सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्ने गृहकार्य गरेको छ।
कोरोना संक्रमित नभएको र संक्रमणको जोखिम नरहेका क्षेत्रमा विद्यालय खोल्ने तयारी गरिएको हो।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारे कार्यढाँचा निर्माण गर्दैछ।
तिहारसम्म विद्यालय खोल्ने कार्यढाँचा बनाइसक्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
‘जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी विद्यालय खोल्न लागिएको हो,’ शर्माले सेतोपाटीसँग भने, ‘कोरोनाको जोखिम नरहेका क्षेत्रमा मात्रै भौतिक रूपमा विद्यार्थी उपस्थित हुने गरी विद्यालय खोलेर पठनपाठन गर्न कार्यढाँचा बनाइँदैछ।’
विद्यालयहरू खोल्न मन्त्रालयले स्थानीय तहको पनि सहयोग खोजेको छ। कोरोनाको जोखिम भए वा नभएको सम्बन्धित स्थानीय तहले विज्ञहरूको परामर्शमा पहिचान गरेपछि परिवेश हेरेर मात्रै विद्यालय खोल्न दिइनेछ।
‘स्थानीय तहहरूले आफ्नो क्षेत्रमा कोरोना जोखिमको अवस्था विश्लेषण गर्नुपर्ने हुन्छ। जोखिमरहित छ भनेपछि ती ठाउँमा विद्यालय खोल्ने हो,’ उनले भने, ‘यो स्थानीय तहपिच्छे र विद्यालयपिच्छे त्यहाँको कोरोना अवस्थामा भर पर्छ।’
सरकारले छठपछि कोरोना जोखिम नरहेका ठाउँमा विद्यालय खोल्ने गृहकार्य गरेको छ।
मन्त्रालयले बनाउने कार्यढाँचामा कसरी विद्यालय खोल्ने र पठनपाठन जोखिमरहित हुने गरी सञ्चालन गर्ने भन्नेबारे केही मापदण्ड पनि समावेश गरिनेछ।
‘विद्यार्थी संख्या र विद्यालयको भौगोलिक अवस्था हेरेर कक्षा आलोपालो गरी पठनपाठन गर्न पनि सकिन्छ,’ उनले भने, ‘कुनै दुर्गम ठाउँमा विद्यालय छ र त्यहाँ बाहिरका शिक्षक छैनन् वा कोरोना संक्रमण जोखिम छैन भन्ने भयो भने त्यो विद्यालय खोलेर पठनपाठन गर्न सकिन्छ।’
विद्यालयले आफ्नो अवस्था हेरेर कसरी विद्यालय खोल्ने भन्नेबारे तयारी गर्न सक्ने उनले बताए।
‘विद्यार्थी हिँडेर विद्यालय आउँछन् कि गाडी चढेर आउँछन्? यस्ता सबै पक्ष हेरेर सुरक्षित तवरले विद्यालय खोल्न सकिन्छ,’ उनले भने, ‘जोखिमरहित क्षेत्रमा कसरी विद्यालय सुरक्षित तवरले खोल्ने भन्नेबारे स्थानीय तह र विद्यालयहरूले आफ्नो परिवेशअनुसार योजना बनाउन सक्ने भए।’
तर विद्यालय खोलेपछि पनि भौतिक दूरी भने कायम राख्नुपर्ने र शिक्षक तथा विद्यार्थीहरूले अनिवार्य मास्क लगाउनुपर्ने उनले बताए।
सरकारले असार १ गतेदेखि वैकल्पिक माध्यमबाट पनि शिक्षण सिकाइ क्रियाकलापलाई जारी राखेको छ। अनलाइनलगायत माध्यमबाट विद्यार्थीले पठनपाठन गरिरहेका छन्।
तर यो प्रभावकारी हुन नसकेको गुनासो पनि छ। यसबीच सरकारले यो शैक्षिक सत्रलाई नयाँ वर्षपछि पनि केही समय निरन्तरता दिन सक्ने संकेत गरेको छ।
‘यो शैक्षिक सत्र के हुन्छ अहिले नै भन्न सकिन्न,’ शर्मा भन्छन्, ‘केही समय धकेलिन पनि सक्छ।’
देशभर रहेका ३५ हजार विद्यालय एकै किसिमका नभएकोले शिक्षण सिकाइलगायत त्यहाँ हुने महामारीका जोखिम बेग्लाबेग्लै छन्।
आइसोलेसन सेन्टर तथा क्वारेन्टिन बनाइएका विद्यालय निर्मलीकरण गरी पठनपाठनका लागि सुरक्षित बनाउने पनि सरकारको तयारी छ। कोरोना संक्रमण स्थितिबारे विज्ञ, सरोकारवालाले भनेपछि मात्रै विद्यालय खोल्न दिइने पनि उनले बताए।
सरकारले गत चैतदेखि विद्यालय खोलेको छैन।
अनलाइनलगायत विधिबाट पठनपाठन गर्दै शैक्षिक सत्रलाई अगाडि बढाएको छ।
पाठ्यक्रम संष्लेषण गरेर विद्यालय तहमा पठनपाठन भइरहेका छन्।
पछिल्लोपटक मन्त्रिपरिषदले असोज २२ गरे कोरोना जोखिम नरहेका स्थानीय तहमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरी कक्षा चलाउन सकिने भनेपछि शिक्षा मन्त्रालयले यसबारे कार्यढाँचा बनाउन थालेको थियो।