आफ्नै संगठनमा कार्यरत् व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ।
सिंगापुर प्रहरीमा कार्यरत् धरानका २२ वर्षीय आइतराज माबोविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको हो।
भदौ २६ गते जिल्ला अदालत सुनसरीले माबोविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
श्रीमती सोनियाङ्मा लिम्बूको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले माबोविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। धरान उपमहानगरपालिका-११ बसोबास रहेका माबोको स्थायी घर झापा अर्जुनधारा नगरपालिका-४ हो।
‘आफ्नो संगठनमा कार्यरत् नेपाली युवालाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखालाई सोबारे सोधेको छ,’ सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने, ‘मुद्दा चलाउने निकाय इलाका प्रहरी कार्यालय धरानले इन्टरपोल शाखामा सो घटनाबारे जानकारी पठाइसकेको छ।’
माबोबारे सिंगापुर प्रहरीले मागेका आवश्यक कागजात हालसालै पठाइएको जानकारी इन्टरपोल शाखाले दियो।
उक्त जानकारी पठाएपछि ती युवाले सिंगापुर प्रहरीमा आफ्नो फेसबुक एकाउन्ट ह्याक गरी कसैले श्रीमतीलाई आत्महत्या दुरुत्साहनमा ‘भूमिका खेलिदिएको’ भन्दै निवेदन दिएका छन्।
‘उनको फेसबुक एकाउन्ट ह्याक भएको हो हैन, त्यसबारे अहिले सिंगापुर प्रहरीले अनुसन्धान गरिरहेको छ, सो अनुसन्धानपछि उसले आवश्यक कदम चाल्न नेपाल प्रहरीलाई भन्ने छ र बाँकी प्रक्रिया अघि बढ्छ,’ इन्टरपोल शाखाका एक अधिकारीले सेतोपाटीसँग भने।
माबोविरूद्धको उक्त पक्राउ पुर्जी इलाका प्रहरी कार्यालय धरानको नाममा जारी भएको थियो। सात दिनभित्र पक्राउ नपरे ३५ दिनभित्र म्याद तामेल गराउन प्रहरीलाई अदालतको आदेश थियो।
अदालतको आदेशबमोजिम धरान प्रहरीले माबोको घरमा म्याद तामेल गराइसकेको छ।
गत भदौ २२ गते बिहान माबोकी श्रीमती २५ वर्षीया सोनियाङ्मा लिम्बू आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र आत्महत्या दुरुत्साहन भएको व्यहोरा उल्लेख गर्दै प्रहरीले माबोसहित उनको परिवारका चार सदस्यविरूद्ध अदालतमा मुद्दा पुर्याएको थियो।
उक्त मुद्दामा पक्राउ परेका २० वर्षीय हेमकुमार माबो, २८ वर्षीया सञ्जु माबो र २५ वर्षीया बिमला माबोलाई अदालतले जनही एक लाख ५० हजार धरौटी माग गरी असोज २१ गते रिहा गरेको थियो।
माबो र लिम्बूको बिहे भएको तीन महिना मात्रै भएको थियो।
प्रमाणयुक्त अनुसन्धान नभएको पीडितको आरोप
पीडित पक्षले भने प्रहरी अनुसन्धानमा चित्त बुझाएको छैन। पीडितको भनाइ छ- सोनियाङ्मालाई हत्यापछि झुण्ड्याइएको हो।
बुवा शेरबहादुर लिम्बूले प्रहरी अनुसन्धानमा असन्तुष्टि जनाउँदै प्रदेश प्रहरी कार्यालयमा निवेदन नै दिएका छन्। निवेदनमा ‘कर्तव्यबाट घटना घटाएर नै आफ्नी छोरीको ज्यान लिएको’ उल्लेख गरेका छन्।
यस सम्बन्धमा प्रहरीलाई खबर आएपछि पनि लाशको मुचुल्का उठाउँदा त्रुटि गरिएको आरोप उनको छ।
