महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीलाई मंगलबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो। त्यसपछि उनलाई हत्तपत्त परिवारले उनी कार्यरत अस्पताल महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याए।
राजारामलाई अस्पताल पुर्याउँदा रातिको ३ बजेको थियो। त्यतिञ्जेल उनी होसमा थिएनन्।
अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले सेतोपाटीसँग भने, 'उहाँलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको रैछ। अक्सिजन स्याचुरेसन पनि जम्मा ४० थियो। पछि अलिकति सुधार देखिएको थियो।'
उपचारकै क्रममा चार बजेतिर उनलाई आइसियू सपोर्ट दिनुपर्ने भयो। तर तत्काल अस्पतालमा आइसियू बेड खाली थिएन। त्यसपछि इमर्जेन्सीमै अस्थायी भेन्टिलेटरको सहायतामा उनको उपचार थालियो।
तत्काल आइसियू बेड नमिलेपछि परिवारले राजारामलाई भंगालस्थित आफ्नै नातेदारको करूणा अस्पतालमा लगे। तर राजारामले सोही अस्पतालमा अन्तिम सास फेरे।
निर्देशक काफ्लेले बेलेमै कुराकानी भएको भए बिरामीलाई आइसियू बेड व्यवस्थापन गर्न सकिने दाबी गरे।
उनले भने, 'हामीलाई जानकारी नदिई उहाँलाई बाहिर लगिएछ। अहिले सामान्यतया बेड खाली हुँदैन तर अलिकति राम्रो भएका बिरामीलाई अक्सिजनमा राखेर व्यवस्थापन गर्न सकिन्थ्यो। तर समय पनि राति भएको र कुराकानी पनि राम्ररी नभएकाले समस्या भयो।'
उनले रातिको समयका कारण उपचारमा असहजता भएको, बिरामीलाई ल्याउन ढिला भएको र निरन्तर कुराकानी नभएकाले समस्या उत्पन्न भएको जनाए।
निर्देशक काफ्लेले यस घटनाबारे आफूले बिहान मात्र खबर पाएको बताए।
उनले भने, 'हामीले उहाँलाई त्यहाँबाट आफ्नै अस्पतालमा ल्याउन लेखा शाखाको हाकिमसँग कुराकानी गर्दागर्दै उहाँको निधन भयो।'
धादिङका राजराम २५ वर्षदेखि सेवामा कार्यरत थिए।
विभिन्न अस्पतालहरू चहार्दै उनी फेरि टिचिङ अस्पताल फर्किएका थिए।
२२ वर्षअगाडि भेटेको सम्झना गर्दै निर्देशक काफ्लेले भने, 'उहाँ त्योबेला अस्पतालको टिकट काउन्टरमा हुनुहुन्थ्यो। पछि अरू ठाउँमा सरूवा हुँदै, बढुवा हुँदै टिचिङ फर्किनुभयो।'
काफ्ले अस्पतालमा निकै परिचित मानिन्छन्।
सबैसँग मिजासिला उनी काममा पनि उत्तिकै जब्बर थिए।
निर्देशक काफ्लेले भने, 'उहाँ स-सानो कुरामा चित्त नबुझाउने स्वभावको हुनुहुन्थेन। आफूलाई लागेको कुरा प्रष्टसँग राख्नुहुन्थ्यो। निकै रमाइलो व्यक्ति हुनुहुन्थ्यो।'
तर राजारामले जुन अस्पतालमा यति लामो समय सेवा गरे सोही अस्पतालमा उनले उपचारका लागि ठाउँ पाएनन्।
निर्देशक काफ्लेले भने अस्पतालले आफ्ना कर्मचारीको उपचारको व्यवस्थापन जसरी पनि मिलाउने दाबी गरे।
'मैले जुम मिटिङमै कर्मचारीलाई क्याबिन वा बाहिर राखेर भए पनि उपचार गर्ने भनेको थिएँ,' उनले भने, 'उहाँको केसमा भने समयमै राम्रो कुराकानी नभएकाले समस्या भएको हो।'
अहिले अस्पतालमै बिरामी उपचार गर्न समस्या भइरहेको उनी बताउँछन्।
उनले अहिले नै निकै खराब स्थिति आइनसकेको भए पनि हात बाँधेर बस्ने स्थिति नभएको बताए।
निर्देशक काफ्लेले भने, 'अहिले समुदायबाटै बिरामीहरू आइरहेका छन्। त्यसमा पनि धेरै अक्सिजन चाहिने बिरामीहरू छन्। त्यसैले तयारीमा जुट्ने बेला भएको छ।'
उनले अहिले अस्पतालले 'हाइ डिपेन्डेन्सी युनिट' तयार पार्न काम गरिरहेको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गम्भीर अवस्थाका संक्रमितको उपचारमा सघाउन पुर्याउन देशभर 'हाइ डिपेन्डेन्सी युनिट' बनाउन निर्देशन दिइएको बताएको थियो।