दसैंअघि कैलालीको गोदावरी नगरपालिका- १२ ओलानीकी जुनकिरी महिनावारी भएकी रहिछन्।
बिहान साढे आठ बजे हामी उनको घरमा पुग्दा आमाले भनिन् - गड्बड्या खोला गएकी छ।
बस्ती मै छ त धारा!
'त्यसमा त खानेपानी पनि कहिले कहिलेमात्र झर्छ,' जुनकिरीकी आमाले भनिन्,'पानीको दु:ख छ। महिनावारी भएकी छोरीलाई सफा हुन खोला पठाउनुपर्छ।'
बिहानै उठेर आफ्ना लत्ताकपडाको भारी टाउकोमा बोकेर जुनकिरी खोला निस्किएको कुरा आमाले बताएपछि म खोलैतिर गएँ।
गड्बड्या खोला पुग्न एक घण्टा हिँड्नुपर्ने।
त्यो दिन जुनकिरी महिनावारी भएको चार दिन पुगेको रहेछ। उनी बस्तीका अरू साथीहरूसहित खोला गएकी थिइन्।
यसपालिमात्रै होइन हरेक पटक महिनावारी हुँदा जुनकिरी र उनका साथीहरूको दैनिकी यसरी नै सुरू हुन्छ।
‘हाम्रोमा पानी छैन त्यसैले नुहाउन यत्रो बाटो हिँडेर आएका छौं,' जुनकिरीले भनिन्।
हुन त उनको गाउँघरमा धारा त धेरैका घरमा बनाइएका छन्। त्यसबाट आउने पानी बल्लतल्ल खानलाई पुग्छ, नुहाउन र कपडा धुन पुग्दैन।
जुनकिरीसँगै खोला गएकी अनिता विकले महिनावारीका बेला सरसफाइ गर्न पानी नभएकाले समस्या हुने गरेको बताइन्।
'गाउँका अरू महिलाहरू पनि नुहाउन र लुगा धुन त्यहीँ पुग्छन्। हामीलाई सफा बस्नै मुश्किल छ,' उनले भनिन्।
घरबाट खोलासम्म पुग्न बाटोभरि जंगल पर्ने रहेछ। खोलामा पनि महिला नुहाउने ठाउँ तल छ भने केटाहरू भने अल्लि माथिको तालमा जान्छन्।
‘बाटोमा जंगल छ, डर लाग्छ, एक्लै आउन मिल्दैन, कहिलेकाहीँ स्याल आउँछन्,' अनिताले भनिन्।
जंगलको बाटो छोरीहरूलाई एक्लै पठाउन आमा–बुबाले मान्दैनन्। त्यसैले साथीहरूसँग मिलेर खोला धाउनुपर्छ। गाउँमा आफूमात्र महिनावारी भएको छ भने किशोरी र महिलाले अरू साथी खोज्नुपर्छ।
जुनकिरीलाई यसरी खोलामा नुहाउन आउन निकै डर लाग्छ रे।
'जंगली जनावरको मात्रै होइन नराम्रा मान्छे पनि हुन्छन् कि भन्ने डर हुन्छ नि। हामी त निकै असुरक्षित र दु:खमा छौं,' उनले भनिन्।
महिनावारी हुँदामात्रै होइन अघिपछि पनि बस्तीका महिलाहरू टाउकोमा कपडाका भारी बोकेर खोलामा जान्छन्। धोएका चिसा कपडा बोकेर गाउँमै फर्किन्छन्। थोरै भए उतै सुकाएर पनि ल्याउँछन्।
स्थानीय धना विकले पनि वर्षौंदेखि आफूलाई पानीको समस्याले सरसफाइ गर्न गाह्रो भएको बताइन्।
एक घण्टा जति टाढाको खोलामा नुहाउन र लुगा धुन जानुपर्ने र दिनदिनै जान सम्भव नहुने उनको भनाइ छ।
‘खानलाई हम्मे पर्ने धारामा नुहाउन धुन त सोच्नै परेन। एक घण्टा हिँडेर खोला गयो। त्यहीँ पनि ठूलो भीड हुन्छ,' उनले भनिन्, 'पानी नहुँदा सफा हुने कसरी?'
खोलामा पनि पानी थोरै छ। मान्छे बढी पानी कम भएका कारण त्यहाँ पनि समस्या हुन्छ।
‘हिउँदमा त खोलाको पानी सुक्छ। खोलामा पनि पानी सुकेपछि नुहाउन, लुगाधुन कहाँ जाने?' अनिताले भनिन्।
सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा सर्वसाधारणलाई खानेपानी कै पनि कहर भएको स्थानीय बताउँछन्।
धनाका अनुसार गाउँको धारामा त खानेपानी भर्नलाई पनि लाइन लाग्नुपर्छ।
‘धाराको पानीले खान पनि कहिले पुग्छ, कहिले पुग्दैन,’ धनाले भनिन्।
ओलानीका स्थानीय टीकाराम कामीले घरमा खानेपानी नभएपछि मागेर काम चलाएको बताए।
गाउँका एक जनाले खर्च गरी बनाएको धाराबाट खानेपानीका लागि जर्किन र बोतलहरूमा पानी ल्याएर खान्छन्।
सबैसँगै त्यसरी धारा बनाउन सक्ने पैसा नभएको टीकारामले बताए।
बस्तीमा खानेपानीका लागि धारा छ। धाराको पानी खान पुग्दैन।
स्थानीय समूहले गत वर्ष धेरै पानी दिने भनेर तीन/तीन हजार रुपैयाँ मागेका थिए। अहिलेसम्म त्यसबाट उनलाई फाइदा भएको छैन।
‘बस्तीमा पानी छैन, पानी नभई पनि नहुने, बोकेरै खानुपरेको छ’ उनले भने, 'तीन हजार दिए पनि त्यसबाट फाइदा भएन।'
अघिल्लो वर्षसम्म त यहाँ खानेपानीका लागि धारा नै थिएन, त्यतिबेला यहाँका स्थानीय खानलाई ट्यांकरको पानी काम चलाउँथे।
गत वर्ष प्रत्येक घरबाट ३ हजार रुपैयाँ उठाएपछि वडाका २५ घरमा धारा जडान भएका थिए।
तर, ती जडान गरेका कतिपय धारामा पानी आउँदैन, आए पनि निकै कम पानी आउने गरेको स्थानीय चक्र विकले बताए।
सुदूरपश्चिमको सरकारले राजधानी घोषित गरेको ठाउँमा पनि खानेपानी नहुनु दु:ख कुरो भएको उनको भनाइ छ।
वडा अध्यक्ष भीमबहादुर खड्काले बोरिङ निकालेर २५ घरलाई सानो ट्युबेल हालेर खानेपानी पुर्याएको दाबी गरे।
‘गत वर्ष ४ वटा बोरिङ निकालेर वडाका आधा घरधुरीलाई पानी वितरण गरेका हौं। चालू आर्थिक वर्षमा पनि ६ वटा बोरिङ निकाल्नेर खानेपानी विस्तार गर्दैछौं,’ उनले भने।
अहिले खानेपानीका लागि विस्तार हुँदैछ प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उनले बताए।
वडाध्यक्ष खड्काले आफ्नो कार्यकालभित्र वडाका सबै घरमा खानेपानी पुर्याएर जनतालाई समस्याबाट मुक्त गराउने दाबी गरे।