आइसियू र भेन्टिलेटर चाहिने कोरोना संक्रमितका लागि अस्पतालहरूमा बेड अभावको समस्या कायमै छ।
काठमाडौं उपत्यकाकै अधिकांश अस्पतालहरूमा गम्भीर अवस्थाका संक्रमितका लागि आइसियू र भेन्टिलेटर खाली छैनन्।
ललितपुरस्थित पाटन अस्पतालमा रहेको २७ बेडको आइसियू र २० वटा भेन्टिलेटर संक्रमितले भरिएका छन्।
अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार आइसियू र भेन्टिलेटर चाहिने नयाँ बिरामीका लागि अस्पतालमा ठाउँ छैन।
उनले आइसियू र भेन्टिलेटरको अभाव यथावत् रहेको जनाए।
निर्देशक पाण्डेले अस्पतालमा कोरोना संक्रमितका लागि थप ४५ वटा बेड खाली रहे पनि त्यसमा मध्यम लक्षण भएका संक्रमितहरूलाई मात्र भर्ना गर्न सकिने बताए।
‘मध्यम लक्षण भएका संक्रमितहरूका लागि समस्या छैन तर हाइ-अक्सिजन र भेन्टिलेटर चाहिने संक्रमितहरूको लागि भने ठाउँ छैन,’ उनले भने।
भर्खरै मात्र अस्पतालले संक्रमितको उपचारका लागि ५० वटा बेड विस्तार गरे पनि त्यसमा आइसियू र भेन्टिलेटर थप गरिएको छैन।
यसअघि १ सय ५० बेड क्षमता रहेकोमा थप ५० वटा बेड विस्तार गरिएको शाक्यले जनाए।
उनले बेड विस्तार गरिएसँगै मध्यम लक्षण भएका संक्रमितहरूको लागि भने समस्या नरहेको जनाए।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पनि मध्यम लक्षण भएका संक्रमितका लागि मात्र बेड उपलब्ध छ। अस्पताल कोभिड टिमका सदस्य डा. सविन थपलियाले अस्पतालमा रहेको २० वटा आइसियू बेड नै संक्रमितले भरिएको जनाए।
‘५ वटा बच्चाको लागि सहित जम्मा २० वटा आइसियू बेड छ, तर बिहान एउटा आइसियू मात्र खाली थियो,’ उनले भने।
कुल १ सय ४० बेड क्षमताको उक्त अस्पतालमा अहिले १ सय ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा १९ जना संक्रमित आइसियूमा उपचाररत छन्।
डा. थपलियाले अहिले अस्पतालमा मध्यम लक्षण भएका संक्रमितहरूका लागि मात्र बेड खाली रहेको जनाए।
अस्पतालले मध्यम लक्षण भएका संक्रमितको उपचारका लागि भनेर ९० वटा बेड छुट्याएको छ।
अस्पतालहरूमा आइसियू र भेन्टिलेटर बेडको अभाव यथावत रहेका बेला जनरल बेडहरू भने खाली हुन थालेका छन्।
पाटन अस्पतालमा मात्र ४० वटा भन्दा बढी जनरल बेड खाली छन्। टिचिङ अस्पतालमा पनि ८ वटा जनरल बेड खाली रहेको अस्पतालले जनाएको छ।
पछिल्लो समय संक्रमितको संख्या बढे पनि अधिकांश संक्रमितहरू होम आइसोलेसनमा बस्न थालेकाले अस्पतालहरूमा जनरल बेड खाली हुन थालेको हो।
डा. थपलियाले भने, ‘पहिले सबै संक्रमितहरू अस्पताल नै बसिदिऊन् भन्ने मानसिकता थियो तर अहिले सबैलाई संक्रमण देखिएर होला घरमै बस्न पनि सहज छ। त्यसैले मध्यम लक्षण भएकाहरू थोरै मात्र आउनुहुन्छ।’
साथै सरकारले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेपछि पनि मध्यम लक्षण भएका संक्रमितहरू अस्पताल भर्ना हुने क्रम घटेको हो। यसअघि सरकारले सबै संक्रमितको उपचार नि:शुल्क गरेको थियो।
जसले गर्दा अस्पतालहरूको सबै बेड भरिएका थिए। उपत्यकाकै अस्पतालहरूलाई नयाँ संक्रमितहरू भर्ना गर्न हम्मेहम्मे परेको थियो।
तर सरकारले संक्रमितको उपचार शुल्क लाग्ने जनाएपछि धेरैजसो मध्यम लक्षण भएका संक्रमितहरू घरमै बस्ने गरेका छन्।
अहिले आइसियू र भेन्टिलेटर चाहिने र अकस्मात समस्या आइपरेको अवस्थामा मात्र संक्रमितहरू अस्पताल गइरहेका छन्।
अस्पतालहरूले आइसियू बेड अभाव रहेको जनाइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आइसियू बेड अभाव नरहेको बताउँदै आएको छ।
गत कात्तिक ४ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नियमित प्रेस ब्रिफिङमा देशभर २६ सय आइसियू तयारी अवस्थामा रहेको भन्दै समस्या आउन नदिने दाबी गरेका थिए।
तर एक महिना नहुँदै उपत्यकाकै सरकारी अस्पतालहरूले संक्रमितलाई भर्ना गर्न आइसियू बेड नभएको बताएका छन्।
मन्त्री ढकालले देशभर ३ हजार पाँच सय वटा अक्सिजन र मोनिटर सहितको ‘हाइ डिपेन्डेन्सी युनिट’ तयार गर्ने क्रम तीव्र गतिमा अघि बढेको भन्दै यसले सिकिस्त संक्रमितको उपचारलाई सहज बनाउने बताएका थिए।
मन्त्री ढकालले उपकरणको अभाव नरहेको दाबी गरे पनि अहिले अधिकांश अस्पतालहरूमा आइसियू र भेन्टिलेटर बेड भरिएका छन्।
अस्पतालहरूले नै संक्रमितहरूबाट आइसियू बेडका लागि तारन्तर फोन आइरहने भए पनि भर्ना गर्न नसकिएको जनाएका छन्।