पोखराका सूर्यबहादुर केसीका तीन परिचय थिए: राजनीतिज्ञ, उद्योगपति र समाजसेवी।
पोखरामा यी तीनै क्षेत्रमा सायदै अरूले योगदान गरेका होलान्, जति सूर्यबहादुले दिएका छन्। उनै केसीको ६३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ।
सूर्यबहादुर राजनीतिमा लामो समय ‘कन्जर्भेटिभ’ पार्टी राप्रपाका नेता बने, व्यवसाय र समाजसेवामा भने सधैँ उदारवादी।
उद्योग व्यवसायमा सक्रिय हुँदाहुँदै उनी पञ्चायतकालमै राजनीतिमा प्रवेश गरे। पोखराका स्थानीय कांग्रेस कार्यकर्ता बोधराज कार्कीका अनुसार ‘जनचाहना’ले उनलाई तत्कालीन पोखरा नगर पञ्चायतको प्रधानपञ्च बनायो। २०४१-०४२ तिर हुनुपर्छ, तत्कालीन प्रधानपञ्चलाई हटाएर उनी प्रधानपञ्च बनेका थिए।
त्यसलगत्तै २०४३ मा निर्वाचन भयो। प्रधानपञ्चमा सूर्यबहादुर उठे, चुनाव जिते। २०४६ चैतमा प्रजातन्त्र पुर्नस्थापना भएपछि उनको प्रधानपञ्च पद गुम्यो। तर राजनीतिमा उनी अझै अघि बढे।
सूर्यबहादुर प्रधानपञ्च बन्दा कास्की कांग्रेसका सभापति कृष्ण केसी प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा थिए। व्यवसायी-उद्योगीको छवि बनाएका सूर्यबहादुरलाई २०४० सालदेखि नै केसीले चिन्थे।
‘प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा लाग्दा उहाँ पञ्च भए पनि हामीलाई असहयोग गर्ने र प्रशासनलाई उक्साउने काम गर्नुभएन,’केसीले सेतोपाटीलाई भने, 'उहाँले कहिल्यै कसैप्रति पूर्वाग्रह राखेको थाहा छैन।’
राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्ष हुँदै उनी केन्द्रीय कोषाध्यक्ष बने। पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका सूर्यबहादुर त्यसपछि केही समय राजनीतिबाट परै बसे। उनलाई पार्टी प्रवेश गराउन कांग्रेस र तत्कालीन एमालेका नेताले दौडधुप गरिरहेका थिए। उनी पनि राप्रपा छाड्ने मनस्थितिमा पुगिसकेका थिए।
२०७४ को स्थानीय निर्वाचनकै बेला कांग्रेसले सूर्यबहादुरलाई पार्टी प्रवेश गराउन चोहेको थियो। सभापति केसी भन्छन्, ‘त्यतिबेला वातावरण अनुकूल भएन, पछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बेला प्रवेश गरायौं।’
कास्कीमा एक कार्यक्रमको आयोजना गरी उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको थिए।
त्यतिबेला सूर्यबहादुरसँगै अखण्ड नेपाल पार्टी पनि कांग्रेस प्रवेश गरेको थियो। कांग्रेस प्रवेश पश्चात सूर्यबहादुर पार्टीको केन्द्रिय आमन्त्रित सदस्य मनोनित भए भने निर्वाचन पश्चात समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यमा चुनिए। सूर्यबहादुरसँगै अखण्ड नेपाल पार्टी लिएर प्रवेश गरेका कुमार खड्का पनि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य छन् भने गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति बनेका छन्।
सूर्यबहादुरले पोखराको प्रधानपञ्चबाट सुरू गरेको राजनीतिक यात्रा प्रतिनिधि सभाका सांसदमा पुगेर टुङ्ग्याएका छन्।
राजनीतिमा लागे पनि उनी गाली गलौजमा उत्रिएनन्। राजनीतिक जीवनभन्दा उद्योगपति र समाजसेवीको जीवन धेरै बिताए।
सूर्यबहादुरको हालको ठेगाना पोखरा–७ एयरपोर्ट हो। २०१४ जेठ १० गते उनी तत्कालीन छिनेडाँडा गाविस- २ मझेरीपाटनमा जन्मिएका थिए। अहिले मझेरीपाटन पोखरा महानगरको वडा नं. १४ पर्छ। बुबा कीर्तिबहादुर र आमा पम्फादेवी केसीका जेठा छोरा हुन्, सूर्यबहादुर।
बुबा कीर्तिले त्यतिबेलै निर्माण व्यवसाय गर्थे। बुबाको बिँडो थाम्ने भनेझैं सूर्यबहादुर पनि सुरूमा निर्माण व्यवसायमै लागे। पोखराका केही युवाले गण्डकी नुडल्सको नाममा सिन्के चाउचाउ उत्पादन गर्न थाले। सिन्के चाउचाउको व्यवसायले अपेक्षित व्यापार भएन, कम्पनी घाटामा गयो।
