एकदिन अपरिचित मान्छेहरू पूर्णशोभा तुलाधरको टहरामा आए।
उनीसँग कुराकानी गरे र फर्किए।
अर्को पटक उनीहरू फेरि आए। उनीहरूले टहरा वरिपरि सरसफाई गरे। पूर्णशोभालाई नुहाइदिए पनि। कपालमा कालो रङ लगाइदिए।
८० वर्षीया पूर्णशोभाले फुर्सदमा केही थैलीहरू बनाएकी थिइन्। ती मान्छेहरूले लिएर गएका थिए। ती थैली उनीहरूले कताकता कसकसलाई बेचे, आएको पैसा उनकै हातमा थमाइदिए।
पूर्णशोभा अलमल्ल परिन्। उनी ती मान्छेहरूलाई अचेल चिन्छिन्, तर कहाँबाट कसरी आए उनलाई अत्तोपत्तो छैन।
तिनै मान्छेले सामाजिक सञ्जालमार्फत 'बजैको पसल' भनेर पूर्णशोभाले बनाएका थैलीहरू बिक्री गरिरहेका छन्।
स्वयम्भूस्थित रिट्रिट सर्भिस्ड अपार्टमेन्ट पछाडि बाटैमा सानो जस्ताको टहरामा आठ दशक नाघेकी पूर्णशोभालाई भेट्न सकिन्छ। सात वर्षअघि श्रीमानको मृत्यु भएपछि त्यहाँ बस्ने उनी एकली सदस्य हुन्। आफ्नै जग्गामा दुःखसुखले सानो टहरा बनाएकी छन्। तर जग्गा आफ्नो नाममा नभएकाले बेलाबेला समस्यामा पर्दै आएको उनी बताउँछिन्।
'जग्गा मेरो बुढाको बाजे पानीदास सिलाकारको नाममा थियो। कागजातहरू सबै छन्। बुढाको मृत्यु भएपछि मेरो नाममा बनाउन खोज्दा यसलाई पर्ती जग्गा बनाइरहेको रहेछ,' उनले भनिन्, 'पर्ती फुकाएर मलाई देऊ भनेर चारखाल अड्डामा निवेदन दिन गएँ। मलाई सिफारिस देऊ भन्दा अहिले लकडाउन छ, पछि दिउँला भनेर टारिरहेको छ।'
यहाँ बस्न थालेको त उनी श्रीमान नबित्दै हो। पहिले जस्ता चुहिने र भुइँमा पनि खाल्डाखुल्डी देखेपछि एकजना लामाले सोधेछन्, 'म बनाइदिम् आमा?'
नभन्दै हप्ता दिनमै उनले बस्न लायक टहरा बनाइ दिए। मनकारी व्यक्तिहरूले सहयोग गरे पनि वडाले भने बेलाबेला आएर सताउने गरेको उनी बताउँछिन्।
'आफ्नो भागको जग्गा दिनु त कता हो वृद्धाश्रम जाऊ भन्छ,' उनले भनिन्, 'म भने मेरो जग्गा हो भनेर ढिपी कसेर बसेकी छु।'
उनले अगाडि भनिन्, 'बत्ती जोड्न होस् वा शौचालय बनाउन, यस्ता सबै काममा मैले समस्या भोगिरहेकी छु।'
पूर्णशोभाको घर पट्टीका आन्तजनसँग आउजाउ छैन। माइतीमा भाइ, भदाभदैनीहरू सबै छन्। कहिलेकाहीँ मात्र भेट्न आउँछन्।
उनका आफ्नै सन्तान छैनन्। तर डिबी (दलवीर) विश्वकर्मा भन्ने एक युवाले सन्तानसरह बनेर पूर्णशोभाको खानपान व्यवस्था र स्याहार गरिरहेका छन्। बेलाबेला हेर्न पनि आउँछन्। अरु बेला नजिकैको आफ्नै कोठामा बस्छन्।
डिबीलाई नै उनले आफ्नो छोरा मानेकी छन्, 'ऊ आफ्नो आमाबुवाकोमा पनि नगई मकहाँ बसेको छ। मलाई जसले हेर्छ, त्यही मेरो छोरा हो।'
डिबी उनलाई आमा नै मान्छन्।
मुगुका डिबी १२ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्। समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी ६ वर्षयता आफ्नो घर गएका छैनन्। यो पटक दसैंमा जाने सोच बनाएका थिए। कोरोनाका कारण नसकेको बताउँछन्। उनले पूर्णशोभाको हातबाटै टीका लगाएर दसैं मनाए।
'कहिले आउने भनेर घरबाट त सोध्नु हुन्छ। तर भौतिक रूपमा गएर मात्र के गर्नु? पढाइ सकेर, केही गरेर मात्र आउँछु भनेको छु,' उनले भने।
लकडाउन हुनुअघि उनी ट्रेकिङ गाइडका रूपमा काम गर्थे। अहिले विदेशीहरू आउनेक्रम नै घटेपछि घरबाटै उनलाई खर्च पठाइरहेका छन्।
डिबी र पूर्णशोभाको भेट भने भुइँचालोको समयमा भएको रहेछ। त्योबेला जतिबेलै भुइँचालो आउने डरका कारण अलि पर खुला चउरमा बस्दा दुईको भेट भयो।
चउरमा बसेका बेला डिबीले पूर्णशोभालाई देखेर सोधेछन्, 'खाना खानुहुन्छ आमा?'
