लेकसाइडको बाराहीघाटमा पानी बेच्न बसेकी पदममाया आले कात्तिक २० गते दिउँसो अचानक भागदौड गर्न थालिन्।
फेवाताल हेर्न आउने पर्यटकलाई बेच्न राखेको पानीलगायत पेय पदार्थ र अन्य सामग्री हतार–हतार लुकाइन् र आफू पनि लुकिन्।
उनलाई यो सब काम गर्न सघाउँदै थिइन्- ११ वर्षीया खुशी पुलामी मगर।
कक्षा ५ मा पढ्ने खुशीको स्कुल कोरोनाले खुलेको छैन, आमालाई दिनहुँ पानी बेच्न सघाइरहेकी छिन्।
पानीको बोतल लुकाउन र आफू लुक्न खुशीले पनि अहिले जानिसकेकी छिन्।
उनीहरूको भागदौड मच्चिनुका कारण क्षणभरमै खुल्यो, जब नगर प्रहरी लेकसाइडमा डुल्न आए।
नगर प्रहरी आएको सुइको पाएपछि पदममायाका आमाछोरी मात्र होइन, त्यतिबेला बाराहीघाट र फुट ट्रेकमा चटपट, चस्मालगायत बेच्न बसेकाहरू पनि उसैगरी भागदौड गरेका थिए।
‘चटपट खान आउनेतिर भन्दा पनि हाम्रो ध्यान त रोडतिरै हुन्छ’, फुट ट्रेकमा चटपट बेच्न बसेकी फूलमाया बिकले भनिन्, ‘पुलिस आइहाल्यो भने कसरी भाग्ने कहाँ भाग्ने त्यही सोचेर बस्छम्।’
जसरी फुटपाथ र फेवाताल किनारमा बसेर पानी, चटपटलगायत बेच्नेले नगर प्रहरीतिर चनाखो भएर ध्यान दिन्छन्, त्यसरी नै नगर प्रहरी पनि लुकीछिपी उनीहरूलाई समाउन आउँछन्।
‘नगर प्रहरीसँग चोर-पुलिस लुकामारीजस्तो हुन्छ हाम्रो त’, फुलमायाले भनिन्।
नगर प्रहरीले लुकिछिपी आएर कयौं पटक समातिएका छन्, तालकिनारका यस्ता खुद्रा व्यापारी।
भागदौडका क्रममा धेरैको अंगभंग नै भएको छ। कोरोना महामारी रोक्न लकडाउन हुनुअघि फुट ट्रेकमा एक्कासी नगर प्रहरी आइपुगे।
फेवाताल किनारमा घुम्न आउनेलाई अमला बेचिरहेकी एक महिला अचानक भाग्नुपर्यो।
अमला बोकेको टोकरी बोकेर भाग्दा उनको खुट्टा भाँचियो, त्यसपछि फेरि उनी फेवाताल किनारमा अमला बेच्न आउन सक्ने अवस्थामा रहिनन्।
‘खुट्टा भाँचिएपछि उनी कहिले पनि यता आइनन्, सायद नसक्ने भइन् होला’, फूलमायाले भनिन्।
फूलमायाका अनुसार नगर प्रहरीले लखेट्दा अर्की एक महिलाको टाउको सड्कियो, उनी पनि फेरि आउन नसक्ने भइन्।
ताल किनारको फुट ट्रेकसँगै जोडिएको छ नेपाल ट्रष्टको मैदान। मैदानको सुरक्षाका लागि ट्रष्टले काँडेतारको बार लगाएको छ। त्यही बार नाघेर हामफाल्दा कयौंलाई काँडेतारले कोतारेको सम्झना फूलमायालाई छ।
लेकसाइडको फुट ट्रेकमा मात्र होइन, पोखराकै व्यस्त व्यापारिक केन्द्र चिप्लेढुङ्गा, महेन्द्रपुललगायतका स्थानमा पनि फुटपाथमा व्यापार गर्नेको हालत उही छ।
चिप्लेढुङ्गामा तरकारी व्यापार गरिरहेकी पार्वती तिमिल्सिनाका अनुसार नगर प्रहरीले चिप्लेढुङ्गा, महेन्द्रपुल लगायतका स्थानमा पनि उसैगरी छापा मार्छ।
नगर प्रहरी छापा मार्न आउँदा उनीहरू पनि भएभरका सामान पोको पारेर फरार हुन्छन्। साँघुरो छ, त्यसमाथि पार्किङले सडकपार गर्नसमेत गाह्रो हुने व्यस्त सडक। यसरी भाग्दा सडकमा गुडिरहेका सवारीसँग ठोक्किन पुग्छन्। गुडिरहेको सवारीमा ठोक्किएर गत माघमा एक जना महिला दुर्घटनामा परेको पार्वतीले बताइन्।
नगर प्रहरी आउनेबित्तिकै किन भाग्छन् त उनीहरू?
