काठमाडौंको पद्मकन्या क्याम्पस पढाउँदै आएकी सविता विमलीले एक वर्षदेखि पारिश्रमिक पाएकी छैनन्।
स्नातकोत्तरमा नेपाली विषय पढाउँदै आएकी उनले गत वर्ष कात्तिकदेखि पारिश्रमिक नपाएकी हुन्। उनले पद्मकन्यामा पढाउन थालेको १२ वर्ष हुँदैछ।
उनीजस्तै त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसका आंशिक लेक्चररहरूले लामो समयदेखि पारिश्रमिक पाएका छैनन्।
दुई हजारभन्दा बढी संख्यामा रहेका आंशिक लेक्चररले लकडाउनपछि त सुको पैसा नपाएको गुनासो गरेका छन्।
पढाएको दिनको पारिश्रमिक पाउने उनीहरूलाई लकडाउनदेखि यताका दिन अनलाइनबाट पढाए पनि ज्याला दिइएको छैन।
‘एक वर्षदेखि पारिश्रमिक पाएको छैन। दसैं मनाइनँ, तिहार मनाउन दिन्छ कि दिँदैन थाहा छैन,’ विमलीले सेतोपाटीसँग भनिन्, ‘लकडाउनका बेला र अहिले पनि घरमै बसेर पढाइरहेका छौं।’
गत वैशाखदेखि नै आंशिक लेक्चररलाई राहत दिन माग गरे पनि विश्वविद्यालयले गुनासो सम्बोधन नगरेको उनले बताइन्।
‘खाइपाइ आएको पैसा राहतस्वरूप सरकारले दिओस् भनेको दिएनन्,’ उनले भनिन्, ‘उपत्यकाभित्रका क्याम्पसहरू राहत दिन सक्षम नै छन्। तै पनि दिएनन्। नसक्ने क्याम्पसलाई विश्वविद्यालयले नै पैसा पठाओस् भनेका पनि हौं, तर मानेनन्।’
ठमेलको सरस्वती क्याम्पस पढाउँदै आएका नारायण कोइरालाले गत चैतयता पढाएको पारिश्रमिक अझै पाएका छैनन्।
‘लकडाउनपछि अनलाइनबाट पढाइयो। कोर्स पूरा भइसकेको छ। तर पैसा पाएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘क्याम्पस प्रमुखले पैसा देऊ भन्नु हुन्छ। तर लेखा र प्रशासनले पढाएको रेकर्ड खोज्छन्। पढाएको सबै कक्षाको फोटोलगायत रेकर्ड हामीले पनि खिचेर राखिएन।’
त्रिविले अनलाइन पठनपाठनका लागि निर्देशिका जारी गर्नुपहिले नै क्याम्पसले आफूहरूलाई कक्षा लिन लगाएकोले रेकर्ड नराखिएको उनको भनाइ छ।
‘पढाएर कोर्स सकियो। पछिमात्रै निर्देशिका आयो,’ उनले भने, ‘अनलाइन क्लास पढाएको पैसा दिने तर रेकर्ड चाहियो भन्छन्। स्नातक पहिलो वर्ष पढाएको त रेकर्ड आएको छ। दोस्रो र तेस्रो वर्ष व्यक्तिगत आइडीबाट पढाएकोले रेकर्ड छैन। त्यतिखेर त्रिविले आइडी पनि दिएको थिएन।’
आंशिक लेक्चररहरूले पढाएको बेलाको पनि पारिश्रमिक नपाएको र आफूहरूलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग अगाडि सारेर आन्दोलन पनि गरेका छन्।
‘हाम्रा समस्या र मागबारे दुबै सदन र समितिहरूमा पनि कुरा उठेको हो। छलफल भएको हो। शिक्षा मन्त्रीसँग पनि यसबारे कुरा भएको थियो। उहाँले समस्या बुझेको बताउनु भएकै हो,’ विमली भन्छिन्, ‘त्रिविले आफूलाई स्वायत्त निकाय हुँ भन्छ। दसौं पटक मन्त्री र प्रधानमन्त्रीसँग भेट गर्ने त्रिवि पदाधिकारीले आंशिकहरूले उठाएका माग समाधानलाई पहल किन गरेनन्?’
त्रिविले स्नातक तहमा पढाउनेलाई तीन सय ६० रुपैयाँका दरले एक पिरियडको पैसा दिने गर्छ। सेमेस्टर प्रणालीमा स्नातकोत्तर पढाउनेलाई छ महिनाको ४५ हजार रूपैयाँ दिने गर्छ।
आफूहरूको माग पूरा नभए अब परीक्षा सञ्चालन गर्न जनशक्तिको अभाव हुने पनि विमलीले बताइन्।
वार्ता गर्न समिति गठन
आन्दोलनरत आंशिक लेक्चररहरूले त्रिविसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन गरेका छन्।
दसैं-तिहारका लागि आन्दोलन रोकेका उनीहरूले त्रिविले वार्ता गर्ने बताएपछि आफ्नातर्फबाट समिति गठन गरेका हुन्।
आन्दोलनरत आंशिक प्राध्यापक संघका अध्यक्ष चन्द्रबन्दना राई, सहअध्यक्ष नारायण कोइराला, राजन ढुंगाना, मोहन घिमिरे र हरिकृष्ण राई रहेको वार्ता समिति गठन गरिएको हो।
त्रिविका तर्फबाट भने अहिलेसम्म वार्ता समिति गठन भएको छैन।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र नेपाल प्राध्यापक संघलाई रोहवरमा राखेर त्रिविसँग वार्ता गरी समस्या समाधान गरिने कोइरालाले बताए।
त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले अनलाइन कक्षा लिनेलाई पारिश्रमिक दिन त्रिविले नरोकेको बताए।
‘अनलाइन कक्षा लिएको छ भने क्याम्पसलाई भन्ने पारिश्रमिक लिने हो,’ उनले भने, ‘पढाएबापत् पारिश्रमिक दिनू भनेर त्रिविले क्याम्पसहरूलाई भनिसकेको छ।’
पारिश्रमिक दिन क्याम्पसहरूलाई आर्थिक अभाव नभएको पनि उनले बताए। आंशिकलाई अहिले नै विश्वविद्यालयले करार गर्न नसक्ने उनको भनाइ छ।