सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई घरघरै पुगेर निगरानी गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'होम आइसोलेसन' मा बस्ने संक्रमितहरू बाहिर निस्किँदा संक्रमण थप फैलिएको ठहर गर्दै त्यस्ता संक्रमितहरूको निगरानी गर्ने तयारी गरेको हो। मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले त्यसका लागि उपत्यकाका टोलटोलमा कोभिड निगरानी समूह गठन गरिने जानकारी दिए।
'प्रत्येक वडाभित्र कम्तिमा ५० घरलाई समेट्ने गरी एउटा कोभिड निगरानी समूह गठन हुन्छ। त्यहीँ समूहले घरमा रहेका संक्रमितको निगरानी गर्छ,' श्रेष्ठले भने।
उनले उक्त समूहमा टोलका समाजसेवी, स्वास्थ्यकर्मी र अन्य सक्रिय व्यक्तिहरूलाई समावेश गरिने जनाए।
अब उक्त समूहले नै आफ्ना टोलमा संक्रमित छ वा छैन भनेर अनुमगन गर्नेछ।
अनुगमनपश्चात कुनै घरमा संक्रमित रहेको पाइए समूहले ती संक्रमित घरमा बसिरहेको छ वा छैन भनेर पनि निगरानी गर्नेछ।
श्रेष्ठले भने, 'संक्रमित होम आइसोलेसनमा बसेको वा बाहिर घुमेर हिँडेको छ भनेर समूहले निगरानी गर्छ। साथै संक्रमितको सम्पर्कमा आएका मानिसहरू पनि क्वारेन्टिनमा बसेका छन् वा छैनन् भनेर हेर्छ।'
साथै, होम आइसोलेसनमा बस्दा संक्रमितलाई स्वास्थ्यमा गम्भीर समस्या देखिए अस्पताल लैजाने काम पनि उक्त समूहले नै गर्ने श्रेष्ठ बताउँछन् र बसाइकै क्रममा संक्रमितलाई थप सहायता चाहिए उक्त समूहले नै सहयोग गर्नेछ।
'भक्तपुरमा कुनै संक्रमितलाई केही सामान चाहियो भनेर त्यहाँका समूहले किनेर घरमै पुर्याइदिनुहुन्छ। त्यसरी ल्याइदिएको सामानको पैसा संक्रमितसँग छ भने स्वयं व्यक्तिले तिर्छ, नत्र नगरपालिकाले तिर्छ,' उनले भने।
पछिल्लो समय उपत्यकामा संक्रमण तीव्र फैलिँदै गएपछि मन्त्रालयले संक्रमितलाई घरमै राख्नका लागि कडाइ गर्न लागेको हो।
तर श्रेष्ठले भने, 'यो रणनीतिबाट संक्रमितलाई ‘तँ घरमा बस्’ भनेर डण्डा लगाउन खोजिएको हैन। सहयोग नै होस् भनेर गर्न खोजिएको हो।'
उनले अहिले संक्रमितहरू घरबाट बाहिर निस्किएका कारण संक्रमण फैलिरहेको भन्दै त्यस्ता व्यक्तिहरूलाई घरभित्रै राख्न यस्तो तयारी गरिएको जनाए।
यसका लागि मन्त्रालयले उपत्यकाका सबै पालिकाहरूसँग दिनदिनै छलफल गरिरहेको छ।
'आज बिहानमात्र चांगुनारायण नगरपालिकामा छलफल थियो। दक्षिणकाली, कीर्तिपुर, चन्द्रगिरि, टोखा, बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकासँग छलफल सकियो,' श्रेष्ठले भने, 'शुक्रबारसम्म सबै पालिकाहरूसँग छलफल सकेर काम अघि बढाउँछौं।'
मन्त्रालयले निगरानी समूह गठन गर्ने र त्यसलाई परिचालन गर्ने मुख्य जिम्मेवारी नै स्थानीय तहलाई सुम्पिएको छ।
यस्तै, सुस्ताएको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि व्यापक पार्ने मन्त्रालयको तयारी छ। 'बीचमा कन्ट्याक्ट ट्रेसिङ अलिकति बिरामी थियो तर त्यसलाई फेरि जगाउँदैछौं,' श्रेष्ठले भने।
गत कात्तिक २ गते मन्त्रालयले कोरोनाको उपचार तथा परीक्षण स्वयं व्यक्तिले व्यहोर्ने गरी नयाँ निर्देशिका जारी गरेसँगै परीक्षण ह्वात्तै घटेको छ।
मन्त्रालयले दैनिक २६ हजार जनाको परीक्षण गर्ने क्षमता रहेको जनाए पनि अहिले दैनिक औसत १३ हजार जनाको परीक्षण हुँदै आएको छ। त्यसमा पनि निजी प्रयोगशालाहरूले आधाभन्दा बढी परीक्षण गर्दै आएका छन्।
सरकारी प्रयोगशालाहरूमा भने क्षमताभन्दा तेब्बर कम परीक्षण हुँदै आएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दैनिक १५ सय जनाको परीक्षण क्षमता रहेको बताइए पनि मात्र औसत ५ सय जनाको परीक्षण गरिँदै आइएको छ।
प्रयोगशालाले कन्ट्याक्ट ट्रेसिङबाट स्वाब आउन छाडेपछि परीक्षण घटेको जनाएको छ। मन्त्रालयले स:शुल्क परीक्षण गर्ने निर्णय गरेपछि स्थानीय तहहरूले पनि कन्ट्याक्ट ट्रेसिङ कार्यलाई सुस्त बनाएको थियो।
कति स्थानीय तहले त ट्रेसिङ कार्यलाई नै स्थगित गरेको थियो। तर संक्रमण दिनदिनै थप फैलिँदै गएपछि मन्त्रालयले पुनः कन्ट्याक्ट ट्रेसिङ कार्यलाई ब्युँताएको छ।
श्रेष्ठले कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउन अहिले निरन्तर पालिकाहरूसँग छलफल भइरहेको जनाए।
उनले कतिपय पालिकाहरूले भने राम्रो प्रतिबद्धता पनि गरेको बताए।
उनले भने, 'दक्षिणकाली नगरपालिकाले आफ्ना सबै नगरवासीको नि:शुल्क कोरोना बीमा र पिसिआर परीक्षण गर्दैछ।'
अब भने संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टिनमा बसेका व्यक्तिहरूको पनि परीक्षण गरिने श्रेष्ठको भनाइ छ। त्यस्ता, व्यक्तिहरूको पिसिआर र एन्टिजेन दुबै विधिबाट परीक्षण गरिने उनले जनाए।
उनले यो रणनीति अहिले उपत्यकामा मात्र लागू गरिने भए पनि यो देशव्यापी रूपमा अघि बढाइने बताए।
'अहिले अधिकांश संक्रमित उपत्यकाकै छ। अब यहाँ सुरू गरिसकेपछि देशव्यापी रूपमा जान्छौं,' श्रेष्ठले भने।