विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय बलमान तामाङ (नाम परिविर्तन) को कोरोनाका कारण मृत्यु भएको आज पाँच दिन भयो।
विराट टिचिङ अस्पतालमा बुवाको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर पाएको सास्ती उनकी छोरीलाई भुल्न सकस भइरहेको छ।
९ दिनअघि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए। शनिबार मृत्यु भएपछि उनको शव ३ दिनसम्म उठ्न सकेन। मृतककी छोरीका अनुसार अस्पतालमा भएको खर्च तिर्न नसकेपछि तीन दिनसम्म शव उठाउन सकिएको थिएन।
उपचार खर्च ५ लाख ८६ हजार पुगेको थियो।
'त्यत्रो पैसा हामीसँग थिएन अस्पतालले शव दिएन,' मृतक तामाङकी छोरीले भनिन्, ‘पैसाको जोहो गर्न बुवाको शव अस्पतालमै छोडेर भौतारिएँ तर सकिनँ। अस्पतालबाट छिटो पैसा लिएर आइज तेरो बाउको लास लैजा भनेर हप्काए,’ उनले सेतोपाटीसँग भनिन्।
जिन्दगीमा धेरैलाई गन्तव्यमा पुर्याएका बुवालाई मरेपछि पुर्याइने गन्तव्यमा पुर्याउन सकिन्न कि भन्ने चिन्ताले उनी छटपटाइरहिन्।
तामाङ पहिला रात्रीबस चलाउँथे पछि एक बोर्डिङको बस चलाउन थाले।
कोरोनाले बोर्डिङ बन्द भएपछि आधा तलब दिन्थ्यो। त्यसैबाट उनले घर चलाउँदै आएका थिए। कोरोना महामारीका कारण कामविहीन बनेका उनको दैनिकी घरमै बित्थ्यो।
छोरीका अनुसार दसैं मुखैमा आएकाले बुवालाई खर्च जुटाउने चिन्ता थियो। उनीसँग दसैंको खर्च भनेर जम्माजम्मी छ-सात हजार गोजीमा थियो। यसैबाट जेनतेन दसैं टार्ने परिवारले सोचेका थिए तर टार्नै नसक्ने समस्याबाट गुज्रनु परेको छोरी बताउँछिन्।
दसैंअघि उनलाई ज्वरोले च्याप्यो। ३ दिनसम्म ज्वरो नघटेपछि अस्पतालमा कोरोना टेस्ट गर्दा पोजेटिभ आयो।
डाक्टरले आत्तिनुपर्ने अवस्था नभएको बताएपछि उनी औषधी खाँदै घरमै बसे। तर कात्तिक ५ गते राति १२ बजे उनलाई सास फेर्न गाह्रो भयो।
एक्कासि छटपटिए, छोराछोरीले अस्पताल लैजान चारैतिर फोन गरे।
‘विराटनगरका प्राय: सबै अस्पतालमा म र दाइ मिलेर बेड के कस्तो छ बुझ्न फोन गर्यौं। तर कसैले खाली छ ल्याउनू भनेन। हामी धेरै आत्तियौं,' छोरीले भनिन्।
एक जना आफन्त पर्ने दाइले विराट टिचिङमा कुरा गरिदिएछन्। आइतबार बिहान ९ बजेतिर तामाङलाई अस्पताल पुर्याइयो।
'गेटमा सिधै कसले भनेर आउनुभएको भन्ने प्रश्न गरे। हामीसँगै दाइ भएकाले उहाँले कुरा गर्नुभयो। हामीले बुवालाई वार्डसम्म लग्यौं,' उनले भनिन्, 'त्यहाँ त ३ लाख धरौटी नराखी कोरोना बिरामीको उपचार सुरू हुँदैन भने।'
धरौटी राख्ने पैसा उनीहरूसँग थिएन। अस्पताल पुग्दा उनीहरूसँग भएको ७ हजार र सरसापट गरेर लगेको जम्मा २५ हजार रुपैयाँ थियो। त्यही धरौटी राखेर बाँकी जम्मा गर्ने भन्दै बुवालाई भेन्टिलेटरमा राखे।
एक लाख धरौती नराखी उपचार नहुने भन्दै दबाब आएपछि ऋण खोजेर जम्मा गरे।
‘अब औषधी किन्ने पैसा थिएन। खेपैपिच्छे २ झोला औषधी मगाउँथे। एक पटकमा १९ हजारसम्मको औषधी किनेर भित्र पठाएकी छु। बुवाको अवस्था सोध्दा बिस्तारै ठिक हुँदै गएको बताउँथे,' उनले भनिन्।