त्यसपछि नै सूर्यबहादुर चाउचाउ उद्योगमा प्रवेश गरेका थिए। घाटामा गएको गण्डकी नुडल्समा लगानी गरे, जापानबाट मेसिन मगाएर आधुनिक तरिकाले चाउचाउ उत्पादन थाले। २०३९ माघदेखि उत्पादन थालेको रारा चाउचाउ अहिले पनि उपभोक्ताले मन पराउँछन्।
गण्डकी नुडल्स कम्पनीबाट उत्पादन हुने रारा चाउचाउ अहिले हिमश्री फुड्सको नाममा उत्पादन हुन्छ। गण्डकी नुडल्सबाट क्षमता बढाएर कम्पनीको नाम परिवर्तन गरेको कम्पनीले जनाएको छ। नेपालमै पहिलो पटक उत्पादन भएको रारा चाउचाउसँगै उनीहरूले आहा, फेवालगायत धेरै चाउचाउ उत्पादन गरे। तर बजारमा विगत ३८ वर्षदेखि रारा चाउचाउ नै ब्राण्ड बनिरहेको छ।
स्नातकसम्म अध्ययन गरेका सूर्यबहादुरले हिमश्री फुड्ससँगै अन्यत्र पनि लगानी फिँजाए। कलेजदेखि जलविद्युत आयोजनासम्म।
नेपाल मेडिकल कलेज, नेपाल इञ्जिनियरिङ कलेज, होटल म्यानेजमेन्टलगायत शैक्षिक संस्थामा उनले लगानी गरेका छन्।
निजी क्षेत्रबाट विद्युत उत्पादन गर्न पाउने भएपछि उनले धेरै लगानी त विद्युत उत्पादनमा गरे। गण्डकी हाइड्रो, सिक्लेस हाइड्रो, सिभिल हाइड्रो, भगवती हाइड्रो, टास्क हाइड्रो, सुप्रिम हाइड्रोलगायत आधा दर्जन बढी विद्युत उत्पादक कम्पनी र जलविद्युत आयोजनामा उनले लगानी गरेका छन्। जलविद्युत आयोजनामा लगानी गर्दा उनी आफैं कार्यकारी अध्यक्ष बनेर नेतृत्व लिए। उनको लगानी र नेतृत्वमा कुल ९० मेगावाट बिजुली निस्कँदैछ।
सूर्यबहादुर केसी पहिला व्यवसायी, उद्योगपति बने, त्यसपछि राजनीतिज्ञ र समाजसेवी। समाजसेवामा उनको नाम पोखराका आकाशमा अझै चम्किलो देखिन्छ। पोखरामा वर्षेनी आयोजना हुने प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका मुख्य प्रायोजक नै उनी हुन्।
प्रतियोगिताका आयोजक सहारा क्लबले पोखरामा वर्षेनी अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता खेलाउन चाहन्थ्यो। त्यतिबेला फुटबलमा लगानी गर्ने लगानीकर्ता थिएनन्। क्लबका पदाधिकारी प्रस्ताव लिएर आहा, रारा चाउचाउका उत्पादक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष उनै सूर्यबहादुर केसीलाई भेट्न पुगे।
त्यसअघि क्याराभान कपको नाममा खेलाइने फुटबल जब सूर्यबहादुरले दश वर्षका लागि मुख्य प्रायोजक बन्न स्वीकार गरे, त्यसपछि नाम परिवर्तन भयो, आहा रारा गोल्डकप।
‘उहाँले पोखराको फुटबललाई माया गरेर प्रस्ताव स्वीकार गरिदिनुभयो’, सहारा क्लबका आजीवन सदस्यसमेत रहेका फोटो पत्रकार सुदर्शन रञ्जित भन्छन्, ‘अहिलेसम्म उहाँकै प्रायोजनमा आहा रारा गोल्डप खेलाउँदैछौं।’
रञ्जितका अनुसार पहिलो दश वर्ष मुख्य प्रायोजक बनेको समय सकिएपछि दोस्रो पटक पनि १० वर्षका लागि हिमश्री फुड्सले मुख्य प्रायोजकको रूपमा सम्झौता गरेको थियो। यो दोस्रो सम्झौता पनि अर्को वर्ष सकिँदैछ। सूर्यबहादुरले आफ्नो मृत्यु भए पनि आहा रारा गोल्डकपलाई निरन्तरता दिन भनेको उनका निकटस्थ बताउँछन्।
फुटबलमा मात्र होइन, उनले पोखराका धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत विविध क्षेत्रमा सहयोग गरेका छन्। सहयोग माग्न जानेलाई रित्तो हात फर्काएका छैनन्। कांग्रेस कास्कीका सभापति केसीका अनुसार उनले सहयोग नगरेको क्षेत्र विरलै छ।
प्रजातन्त्र पुनर्स्थापना भएपछि क्याम्पस खुल्ने लहर चलेको थियो। पोखरामा पनि सामुदायिक क्याम्पस खोल्न उनैले अगुवाइ गरे।
२०४६ साल चैतसम्म पोखराका प्रधानपञ्च रहेका सूर्यबहादुरको पद प्रजातन्त्र आएपछि उनको पद गुम्यो तर उनकै अगुवाइमा २०४७ मा कालिका सामुदायिक क्याम्पस खुल्यो।
क्याम्पस स्थापना गर्दा सञ्चालक समितिका अध्यक्ष उनै थिए। एउटै क्याम्पसको सञ्चालक समितिको ३० वर्ष अध्यक्ष भएर चलाए। उनी अध्यक्ष, संरक्षक, चन्दादाता, अक्षयकोषदाता लगायत धेरै भूमिकामा पोखराका संघ संस्थामा उनी अहिले सम्बद्ध थिए।
