सरकारले कोरोना भाइरसविरूद्धको खोप बजारमा आउनसाथ नेपाल ल्याउने गरी आवश्यक काम सुरू गरेको छ। अहिले चीन, अमेरिका, बेलायत र रुसले विकास गरिरहेका १० वटा खोपहरू तेस्रो चरणको 'क्लिनिकल ट्रायल' मा छन्। यीमध्ये धेरै खोप अबको केही महिनामै बजारमा आउने अपेक्षा गरिएको छ।
सरकारले यीमध्ये कुनै खोप सफल हुनसाथ नेपाल ल्याउने गरी काम अघि बढाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, 'खोप ल्याउनेदेखि प्रयोग गर्नेसम्म आवश्यक पर्ने तयारी जुटाउन योजनाहरू बनाइरहेका छौं।'
तर विकसित भइरहेका कुनै पनि खोप बजारमा आउनसाथ नेपालमा ल्याएर तुरून्त प्रयोग गर्न सहज छैन। त्यसका लागि आवश्यक पर्ने कतिपय पूर्वाधार हामीकहाँ छैन। भोलि प्रयोगमा आउने कुनै पनि खोपलाई माइनस तापक्रममा राख्न परे त्यस किसिमको भण्डारण गर्ने उपकरण 'कोल्ड चेन' नै नेपालमा छैन।
औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको खोप ९० प्रतिशतसम्म मानिसमा संक्रमण रोक्न प्रभावकारी भएको दाबी गरिएको छ। तर उक्त खोपलाई कम्तिमा -७० डिग्रीमा राख्नुपर्ने भनिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्माका अनुसार अहिले नेपालमा ८ देखि २ डिग्रीमा मात्र खोप भण्डारण गर्न सकिन्छ। त्योभन्दा कम तापक्रममा खोपलाई राख्नुपरे नयाँ पूर्वाधार बनाउनुपर्ने उनको भनाइ छ।
डा. शर्मा भन्छन्, 'त्यो भयो भने खोपलाई 'अल्ट्रा कोल्ड चेन' मा राख्नुपर्छ। र अहिले हामीसँग यो छैन। जिरो लेभलबाट काम सुरू गर्नुपर्छ।'
अहिले स्वास्थ्य मन्त्रालयले खोप व्यवस्थापनका लागि आवश्यक पूर्वाधार जुटाउन योजना बनाइरहेको छ। सहप्रवक्ता अधिकारीले अहिले खोप बजारमा आए त्यसलाई कसरी ढुवानी, भण्डारण र प्रयोग गर्ने भन्नेबारे आवश्यक योजना बनाइरहेको बताए। उनले स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कुरा पनि त्यही योजनाभित्र पर्ने जनाए।
तर खोप आइहाले पनि त्यो एकैपटक सबैलाई लगाउन भने सम्भव नरहेको उनको ठहर छ। यो खोप अरू खोप जस्तो नभएको भन्दै डा. अधिकारी भन्छन्, 'अरू खोप भनेको कुनै निश्चित उमेर समूहलाई लगाउने खालका छन्। तर यो खोप सबैलाई लगाउने हो। त्यसैले एकैचोटि ठूलो जनसंख्यालाई लगाउन सकिँदैन। हाम्रो जनशक्तिले पनि त्यो कुरा भ्याउँदैन। त्यही भएर क्रमशः ल्याउने र प्रयोग गर्दै जाने हो।'
२ करोड १० लाख मानिसलाई खोप आवश्यक रहेको अनुमान सरकारले गरेको छ। खोप शाखाका प्रमुख शर्मा भन्छन्, 'हाम्रो अनुमान भनेको ७० प्रतिशत जनसंख्यालाई खोप चाहिन्छ भन्ने हो। तर खोपको मात्रा कति हुन्छ, त्यसलाई भण्डारण गर्न कस्ता कोल्ड चेन चाहिन्छ भनेर चाहिँ खोपको अन्तिम नतिजा नआइ भन्न सकिँदैन।'
अहिले बनिरहेका कतिपय खोप ८ देखि २ डिग्रीसम्म राख्नुपरेमा धेरै पूर्वाधार बनाउनु नपर्ने बताए।
'केही त्यस्ता खोप पनि बनिरहेका छन्। त्यो भयो भने हामीले धेरै पूर्वाधार बनाउनु पर्दैन। यस्ता खालका कोल्ड चेनहरू छन् र त्यसमा केही थप गरे पुग्छ। जिल्ला तहसम्म यस्ता उपकरणहरू छन्,' डा. शर्माले भने।
तर -७० डिग्री तपक्रममा खोप राख्नुपर्ने स्थिति आए नेपालजस्तो अल्प विकसित मुलुकमा त्यो किसिमको पूर्वाधार व्यवस्थान गर्ने जटिल रहेको उनले बताए। उनले भने, 'हाम्रोमा मात्र हैन विकसित मुलुकका लागि पनि चुनौती हुन्छ।'
उनले खोप बजारमा आउनसाथ तुरुन्त नेपाल ल्याउन भने कानुनी अड्चन नभएको बताए। त्यसका लागि मन्त्रालयले समिति पनि गठन गरेको र सबै कुरा उक्त समितिले नै सहजीकरण गर्ने उनी बताउँछन्। उनका अनुसार कुनै पनि खोप प्रयोग गर्नुअघि विश्व स्वास्थ्य संगठनको स्वीकृति आवश्यक पर्छ।
सरकारले कोरोनाविरूद्धको खोप बजारमा आउनसाथ छिटो आपूर्ति गर्न सचिवस्तरीय तीन सदस्य समिति गठन गरेको छ जसमा स्वास्थ्य, पराराष्ट्र र अर्थ सचिव छन्। अहिले यो समितिले विश्वमा विकसित भइरहेका कोरोनाको खोप अध्ययन गर्ने र भोलि खोप कसरी छिटो आपूर्ति गर्ने भन्नेमा काम गरिरहेको छ।
अल्पविकसित मुलुकका लागि खोप उपलब्ध गराउन विश्व बैंक, युनिसेफ लगायत संस्थाले पनि पहल गरिरहेका छन्। चीनले पनि अल्पविकसित मुलुकमा खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।
हामीकहाँ आवश्यक परे आफैं रकम खर्च गरेर पनि किन्ने तयारीअनुसार अर्थमन्त्रालयले श्रोत जुटाउने तयारी गरेको छ।