दोस्रो विश्वयुद्धमा कति मान्छे मरे, यकिन हिसाब छैन। त्यो युद्ध प्रत्यक्ष देख्ने, भोग्ने र लड्नेहरू संसारमा कति बाँकी छन्, यो पनि थाहा छैन। यो युद्धका कति सम्झना कोसँग ताजा होलान्, यसमा पनि हामी अनभिज्ञ छौं।
तर एक जना यस्ता छन् जसलाई सात दशकअघिको त्यो युद्ध आज पनि याद छ।
उनी हुन् १०१ वर्षीय बुद्धिमान जोशी। त्यही युद्धमा घाइते भएका बुद्धिमानका आँखामा अझै त्यो लडाइँ भूमिका दृश्य घुम्छन्। त्यो मैदान जहाँ उनका सहयोद्धाहरूको शवका खलियो थियो।
'गोलीको वर्षा भएको थियो त्यो युद्धमा,' त्यो वर्षाको ढिका उनको अनुहारमा पनि पर्यो। गोलीले चिउँडोको एक छेउ खुम्च्याइदिएको छ। शरीरका अरू ठाउँमा पनि गोलीका खाटा छँदै छन्।
अहिले उनको चिउँडोमा नरम मासु झुण्डिएको छ। चिउँडो भर्दा जोडिएको मासु हो यो। उनी राम्ररी सुन्न सक्दैनन्। अलि चर्को बोल्नुपर्छ। उनको आवाज पनि चर्कै छ।
लमजुङको मध्यनेपाल–४, दुईपिप्लेका बुद्धिमानले पहिले लाहुरे बन्ने सपना देखेकै थिएनन्। उनको नाम बुद्धिमान जोशी। जोशी थर भएपछि लाहुरे हुनै पाइन्थेन।
जब उनी १८ वर्षका भए, तब उनको थर र पहिचान दुवैले नयाँ नाम पायो।
त्यतिबेला लमजुङको समिभञ्ज्याङस्थित पुरानो हट्टियामा बस्ने बुद्धिमान बेंसी चर्दीमा रहेको गोठमा थिए। दिनभर भैंसी चराएर घाँस काटेर गाउँ फर्किँदै गर्दा बाटैमा भेटिए साथी नन्दलाल श्रेष्ठ।
त्यसो त उनीहरूको दिनहुँ भेट हुन्थ्यो। तर त्यो भेट विशेष थियो, जसले बुद्धिमानलाई विश्वयुद्धको भूमरीमा प्रवेश गराइदियो।
भेट्नेबित्तिकै नन्दलालले भनेछन्, 'जाम लाहुरे बन्न।'
बुद्धिमानलाई भेट्नुअघि नै नन्दलालले सेनामा भर्ती गर्ने युवाहरूको समूह 'गल्ला' भेटिसकेका रहेछन्। बुद्धिमानले जोसैजोसमा तुरुन्तै स्वीकारे। उनीहरू घर गए, खाना खाएर त्यही रात भाग्ने योजना बनाए। रातारात लमजुङ काटे। बाटोमा चिनजानका अरू दस जना साथी पनि भेटिए। गल्ला पनि चिनजानकै थिए, ३ जना।
घरबाट हिँडेको ७ दिनमा उनीहरू नौतुना पुगे। त्यहाँबाट रेल चढेर गोरखपुर पुगे।
भारत त्यतिबेला अंग्रेज (बेलायत) को अधिनस्थ थियो। नेपालीहरूले पहिलो विश्वयुद्धमा लडिसकेका भएर नेपाली युवालाई ब्रिटिस–भारतले आफ्नो सेनामा भर्ती लिन थालिसकेको थियो। गोरखपुरमै ब्रिटिश–भारत फौजको भर्ती छनौट युनिट थियो।
बुद्धिमान गोरखपुर पुगेपछि उनको घर मात्र होइन थर पनि छुट्यो। बुद्धिमान जोशी लाहुरे हुनकै लागि बने बुद्धसिंह मगर। उनको पेन्सन पट्टामा अहिले पनि यही नामथर छ।
ब्रिटिस–भारत फौजको भर्ती छनौट युनिटले गोरखपुरमै उनीहरूलाई दौडाए। छाती नापे। भर्ती पनि लिए। दोस्रो विश्वयुद्ध चर्किन थालेसँगै उनको तालिमको गति बढिरहेको थियो।
गोरखपुरमा झण्डै एक वर्ष तालिम लिएपछि बुद्धिमान लडाइँमा जान तयार भए।
उनी सुरूमा भारतका विभिन्न ठाउँमा बसेर युद्ध लडे। पछि उनको फौज बर्मा (म्यानमार) जाने भयो। बर्मामा जापानी फौजसँग आमने–सामने भए।
घर छाडेको चार वर्ष बितिसकेको थियो। घर, परिवार कसैलाई केही नभनी भागेका बुद्धिमान बर्मामा युद्ध लडिरहेका थिए। कहिलेकाहीँ घरको यादले सताउँथ्यो। एकोहोरिन्थे पनि।
