि पनि उनले सो वाक्यांश दोहोर्याइरहेका थिए।
घटनापछि राष्ट्रपति माक्रोंले आतंकवादीसामू आफू नझुक्ने प्रतिक्रिया दिएका छन्।