सोनियाङ्माको मृत्यु भदौ २२ गते साढे ९ बजे भएको थियो। प्रहरीले घटनास्थल मुचुल्का उठाउँदा भोलिपल्ट २३ गते साढे ९ बजेको बनाएको थियो।
‘यो त गम्भीर लापरबाही भयो,’ पीडितका कानुन व्यवसायी सुमनजंग कार्कीले भने, ‘त्यसैदिन लाश पोष्टमार्टम गरिएको भए प्रमाणहरू सुरक्षित बन्न सक्थे।’
सोनियाङ्माको लाश पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो। प्रतिष्ठानले दिएको लाशजाँच रिपोर्टमा सो दिन कुन समयमा शव प्राप्त भएको भन्ने नखुलाइएको उनले बताए।
त्यसकारण जाहेरीविरूद्धको प्रतिकूल राय प्रदान गर्ने गरी प्रहरीबाट अनुसन्धान सुरू भएको उक्त निवेदनमा उल्लेख गरिएको छ।
लिम्बूको शवको मुचुल्का उठाउन प्रहरी पुग्दा डोरी काटेर शव भुइँमा राखिएको थियो।
प्रहरीले पीडितका आफन्त नआएसम्म शव जाँच नगर्ने भन्दै भोलिपल्ट मात्र पोस्टमार्टम र लाश जाँच मुचुल्का उठाएको थियो।
लिम्बू र माबोको बिहे असारमा भएको थियो। बिहे भएको दुई महिना नपुग्दै माबो सिंगापुर गएका थिए।
लिम्बू सिंगापुर गएपछि श्रीमान-श्रीमतीबीच असमझदारी बढेको थियो। असझदारी बढेपछि माबो परिवारले लिम्बूलाई ‘मानसिक यातना’ दिँदै आएको पीडित पक्षको आरोप छ।
प्रहरीले सकेसम्म प्रमाणहरू जुटाएर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको दाबी गरेको छ। ‘हामीले निष्पक्ष, पारदर्शी र प्रमाण जुटाएरै अनुसन्धान प्रतिवेदन बुझाएका छौं,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले भने, ‘यसमा पीडित परिवारले चित्त बुझाउनु भएन भन्ने सुनिएको छ, हामीले सकेसम्म राम्रो काम गरेका छौं।’
जिल्ला सरकारी वकिल कार्यालयले पनि अनुसन्धानमा त्रुटि नदेखिएको बताएको छ। ‘लाशजाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट झुन्डिएरै आत्महत्या भएको आएको देखिन्छ, आत्महत्या दुरुत्साहन भएको देखिन्छ, सोहीअनुसार हामीले मुद्दा अगाडि बढायौं,’ जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले भने, ‘पीडितले अनुसन्धानमा लापरबाही भएको भन्नुभएको छ, उहाँहरू माथिल्लो निकायमा पनि पुग्नुभएको छ, भोलि थप अनुसन्धान होला।’
सुनियाङ्मा मृत्यु प्रकरण अहिले उच्च अदालत विराटनगरमा विचाराधीन छ।
अनुसन्धानबारे छानविन गर्न एसएसपी नेतृत्वमा समिति
प्रहरीले अनुसन्धानमा त्रुटि भएको पीडितको निवेदनबारे छानविन भइरहेको बतायो।
प्रदेश १ प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार पीडितको शंका निवारणका लागि प्रहरी अनुसन्धानमाथि छानविन गर्न समिति गठन गरिएको छ।
संघीय प्रहरी इकाइ धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी नेतृत्वमा छानविन भइरहेको कोइरालाले बताए।
‘पीडितले नै घटना अनुसन्धानमा लापरबाही भएको उजुरी दिएपछि हामीले छानविन गरिरहेका छौं, छानविन समितिले रिपोर्ट दिएपछि के भएको हो भन्न सकिन्छ।’
यो पनि हेर्नुहोस्
सिंगापुर प्रहरीमा काम गर्ने आइतराज माबोविरूद्ध अदालतको पक्राउ पुर्जी