बाराहीघाटमा पानी बेच्ने पदममाया भन्छिन्, ‘भागेन भने नगरप्रहरीले सबै सामान उठाएर लैदिन्छन्।’
लुकिछिपी आएका नगर प्रहरीले पदममायाले बेच्न राखेको पानी पटक-पटक उठाएर लगिदिएका छन्।
पानीमात्र होइन, चटपट, अमला, तरकारी, फलफूललगायत जे भेटाउँछ सबै सामग्री नगर प्रहरीले लैजान्छ।
नगर प्रहरीले लगेका सामान फिर्ता पाउन भोलिपल्ट नगर प्रहरीको कार्यालय जानुपर्छ, त्यहाँ कम्तिमा १ हजार रुपैयाँ जरिवाना तिरेरमात्र फिर्ता पाइन्छ।
नगरपालिकालाई जरिवाना तिरेर सामान फिर्ता लिन जाँदा आधा पनि सामान हुँदैनन्।
फेवाताल किनारमा चटपट बेच्ने फूलमायाको सबै सामग्री केही समयअघि नगर प्रहरीले लगिदियो, उनले फिर्ता पाउँदा चटपट बनाउने चाउचाउ, अमिलोलगायतका सामान फिर्ता पाइनन्।
पदममायाले पनि पानी र कोकका बोतललगायत ‘फास्ट फुड’ फिर्ता पाइनन्।
‘जरिवाना तिरे पनि आधा सामान उनीहरूले खाइदिन्छन्,’ पदममायाले भनिन्।
पदममायाले यसरी व्यापार गर्दा नगर प्रहरीसँग जुध्न गरको संघर्ष उनकी ११ वर्षीया छोरीले दिनहुँ देखेकी छिन्। उनले पनि प्रहरीको आँखा छलेर व्यापार गर्न सिकेकी छिन्।
एकदिन नगर प्रहरी झुक्याएर पदममायानिर आए। छोरी खुशी पनि आमासँगै थिइन्। नगर प्रहरीले किन यहाँ बसेको भनेर गाली दिए।
खुशीले प्रहरीलाई जवाफ दिइन्- व्यापार नगरे के खाएर बाँच्ने अंकल?
खुशीले गरेको प्रश्नको जवाफ नगर प्रहरीले दिन सकेन, त्यसदिन उनीहरूको सामान प्रहरीले उठाएन।
सडकमा होस्, या फेवाताल किनारमा। त्यहाँ व्यापार गर्न आउनेहरूको कहानी दर्दनाक छ।
फूलमाया बाराहीघाटमा पानी बेच्छिन् भने उनका श्रीमान दिलबहादुर पुलामी मगर फेवातालमा डुङ्गा चलाउँछन्।
कोरोनाका कारण पर्यटक नआउँदा दिलबहादुरले डुङ्गा चलाउन पाएनन्, अहिले ज्यामी काम गर्न थालेका छन्।
पदममायाका दुई छोरा र एक छोरी तिनै जना कमाउने बेला भएको छैन। कोरोना महामारीले पढाइ पनि सुचारू छैन। लकडाउनयता उनको परिवार फेवातालको डिलमा पुगेको छ।
तालकिनारमा चटपट बेच्ने फूलमाया रामेछापबाट पोखरा आएको डेढ वर्ष भयो। उनका श्रीमानको बाटोमा लडेर मृत्यु भएको ५ वर्षपछि उनी कामको खोजीमा पोखरा आएकी थिइन्। श्रीमान बितेपछि सानै रहेका ४ छोरी र २ छोरासहित पोखरा आएकी फूलमायाले सुरूमा ज्यामी काम गरिन्।
बाराहीघाटमा पर्यटकले लगाएको लाइफ ज्याकेट धोइन् ।
लकडाउन हुनुभन्दा ३ महिनाअघि मात्र उनले तालकिनारमा चटपट बेच्न थालेकी थिइन्।
‘न भनेको बेला काम पाइने न त चटपट बेचेरै खान पाइने, फूलमायाले भनिन्, ‘पुलिसको आँखा छलेर कति दिन छोराछोरी पाल्ने हो।’
फूलमायालाई पनि उनका जेठी छोरी अमिकाले सघाउँछिन्। चटपट बेच्छिन्, पुलिस आयो भने सामान बोकेर तुफान दौडिन्छिन्।
यसरी भागाभाग गर्न भन्दा अरू काम गर्न नै ठिक मान्छिन्, फूलमाया।
‘सरकारले हामीलाई काम दिन पर्यो, नत्र चटपट बेच्न दिन पर्यो’, उनले भनिन्, ‘मलाई त यही फेवाताल सफा गर्ने काम दिए पनि हुन्छ ।’
फेवाकिनारमा चस्मा बेच्न हिँडेका लोकबहादुर कार्की नगरपालिकाले आफूहरूका लागि एउटा सिस्टम बनाइदिनुपर्ने बताउँछन्।
‘खान नपाएरै यसरी हिँड्नु परेको हो नत्र यो दु:ख कसले गर्छ र’, उनले भने, ‘हाम्रा लागि एउटा व्यवस्था गरिदिए बरू हामी नगरपालिकालाई कर तिर्छम्।’
नगरपालिकाले समय र ठाउँ तोकिदिनुपर्ने भन्दै उनले फुटपाथमा व्यापार गर्दा सरकारलाई केही हानी नहुने बताउँछन्।
‘नगरपालिका आएर अत्याउने र भगाउने गर्छ’, लोकबहादुर भन्छन्, ‘यसरी लखेटेर कहाँ पुर्याउने हो?’
