बाग्लुङ नगरपालिका ४ की ५४ वर्षीया एक महिलालाई गत साता हल्का ज्वरो आयो। ज्वरो आएदेखि नै परिवारले होम आइसोलेसनमा राखे। पछि उपचारका लागि अस्पताल पुर्याए।
स्वास्थ्यकर्मीले उनलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरे।
धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले उनको स्वाब लिएर परीक्षणका लागि पोखरा पठाए। तीन दिनपछि गत शुक्रबार उनको रिर्पोट पोजेटिभ आयो।
‘कोरोना टेष्टको रिपोर्ट पोजेटिभ आउनेबित्तिकै अञ्चल अस्पतालको आइसोलेसनमा लगेर राख्यौं’, ती महिलाका श्रीमानले सेतोपाटीसँग भने।
ती महिलालाई दम र सुगरको पनि समस्या थियो। घरमै आइसोलेसन बस्दा नै उनलाई अक्सिजनको कमी भइसकेको थियो। अस्पतालको आइसोलेसनमा लगेर उनलाई अक्सिजन दिएर राखियो। अक्सिजन नहुँदा बोल्न गाह्रो हुने र थप उपचार गर्नुपर्ने देखेर उनलाई परिवारले काठमाडौं लैजाने निर्णय गरे।
थप उपचारका लागि उनका श्रीमानले सोमबार बिहानै हेलिकप्टर बोलाए, र श्रीमतीलाई हेलिकप्टरमा राखेर काठमाडौंको ह्याम्स अस्पताल लगे।
उनका श्रीमान राजनीतिमा संलग्न छन्।
‘स्टेप-स्टेपमा सघन उपचार गर्नुपर्छ भनेर श्रीमतीलाई हेलिकप्टरबाट काठमाडौं लगेको हो’, उनले भने, ‘हेलिकप्टर आफैंले चार्टर गरेको हुँ।’
बाग्लुङ जिल्ला अस्पतालमा उपचार गर्दा भने शुल्क नलागेको उनले बताए।