तपाईंहरूले २०७२ को भुइँचालो बिर्सनुभएको त छैन?
परकम्पनले बेलाबेला याद दिलाए पनि अरू बेला त किन सम्झिराख्नु र! होइन?
गोरखावासीले भने वैशाख १२ को भुइँचालो फेरि सम्झिरहेका छन्। त्यति बेला गोरखामा मात्र चार सय ७२ जनाको ज्यान गएको थियो। बारपाक, लाप्राक, गुम्दा लगायत थुप्रै गाउँ सोतर भएका थिए।
गोरखावासीले भुइँचालो सम्झनुको कारण भने त्यति बेलाको विनाश होइन। कारण हो, भुइँचालोको इपिसेन्टर अर्थात् केन्द्रविन्दुलाई लिएर उत्पन्न विवाद। भूकम्पको केन्द्र भनेर चिनिएको बारपाक र छिमेकी धार्चे गाउँपालिकाबीच यो विवाद उत्कर्षमा छ।
बारपाकभित्र दुई वडा छन्। यहाँ करिब एक हजार तीन सय घरधुरी छन्। यो बारपाक सुलिकोट गाउँपालिकामा पर्छ। यसको छिमेकी गाउँपालिका धार्चे हो। बारपाकसँग धार्चे गाउँपालिकाभित्र पर्ने लाप्राक र गुम्दा गाउँले सीमा छोएको छ।
भुइँचालो जाँदा धार्चेअन्तर्गत पर्ने गुम्दा गाउँमा धेरै क्षति भएको थियो। भीरकोट भनेर चिनिने चुङ्गङडाँडामा जमिन धसिएको थियो। आगोसमेत बलेको देखिएको भन्दै धार्चेका बासिन्दा भूकम्पको केन्द्र यही हो भन्ने विश्वास गर्छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भूकम्पको केन्द्र बारपाक नै मानिन्छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि गोरखा भुइँचालोको केन्द्रविन्दु बारपाक नै भनेको छ। यसरी वैज्ञानिक रूपमा स्वीकारिएको तथ्य हुँदाहुँदै पाँच वर्षपछि केन्द्रविन्दु 'चोरेर' विवाद गर्न खोजेको बारपाक सुलिकोट गाउँपालिकाले आरोप लगाएको छ।
यसबीच धार्चेले बारपाक हुँदै माछाखोलासम्म निर्माण गरेको साइकल मार्गलाई 'इपिसेन्टर ट्रेल' नामकरण गरेपछि यसै साताबाट केन्द्रविन्दु विवादले उग्ररूप लिएको हो। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गत शनिबार साइकल मार्ग उद्घाटन गरेका थिए।
यति मात्र होइन, भिरकोट डाँडामा टाढैबाट देखिने गरी 'इपिसेन्टर' लेखिएको बोर्ड पनि टाँगिएको छ।
धार्चेले पर्यटक तान्न साइकल मार्गको नाम 'इपिसेन्टर ट्रेल' राखेको बताउने गरेको छ। गाउँपालिका अध्यक्ष सन्तोष गुरूङले भूकम्पलाई ब्रान्ड बनाएर पर्यटक आकर्षित गर्न खोजे पनि बारपाकले कुरो नबुझेको बताए।
‘बारपाकदेखि लाप्राक-गुम्दा हुँदै माछाखोलासम्म साइकल ट्रेल बनाइसकिएको छ। हामीले पर्यटक आकर्षित गर्न यो ट्रेलको नाम इपिसेन्टर ट्रेल राखेको हो। भूकम्पको केन्द्र खोसेको होइन,’ उनले सेतोपाटीसँग भने।
बारपाकदेखि लाप्राक-गुम्दा हुँदै माछाखोला करिब ३८ किमी लामो साइकल मार्ग निर्माण गरिएको गुरूङले जानकारी दिए। यो मार्ग निर्माण गर्न नेपाल पर्यटन बोर्डले १७ लाख र युएनडिपीले १३ लाख रूपैयाँ बजेट दिएका थिए। यो रकमबाट साइकल मार्ग बनाउनुका साथै मार्गमा संकेत चिह्न र होर्डिङ बोर्डसहित अन्य पूर्वाधार निर्माण गरेको अध्यक्ष गुरूङले जानकारी दिए।