फेवाताल किनारमा व्यापार गर्ने खुद्रा व्यापारीलाई लखेट्ने नगरपालिकाले मापदण्ड मिचेर बनेका संरचना र ठूला व्यवसाय हटाउन भने कुनै चासो दिएको छैन। अहिले पनि ताल किनारमा होटल, रेष्टुरेन्टलगायत सञ्चालन गर्न धमाधम संरचना बनिरहेका छन्।
सर्वोच्च अदालतले १६ वैशाख २०७५ मा फेवाताल संरक्षण गर्न आदेश दिए पनि अहिलेसम्म सरकारले संरक्षणका कुनै काम अघि बढाएको छैन। पोखरा महानगरले नै गरेको अध्ययनअनुसार तालको वरिपरि १ हजार रोपनीभन्दा बढी जमिन तालको नाममा ल्याउनुपर्ने र ५ सयभन्दा बढी संरचना भत्काउनु पर्ने उल्लेख छ।
‘महानगरले टहरा बनाएर व्यवसाय गर्नेलाई केही गर्दैन, चटपट, चस्मा, पानी बेच्नेलाई मात्र लखेट्छ,’ लोकबहादुर भन्छन्,‘पोखराका सडक, सार्वजनिक जमिनमा संरचना बनाउनेलाई पनि महानगरले कुनै कारबाही अघि बढाएको छैन।’
पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने तिहारपछि उनीहरुलाई बस्न नदिने बताउँछन्।
‘सार्वजनिक ठाउँ मिच्न दिने त कुरा भएन’, उनी भन्छन्, 'कि त उनीहरू आफैंले कुनै ठाउँ लिएर बस्नुपर्यो, फुटपाथ र सार्वजनिक ठाउँमा बसेर खुद्रा व्यापार गर्न पाइँदैन।’
सार्वजनिक ठाउँमा बनेका संरचना भत्काउन महानगरले पहल गरिरहेको उनले बताए।
बाहिरबाट आउनेले फुटपाथ र सार्वजनिक ठाउँमा व्यापार गरेको भन्दै मेयर जिसीले शहरको सौन्दर्यका लागि पनि उनीहरूलाई नगर प्रहरीले लखेट्नुको विकल्प नभएको बताए।
‘कहाँ कहाँबाट आएर भरिन्छ, कहाँ कहाँबाट,' उनले भने, ‘जति व्यवस्थापन गर्छु भने पनि नपुग्ने।’
सडकमा व्यापार गरेर गुजारा चलाउने विपन्न नागरिकलाई लखेट्ने नीति लिएको महानगरले सडकमा पार्किङ गर्ने सवारी साधन हटाउन सकेको छैन। पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, लेकसाइडका सडकका झण्डै आधा भाग पार्किङमा राखिएका निजी सवारीले भरिएका हुन्छन्।
महानगरको नगर परिषदले सडकमा शून्य पार्किङको नीति पारित गरेको झण्डै ३ वर्ष पुगे पनि अहिलेसम्म एउटै सडक पनि पार्किङरहित छैनन्। सडकमा निजी सवारी पार्किङ गर्न नगरपालिकाले केही ठाउँमा ठेक्का लगाएको थियो। अहिले सडक पार्किङ ठेक्कासमेत नरहेको महानगरले जनाएको छ।
सडकमा साग बेच्नेलाई लखेट्ने गाडी राख्नेलाई केही नगर्ने राज्यको नीति नै गलत भएको नारीवादी अर्थशास्त्री डाक्टर चन्द्रा भद्रा बताउँछिन्। सडकमा डोको नाम्लो लिएर तरकारी बेच्न बसेकालाई लखेट्दै गर्दा प्रहरीसँग आफैं भिड्न पुग्ने भद्राले सडक व्यापारीको पुँजी भनेकै डोको र नाम्लो भएको बताइन्।
‘उनीहरूको पुँजी सानो छ, ठूलो पुँजीले विस्थापित गर्छ’, उनले भनिन्, ‘उनीहरूलाई त सम्मान पनि दिँदैन, दुव्यवहार गरेर लखेट्छन्।’
सानो पुँजीको आर्थिक गतिविधिलाई राज्यले संरक्षण गर्नु पर्नेमा उल्टै लखट्ने गरको भन्दै उनले कमजोर देखेर हेपेको बताइन् ।
‘सडकमा तरकारी र फलफूल बेच्नेहरु बलिया छैनन्, उनीहरूलाई उठाएर गाडी पार्किङ गर्छन्,' उनले भनिन्, ‘उनीहरूको संगठन भएका कारण पनि राज्यले यति धेरै हेपेको हो।’