कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा केहि सुधार देखिएको छ।
‘आज उहाँको स्वास्थ्य सुधारोन्मुख छ,’ ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले सेतोपाटीसँग भने, ‘भेन्टिलेटरबाट ४० प्रतिशत अक्सिजन दिँदा ९६ प्रतिशत मेनटेन भएको छ।’
कोरोना र निमोनियाको समस्या देखिएपछि विश्वकर्मालाई कात्तिक १२ गतेदेखि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार अपरान्ह उनलाई भेन्टिलेटरमा सारिएको हो।
विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ।
आइतबार कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।
‘यहाँ उपचार सम्भव नहुनेजस्तो देखियो भने तत्काल एयर एम्बुलेन्सबाट विदेशमा लगेर भने पनि उहाँको उपचार गर्नुपर्छ,’ नेता श्रेष्ठले सेतोपाटीसँग भने, ‘मसँगको कुराकानीमा डाक्टरहरूले मिल्छ भने दिल्ली लगे पनि हुन्छ भनेका छन्।’
आफूले यसबारे मन्त्री ढकाललाई पनि जानकारी गराएको श्रेष्ठले बताए।
यस्तै श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि विश्वकर्माको उपचारमा सहयोग तथा पहल गर्न आग्रह गरेका छन्।
‘सभापति देउवालाई पनि उहाँको उपचारमा सहयोगका लागि प्रधानमन्त्रीसँग कुरा गर्न भनेको छु,’ श्रेष्ठले भने।
उनले नेपालमा उपचार सम्भव नहुने देखियो भने विदेशमा लगेर भए पनि नेता विश्वकर्माको उपचार गर्नुपर्ने बताए।
‘कथमकदाचित यहाँ उपचार सम्भव नहुने भयो भने एयर एम्बुलेन्सबाट दिल्ली लगेर त्यहाँ उपचार सम्भव छ भने गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ श्रेष्ठले भने।
तर ग्राण्डीका निर्देशक डाक्टर पाण्डेले विश्वकर्माको अवस्था सुधारोन्मुख रहेको बताए।
आफूहरूले विश्वकर्माको स्वास्थयमा सुधार ल्याउन मेहनत गरिरहेकोले यहिँ उपचार सफल हुने विश्वास गर्न उनले आग्रह गरे।
यसअघि विश्वकर्माको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री ढकाललाई टेलिफोन गरी उपचारमा गम्भीर बन्न र आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।
विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना पुष्टि भएको थियो।
केहि दिन होम आइसोलेसन र तीन दिन वीर अस्पतालमा उपचार गरेपछि पछिल्लो चार दिनदेखि विश्वकर्माको उपचार ग्राण्डीमा भइरहेको छ।
विश्वकर्मा पूर्व वाणिज्य मन्त्री, दलित संघका केन्द्रीय अध्यक्ष र प्रतिनिधिसभा सांसद हुन्।