उनका सम्झना सबै भताभुंग पार्दै विपक्षीले गोलीको बर्षा गराइदिन्थ्यो। उनी पनि विपक्षीलाई त्यसैगरी भुटुटु पार्दै गोली हान्थे।
तर यी गोली जहीँतहीँ यसै उडाउन पाइन्थेन। युद्धका केही नियम थिए। गैरसैनिक र हतियार नबोकेका मानिसलाई गोली हान्न पाइन्थेन। समय तोकेर लडाइँ हुन्थ्यो। लड्ने र रोकिने समय दुवै पक्षको समझदारीमा तय हुन्थ्यो।
बुद्धिमानको फौज र विपक्षीले लडाइँका नियम मानेकै थिए। एकदिन भने समयले नै छल गरिदियो।
उनले अझै भुलेका छैनन्। आक्रमणको समय बिहान ८ बजे तोकिएको थियो। त्यो दिन ब्रिटिस–भारतको गोर्खा पल्टनको घडीमा समय १५ मिनेट ढिलो चलिदियो। वा जापानी सेनाको घडीमा समय १५ मिनेट छिटो चलिदियो, उनलाई थाहा छैन। तर जापानी सेनाले ८ बज्न १५ मिनेट बाँकी छँदै आक्रमण गरिदिए। गोर्खा फौजले आक्रमण गर्न १५ मिनेट कुरिदिए।
त्यही १५ मिनेटमा जापानले गोर्खा फौजमाथि गोली बर्सायो। अनि बुद्धिमानको फौज सोत्तर पारिदियो।
बुद्धिमानको चिउँडोमा गोली लाग्यो। चिउँडोमा मात्र होइन, पाखुरा र शरीरको अन्य भागमा पनि लागेको रहेछ। फौज लुक्न बनाइएको खाल्डोमा बन्दुक भिरेर जापानी फौजलाई आक्रमण गर्न बसेका बुद्धिमान होसमा आउँदा अस्पतालमा थिए।
'भर्ती भएदेखि लडाइँ जितिरहेकै थियौं,' उनी सम्झिन्छन्, 'बर्माको त्यही एउटा लडाइँ हाम्रो फौजले हार्नु पर्यो।'
जापानी फौजको हमलामा पल्टनका कर्नेलदेखि उच्च अधिकृत र सैनिकहरू मारिए। मारिएका सैनिक अधिकृतहरूको उनलाई अझै याद आउँछ।
भन्छन्, 'हाम्रो पल्टनको त कर्नल साब नै मर्नुभयो। गोरा साहेबले नेपालीलाई खुब माया गर्नु हुन्थ्यो।'
बुद्धिमान आफू भने भाग्यले नै बाँचेको बताउँछन्।
उनी होसमा आउँदा शरीर धेरै दुखेको थियो। हात बाँधिएको अवस्थामा थियो। बेहोसीमै उनी गोलीले उडाइदिएको चिउँडोमा कन्याउँदा रहेछन्। झनै संक्रमण हुन सक्ने देखेर सैनिक अस्पतालका स्वास्थ्यकर्मीले हात बाँधिदिएका रहेछन्।
होसमा आएपछि उनले हात खोलिदिन अस्पतालका स्वास्थ्यकर्मीलाई इसारा गरे। स्वास्थ्यकर्मीले खोलिदिए। उनले फेरि घाउ कन्याए। स्वास्थ्यकर्मीलाई चिन्ता पर्यो। संक्रमण हुन नदिन फेरि हात बाँधिदिए।
लडाइँ भूमिदेखि झण्डै ५ किलोमिटर दुरीमा ब्रिटिस–भारत फौजको अस्थायी स्वास्थ्य क्याम्प थियो। त्यहीँ प्रारम्भिक उपचार गरेर उनलाई भारतको दिल्ली, मुम्बई, हरियाणा लगायत ठाउँमा उपचार गर्न लगियो।
झण्डै एक वर्ष अस्पताल बसेपछि बुद्धिमान छुट्टीमा घर आए। ८४ दिनको छुट्टीमा आएका उनले त्यतिबेला २२ सय रुपैयाँ ल्याएका थिए।
लमजुङको सोतीपसल पुगेपछि उनले ल्याएका भरिया भारी बोकेर गाउँ चढ्न मानेनन्। टाउकोबाट पट्टी बाँधेर चिउँडो छोपेका बुद्धिमान आफैंले भारी बोकेर गाउँ उक्लिएको सम्झिन्छन्।
घर पुग्नेबेला बाटोमै समिभञ्ज्याङको लहरेपिपल चौतारामा बसे। नजिकै सँगै भर्ती भएका साथी नन्दलाललाई देखे। नन्दलाल पनि छुट्टीमा आएका रहेछन्। चौतारामा बसेर उनीहरूले बातचित गरे।
लडाइँमा के भयो भनेर कुनै सूचना पाउन नसक्ने जमाना थियो त्यो। नन्दलालले चौताराबाटै बोलाएर बुद्धिमानको परिवारलाई जानकारी दिए। बुद्धिमानकी बहिनी चौतारामै आएर दाजुलाई भेटिन्।