विवाद बढ्दै गएपछि बारपाक गाउँनजिकै स्थानीय बासिन्दा र वन समूह मिलेर धार्चे जाने सडक बन्द गरेका छन्।
इपिसेन्टर खोस्न खोजेको र करिब चार करोड रूपैयाँको रूवीनाला ट्रेल निर्माणमा आफूहरूसँग समन्वय नगरेको भन्ने बारपाकीहरूको भनाइ छ। उनीहरूले बारपाक गाउँदेखि माथि गुम्बानजिकै लाप्राक जाने सडक खण्डमा ढुंगामुढा राखेर अवरोध गरेका छन्।
‘हाम्रो इपिसेन्टर माथि लग्यो भनेर बारपाकीले बाटो बन्द गरेका छन्,’ उनले भने, ‘बारपाकीले कुरा बुझेनन्। इपिसेन्टर ल्याएको होइन। साइकल ट्रेलको नाम मात्रै इपिसेन्टर ट्रेल राखेको हो।’
उनले अगाडि भने, ‘हामीले इपिसेन्टर हाम्रोमा पर्छ भनेको छैन। पर्यटनको बोर्डर हुन्न। सीमा विवाद छन् भने सीमाविद् ल्याएर हल गर्न सकिन्छ।’
धार्चेको यो कुरा मान्न बारपाक तयार छैन। सुलिकोट बारपाक गाउँपालिका-१ का अध्यक्ष रोशन विकले प्रदेशमन्त्री नै ल्याएर धार्चेले इपिसेन्टर उद्घाटन गर्नुले मनसाय प्रस्ट हुने बताए।
‘पाँच वर्षपछि आएर धार्चे गुम्दामा भूकम्प इपिसेन्टर साइकल ट्रेल भनेर मन्त्रीले नै विवादित कार्यक्रम उद्घाटन गरे,’ उनले सेतोपाटीसँग भने, ‘बारपाक नै केन्द्र भनेर स्मृति पार्क बन्दैछ अनि किन धार्चेमा इपिसेन्टर लेखिराख्नुपर्यो?’
उनले अगाडि भने, ‘साइकल ट्रेलको नाम राख्दा हामीलाई आपत्ति होइन। तर, गुम्दाको डाँडामा किन इपिसेन्टर लेखियो?’
सीमा विवादबारे यसअघि जिल्ला समन्वय समितिमा छलफल गरी निकास खोजेको नजिर रहेको उल्लेख गर्दै अहिले पनि समाधानका लागि धार्चे तयार हुनुपर्ने उनले बताए। समाधान नखोजेसम्म सडक अवरोध नखोल्ने उनी बताउँछन्।
भूकम्पमा परेकाहरूको स्मृतिमा बारपाकमा भूकम्प स्मृति पार्क बन्दैछ। २०७३ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले पार्क शिलान्यास गरेकी थिइन्। करिब १३ करोड रूपैयाँ लागतमा बन्ने पार्कमा भूकम्प स्मृति स्तम्भ निर्माण हुँदैछ। त्यस बेला भूकम्पबाट मुख्य रूपमा प्रभावित १४ जिल्ला सम्झाउने गरी १४ वटा खम्बासहित स्मृति स्तम्भ निर्माण गर्न लागिएको हो। यी खम्बामा मृतकहरूको नाम पनि लेखिनेछ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले इपिसेन्टर तोडमोड गर्न नहुने बताए।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्थापित सत्यलाई अब कसैले तोडमोड गरेर हुने कुरा होइन,’ उनले भने, ‘इपिसेन्टरबारे भ्रम सिर्जना गर्न खोज्नुको कुनै अर्थ छैन।’
गाउँपालिका तर्फबाट धार्चे पहाडको काखमा रहेका सबै तीन गाउँपालिका समेटेर ट्रेकिङ मार्ग बनाउन गुरूयोजना तयार गर्नेबारे पनि छलफल भइरहेको भट्ट बताउँछन्।
केन्द्रविन्दु नै बदल्ने गरी भएका गतिविधिप्रति भने गाउँपालिकाको आपत्ति रहेको उनको भनाइ छ।