अस्पताल भर्ना गरेको ६-७ दिन भैसक्दासम्म बुवा बेडमा बेहोस लडेको देख्दा उठ्नुहुन्न कि भन्ने डरले उनीहरूलाई सतायो।
'आखिर भयो पनि त्यही,' छोरीले फोनमा भनिन्।
शुक्रबार उनको मनले बाहिरबाट हेर्न मानेन।
'बुवालाई बोलाउन गएँ। बुवाले आँखा हेरेको देखेर निकै खुसी भएँ। बुवाले मलाई देख्नासाथ हातको इशाराले टाउको हल्लाउँदै नआऊ नआऊ भन्नुभयो,' उनले भनिन्, 'परैबाट कस्तो छ बुवा भनेर सोधें। इशाराले ठिक छ भन्नुभयो।'
त्यही राति उनलाई नर्सको फोन आयो। तपाईंको बिरामी सिरियस हुनुहुन्छ भनिन्। उनीहरू दौडेर बुवा छेउ पुगे। उनीहरू पुग्नासाथ बुवा बिते।
'बुवा छउन्जेल त हामीलाई सजिलै भएको रहेछ। जब बित्नु भो अनेकौं अप्ठ्यारा एकैपटक आए,' उनले भनिन्।
अस्पतालको बिल, फार्मेसीको बिल बाहिरबाट औषधी ल्याउँदाको बिल!
एकैचोटि तिर्नुपर्ने बिल देख्दा त उनीहरूलाई बुवाको शवभन्दा ठूले पैसा रहेछ भन्ने पर्यो रे।
पैसा छ शव पाइने नत्र नपाइने!
अस्पतालभित्रको मात्रै ५ लाख ८५ हजार नौ सय, बाहिरको फार्मेसीमा १५ हजार र भित्रकोमा ३३ हजार ६ सय भएको थियो।
तत्काल कुनै पनि हालतमा यो सबै बिल भुक्तानी गर्ने अवस्था उनीहरूको थिएन।
'पैसा नतिरी शव लिन पाइँदैन भने अनि हामीले बुवाको शव अस्पतालमै छोडेर घर गयौं,' उनले सम्झिइन्,'भोलिपल्ट अस्पतालबाट फोन आयो- पैसा छिटो ल्याओ लास लैजाओ।'
अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएर बाँकी रहेको ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ नबुझाएसम्म शव नदिने कुरो फेरि सुनायो। उनले त्यसपछि वडा कार्यालय सम्झिइन्।
'कोरोना लागेर कोही गरिबले अकालमा ज्यान गुमाउनु पर्दैन भनेको मन्त्रीको भाषण सुनेकी थिएँ,' उनले भनिन्, 'त्यही भएर वडामा आफ्नो कुरो राखें।'
वडाले अस्पतालसँग कुरा गर्दा पनि वडाको सिफारिस अनुसार १ लाख अझै छुट लिन सकिने, तर बाँकी पैसा नतिरी नहुने बतायो।
दोस्रो दिन पनि शव निकाल्न सकिएन।
कात्तिक १७ गते सोमबार वडाका केही मान्छे अस्पताल पुगे। लामो छलफलपछि फार्मेसीको पैसा बुझाउनु पर्ने तर धरौटी फिर्ता नहुने, बाँकी उपचार खर्च मिनाहा गर्दिने सहमति भयो।
'बल्ल हामीले बुवाको शव पायौं। दु:खको त्यो घडीमा पनि बुवाको अन्त्योष्टि गर्न पाउँदा खुसी लाग्यो,' उनले भनिन्।
बिराट टिचिङ अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरले तामाङलाई पनि आफूहरूले ९ दिन भेण्टिलेटरमा राखेर उपचार गरेको र पहिलै पनि डेढलाख छुट दिएको बताए।
परिवारले नै पैसा तिर्दैनौं भनेपछि शव उठाउन ढिला भएको पनि उनले बताए।
'शनिबार बिहान मृत्यु भएपछि आफन्त आइतबार पैशा लिएर आउँछौ भन्दै गए ४ बजे मात्रै आएर बचाउन नसकेको बिरामीको पैसा तिर्दैनौ भन्न थालेपछि केहि ढिला भएको हो,' उनले भने, 'अस्पतालले डेढ लाख अगाडि नै छुट दिएको थियो। बाँकी रकम पनि बुझाउन नसकेपनि शव हामीले सोमबारै जिम्मा लगाएका छौँ।'
सरकारले कोरोना संक्रमितको उपचारबाट हात उठाएपछि निजि अस्पतललाई झन् मार परेको बताए।