सूर्यबहादुरले आफ्नो र श्रीमती प्रेमकुमारीको नाममा सूर्य–प्रेम स्मृति प्रतिष्ठान बनाएका छन्। प्रतिष्ठानमार्फत् उनले आफ्ना बुबा कीर्तिबहादुरलाई स्मरण गर्न चाहे। नेपाल पत्रकार महासंघ कास्कीमार्फत् ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ स्थापना गरे। उक्त सम्मान १ लाख ११ हजार १ सय ११ रुपैयाँको रहेको महासंघका कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ बताउँछन्।
श्रेष्ठका अनुसार उक्त सम्मान पहिलो पटक बरिष्ठ पत्रकार युवराज घिमिरे, दोस्रो बद्रिविनोद प्रतिक र तेस्रो किशोर नेपालले पाइसकेका छन्।
‘चौथो सम्मान वितरण गर्ने बेला भएको थियो, कोरोनाले रोक्यो’, श्रेष्ठ भन्छन्, ‘यस वर्ष यो सम्मान पोखराकै पत्रकार नारायण कार्कीलाई प्रदान गर्ने निर्णय भएको छ।’
सूर्यबहादुरले पत्रकारितामै अर्को पुरस्कार पनि स्थापना गरेका छन्। प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी सुप्रेम-शारदा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन्। पुरस्कारका लागि उनले ६ लाख रुपैयाँको अक्षय कोष राखेका छन्। त्यसैबाट आउने ब्याजबाट वर्षमा १ जनालाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने गरी कार्यविधि बनाएको प्रेस युनियन कास्कीले जनाएको छ।
क्षेत्री समाजको केन्द्रीय कार्यालय बनाउन १ करोड चन्दा दान गरेका सूर्यबहादुरले पोखरा–९ नयाँबजारको शान्तिघाट बनाउन पनि योगदान दिए।
शान्तिघाट धार्मिक विकास समितिका प्रमुख संरक्षक रहेका सूर्यबहादुर विगत केही वर्षयता बिरामी थिए। उनलाई उच्च रक्तचाप र मधुमेहको समस्या थिए।
पोखराको एयरपोर्टस्थित घरमै बसिरहेका थिए। सोमबार बोल्न गाह्रो भयो। परिवारले अस्पताल जान भन्दा मानेनन्, डाक्टरलाई घरमै बोलाएर परीक्षण गराए। परीक्षण गर्दा सुगरको समस्या देखियो। सोमबार राति फेरि उनलाई समस्या देखियो। अस्पताल जान भने मानेनन्।
राती साढे १० बजे उनले घरमै अन्तिम शास फेरे। मंगलबार बिहान उनको शवमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिका रूपमा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले पार्टीको झण्डा ओढाए।
६३ वर्षको उमेरमा अस्ताएका सूर्यलाई श्रद्धाञ्जली अर्पण गर्न गण्डकी प्रदेश सांसद एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, राजिव पहारी, कांग्रेस सांसद कुमार खड्का, विन्दुकुमार थापा, पोखरा महानगरका मेयर मानबहादुर जिसी, पूर्व सांसद शुक्रराज शर्मालगायत नेता-कार्यकर्ता र शुभेच्छुक घरमै पुगे।
पार्टीको झण्डा ओढाएर शवयात्रा गरेर उनै सूर्यबहादुर प्रमुख संरक्षक रहेका शान्तिघाटमा उनको अन्तिम दाहसंस्कार भयो। उनका तीन छोराहरू किरण, प्रकाश र रोशनले सामुहिक दागबत्ती दिए। दाहसंस्कार गर्ने ठाउँमा पनि कोरोना महामारीका बाबजुद् स्वत: स्फुर्त नेता-कार्यकर्तादेखि सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
शान्तिघाटमा उनको शव राखेर पुजा गर्दै गर्दा सहभागी सर्वसाधारणसम्मले ‘राम नाम सत्य हो’ भनेका थिए। त्यसो त सूर्यबहादुरलाई पनि पोखरामा धेरैले सीताराम भनेर चिन्छन्। अन्त्येष्टिका बेला सूर्यबहादुरको संक्षिप्त जीवनी सुनाएका कास्की कांग्रेसका स्थानीय कार्यकर्ता बोधराज कार्कीले जन्मपछि मृत्यु स्वभाविक भए पनि सीताराम अर्थात् सूर्यबहादुरको मृत्यु अस्वभाविक र अल्पायुमा भएको बताए।
शोकमा डुबेको त्यही बेला पोखरा महानगरले सूर्यबहादुर केसीको शोकमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गर्यो।
‘पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च समेत भएकाले हामीले शोक मनाउन आज बिदा दियौं’, मेयर मानबहादुर जिसीले भने।