यही गाँसको वाक्यले उनीहरूको सम्बन्ध गाँसियो।
चउरमै बस्दै जादा उनीहरूको चिनजान बढ्यो। आफूलाई हेर्ने कोही नभएको पूर्णशोभाले बताइन्। आफ्नो नजिक हुँदै जाँदा उनले सोधिछन्, 'मलाई हेर्छौ?'
भाइ र आफू मात्र कोठामा बसिरहेका डिबीलाई आफ्नै आमा भेटेसरह भएछ। आमाले भनेको कसरी नकार्नु!
आमै ठानेर त्यो बेलादेखि उनले टहरामा खानाखाजा पुर्याइरहेका छन्। पूर्णमायाको स्याहार गरिरहेका छन्। लामो समयसम्म उनको नजिक भएकाले डिबीलाई अहिले त लाग्न थालेको छ, 'परिवारलाई नभेट्दाको न्यास्रो पनि उहाँसँग रहँदा भुल्छु।'
पूर्णशोभाबारे यस्तै जानकारी पाएर 'हामी नेपाली' र 'सितुसित नेपाल' नामक संस्थाले उनलाई सहयोग गरेका रहेछन्। पूर्णशोभाको टहरामा आएर सहयोग गर्ने 'अपरिचित'हरू उनीहरू नै हुन्। उनीहरूले नै उनको थैलीलाई सामाजिक सञ्जालमार्फत 'बजैको पसल' नामले बिक्री गरिरहेका छन्।
एक थैलीको मूल्य सय रुपैयाँ राखिएको छ। अहिले कपाल बाँध्ने 'सक्रन्चिज' (रबर) र कागजबाट बनाइएको भास (फूल सजाउने भाँडा)हरू पनि त्यहाँबाट बिक्री गरिरहेका छन्। अहिले यही पेजमार्फत सामान बेचेर पूर्णशोभाको टहरामा शौचालय बनाउन उनीहरू पैसा जुटाउन लागिपरेका छन्।
'आमाको उमेर र कमजोरीका कारण थैलीहरू बनाउन सक्दिनँ भन्नु भएकाले हामीले अन्य सामग्री बेचेर उहाँलाई अहिले सहयोग गर्न लागेका हौं,' यी दुवै संस्थामा आवद्ध सितुसित बस्नेतले भनिन्, 'उहाँले फेरि थैलीहरू बनाउनुभयो भने बेच्नेछौं।'
पूर्णशोभाले अहिले पुराना कपडाहरू काटेर राखेकी त छिन् तर थैली आफूलाई सजिलो भएपछि बनाउने बताउँछिन्।
पूर्णशोभाको बिहे उबेला पनि ढिला भएको रहेछ, २०३६ सालमा। त्योभन्दा अघिबाटै ठमेलको एक टुरिस्ट पसलमा काम गर्थिन्। त्यहाँ हुँदैदेखि उनी थैलीहरू बनाएर बेच्थिन्। बिहेअगावै उनले न्यूरोडमा एक सिलाइ पसलमा काम सिकेपछि उनले लुगा सिलाउन जानेकी हुन्।
पूर्णशोभालाई उमेरले गाँज्दै गए पनि उनले कामबाट हात बिसाएकी थिइनन्। टहरामा बस्न थालेपछि पनि त्यहीँ थैलीसँगै चाउचाउ, चक्लेट लगायत अन्य खुद्रा सामान बेच्थिन्।
पछिल्लो समय भने उमेरका कारण काम गर्न गाह्रो छ। त्यसैले थैली मात्र बनाउँछिन्। फेरि स्वयम्भूदेखि ठमेल जान गाह्रो हुने भएकाले सामान पुर्याउन जानेक्रम बन्द भएको धेरै भयो। तर त्यहाँ चिनजान भएकी साहुनी उनलाई बेलाबेला भेट्न आउँछिन्।
'साहुनीले ग्यास, चामल दिन आउँछिन्। अहिलेसम्म पनि मलाई हेरिरहेकी छन्,' पूर्णशोभाले भनिन्।
जीवन भर हात चलाएर पालिएकी पूर्णशोभा अचेल अरूका भरका बसिरहेकी छन्। आफूले बनाएका थैली कहाँ कसरी बिक्री भइरहेको छ पनि उनलाई थाहा छैन।
तर उनी खुसी हुँदै भन्छिन्, 'उनीहरूले जहाँ बेचे पनि पैसा ल्याइदिन्छन्। शौचालय पनि बनाइदिन्छु भनेका छन्। राम्रै गरिरहेका छन्।'