घाइते भएर पट्टी बाँधेको अवस्थामा पुगेका छोरा देखेर आमाबुबाले चित्त दुखाए। भर्ती गराउन छोरा लगिदिएको भन्दै त्यतिबेला गल्लालाई बेस्सरी गाली गरेकी थिइन् रे आमाले। खाना खान समेत नमिल्ने गरी घर आइपुगेका बुद्धिमानको हालत परिवार विछिप्त भयो।
अस्पतालमा नाक र मुखबाट पाइप लगाएर खाना खान्थे उनी। घरमा आएपछि पनि पाइपबाटै पेटमा दूध पुर्याए। बिदा सकिएपछि फेरि भारत फर्किए। उपचारका लागि भारतका विभिन्न अस्पतालमा दौडधुप जारी राखे।
गोलीले उडाएको चिउँडो भर्न र शरीरमा लागेका गोली निकाल्न बुद्धिमानले अस्पतालमै करिब ५ वर्ष बिताए। उनको छातीको मासु र कम्मरनिरको हड्डी निकालेर चिकित्सकले चिउँडोमा जोडिदिए। त्यसपछि बल्ल उनी खाना खान र बोल्न सक्ने भए।
भर्ती भएपछि लडाइँमा ४ वर्ष र घाइते भएपछि उपचारमा ५ वर्ष बिताएका बुद्धिमान अब फेरि लडाइँ लड्न सक्ने हालतमा रहेनन्। ब्रिटिस–भारत फौजले उनलाई अवकाश पठाइदियो। अवकाश पाउँदा उनको मासिक पेन्सन ४५ रुपैयाँ थियो।
अवकाश पाउँदा दोस्रो विश्वयुद्ध सकिएको थियो। लडाइँ ब्रिटिस गठबन्धनले जितेको थियो।
'बेलायतले पहिला जर्मनीलाई जित्यो, पछि जापानलाई,' बुद्धिमानले भने, 'अंग्रेजले कहिल्यै पनि लडाइँमा हार खाएनन्।'
दोस्रो विश्वयुद्धपछि भारतमा बेलायती साम्राज्य विरोधी आन्दोलन चर्किँदै गयो। बुद्धिमान अवकाश आउने बेलामै बेलायतले भारतलाई स्वतन्त्रता दियो।
'अंग्रेजले छाडेर जाने बेला म पेन्सन आएको हुँ,' उनले सुनाए।
उनका अनुसार विश्वयुद्धको अग्रमोर्चामा धेरैजसो गोर्खा पल्टनका फौज हुन्थ्यो।
'गोराहरूले गोर्खा पल्टनलाई अघि लगाउँथे,' बुद्धिमानले भने, 'लडाइँमा भाग्दैन भनेर होला।'
गोलीगठ्ठा सकिएपछि खुकुरीकै भरमा पनि लड्नुपर्ने अवस्था आएको उनले सुनाए।
विश्वयुद्ध लडेका आफ्नै गाउँठाउँका अरूको अवस्था भने भिन्न भएको उनी बताउँछन्। लडाइँमा ज्यान गुमाएकाको कुनै सोधखोज भएन। बुद्धिमानसँगै र अघिपछि भर्ती भएका धेरैको पल्टन खारेज भयो। उनीहरू पल्टनबाट बाटो खर्च दिएर लखेटिए।
लडाइँमा मरेकाहरूको पनि सोधखोज भएन। पल्टनको नम्बर, नामसहित परिवारका सदस्यले पेन्सन दाबी गर्न जाँदा केहीले पाए। केही जाँदा पनि गएनन्। लडेर फर्किएकाहरू भने फेरि पुरानै खेती किसानीमा लागे।
बुद्धिमानले फर्केपछि बिहे गरे। रोजीरोटी चलाउन कामको खोजीमा फेरि भारत नै गए। त्यतिबेला भारतमा उनले कृषि फार्ममा चौकीदारको काम गरे। श्रीमतीलाई पनि उतै लगेका थिए।
उनकी श्रीमतीको निधन भइसकेको छ। उनीहरूका ३ छोरा र ३ छोरी छन्। तीनै छोरा भारतीय सेनामा भर्ती भएर अवकाश पाइसकेका छन्।
युद्धमा घाइते भएर फर्किएका बुद्धिमानले छोराहरूलाई आफैंले लगेर भर्ती गराएका थिए।
'लडाइँ त भइहाल्छ नि, डराउनुहुँदैन,' शताब्दी काटेका उनी बुढ्यौली जोस निकाल्दै भन्छन्, 'लडाइँमा आफ्नै ज्यानको त माया हुँदैन।'
उनी पेन्सन पाएर आएको ७० वर्ष काट्यो। पेन्सन अहिले छोराहरूले झिकेर ल्याइदिन्छन्। तर वर्षमा एक पटक उनी आफैं पेन्सन क्याम्प पुग्नुपर्छ।
क्याम्पमा धेरैले सोध्छन् रे, 'बूढा, अझै बाँचिरहनुभएको छ?'
उनी भन्छन् रे, 'अझै धेरै बाँच्छु।'
सबै तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी