शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए।
उनको छातीको बीच भागमा छुराले घोपिएको थियो। त्यसपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि आशिषलाई साथीहरूले चिरायु अस्पताल लगे। तर उनी बाँचेनन्।
हत्याको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको छ। यसमा र महानगरीय प्रहरी वृत्त, महाराजगन्जले पनि अनुसन्धान गरिरहेको छ।
अहिलेसम्म प्रहरीले यस घटनामा संलग्न मुख्य आरोपी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरू सोही ठाउँका दिवस अधिकारी र रवि थापा मगर छन्।
त्यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीका अनुसार आशिषका साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
'हामीले अहिले जम्मा ६ जनालाई नियन्त्रणमा लिएका छौं। जम्मा दुई पक्षका आठ जना थिए,' उनले भने, 'अब छुरा घोप्नेमध्येका दुई जना पक्राउ पर्न बाँकी छन्। पहिचान भइसकेको छ।'
मृतक आशिष मगर पेन्टिङको काम गर्थे। उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे।
एसएसपी ज्ञवालीका अनुसार घटना भएको ठाउँमा प्रहरी खासै पुग्दैन थियो। उनीहरू दुवैको समूह त्यस ठाउँमा लागुऔषध प्रयोग गर्थे।
'पहिले केही मान्छे भेला भए। त्यसरी नै पछि त्यहाँ अरू पनि भेला भएर झडप भयो,' उनले भने, 'पछि लखेट्दा कसैले त्रिशूलले घोपेको भनेका छन् भने कसैले छुरा घोपेको भनेका छन्।'
यस घटनामा संलग्न अन्य दुई जना पनि पक्राउ परेपछि मात्रै सबै कुरा बाहिरिने उनले बताए।
त्यस्तै घटनामा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनीहरूबीच 'ग्याङ फाइट' भएको थियो। केही दिनअघि उनीहरूबीच केटीको विषयमा झडप भएको पनि उनले बताए।
'केही दिनअघि उनीहरूबीच केटीको विषयमा झगडा भएको रहेछ। उनीहरू सबै लागुऔषध प्रयोग गर्नेहरू नै हुन्,' ती प्रहरी अधिकृतले भने, 'त्यसै विषयमा उनीहरूबीच सानोतिनो झगडा हुँदै आज बोलाएरै ग्याङ-ग्याङबीच झगडा भएको हो।'
झडप भएपछि कसैले छुरा निकालेर आशिषलाई हानेको उनले बताए।
'यो घटना योजनाबद्ध नै भएको जस्तो देखिएको छ,' उनले भने।
अहिले यस घटनामाथि प्रहरीले अनुसन्धान र अन्य दुई जनाको खोजी गरिरहेको छ।