बाह्रैमास फूल फुल्छ ताङतिङमा। एउटा फूल सुकेर नजाँदै अर्को फुल्न थाल्छ। जहिले पनि फुलबारीमा सयपत्री मगमगाउँछ।
ताङतिङका फुलहरू यसै फुलेका हैनन्। गाउँमा ढकमक्क फुल फुलाउन ताङतिङ आमा समूहले दिलोज्यान लगाएका छन्। त गाउँमा फूल फुलिरहेका छन्।
कास्कीको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक हो, ताङतिङ गाउँ। जहाँ अन्नपूर्ण र लमजुङ हिमालको दृश्य मात्र होइन, गुरुङ जातिको संस्कार प्रत्यक्ष देख्न सकिन्छ। गुरुङ संस्कृतिअनुसार समूहमा मिलेर फूल खेती गरेका ताङतिङ आमा समूहका महिलाले बगाएको पसिना सयपत्रीमा सिञ्चित भएको छ।
‘गाउँमा आउने पर्यटकलाई फूलमाला लगाइदिन मात्र होइन, फूल खेती गरेपछि हामीलाई पनि आम्दानी भएको छ,’ आमा समूहकी अध्यक्ष पुष्टीमाया गुरुङले भनिन्। उनका अनुसार ताङतिङमा आमा समूहले सामूहिक फूल खेती थालेको तीन वर्ष भयो। रोपेकै वर्ष डेढ लाखको फूल बेचेको आमा समूहले गत वर्ष झण्डै तीन लाखको बेच्यो । यसपटक भने अघिल्लो वर्षजस्तो व्यापार नभएको आमा अध्यक्ष पुष्टीमाया बताउँछिन्।
कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको बेला ताङतिङ छुट्ने कुरा थिएन। यसको सोझो असर ताङतिङमा फुलेको फूलमा पर्यो। आमा समूहको व्यवसायमा असर पर्यो।
त्यसो त ताङतिङमा पर्यटक राख्न खोलिएका होटलदेखि होमस्टेसम्मलाई पनि उत्तिकै असर परेको छ।
कोरोना महामारीका कारण यस वर्ष आमा समूहले रोपेको फूल अघिल्ला वर्षजस्तो बिक्री भएन। लकडाउन खुले पनि मादी गाउँपालिकामा भने फूल बेच्ने सिजनमै ‘लक’ भयो। दसैं र तिहारमा गाउँपालिकाले लकडाउन गरेको असर गाउँको फूलमा पर्यो।
गाउँपालिका लकडाउनका बाबजुद पनि आमा समूहले एक लाख रुपैयाँ बराबरको फूल पोखरा निर्यात गर्न सफल भएको पुष्टीमायाले बताइन्। बाँकी फूल भने अहिले ओइलिएर झर्ने तरखरमा छन्।
गुरुङहरू समूहमा चल्छन्। फूल खेती गर्न पनि आमा समूहले समूहमै काम गरे। गाउँमा रहेका दुई सय घरधुरी एउटै आमा समूहमा संगठित छन्। धेरै जना भएपछि फूल खेती गर्न तीन वटा उपसमूह बनाए। बाटोमुनि पण्डित टोलमा एउटा, बाटोमाथि घोताने टोल र गैह्रीथर टोलमा अर्को।
यी तीन समूहले छुट्टाछुट्टै फूल खेती गरेका छन्। समूहका महिलाले बिहान-बेलुका फूल खेतीका लागि पालैपालो समय दिन्छन्। समूहले बिक्री गरेको फूलबाट आउने पैसा समूहमा काम गर्नेहरुले बराबर भाग लगाएर लिन्छन्।
आमा समूहमा आवद्ध भए पनि फूल खेतीमा भने अनिवार्य आवद्ध हुन पर्दैन। जसलाई मन लाग्छ उही काम गर्न जान्छन्। काम गर्न जानेले मात्र पैसा पाउँछन्।
आमा समूहले फूल रोप्नुअघि गाउँ आउने पाहुनाका लागि घरघरै रोपेको फूल प्रयोग हुन्थ्यो। जसै पर्यटकको चाप बढ्थ्यो, उसै फूलको अभाव। आमा समूहले फूल रोपे पनि अहिले पनि व्यक्तिगत रुपमा फूल लगाइन्छ, तर नपुगेर गाउँमै आमा समूहले बनाएको फूल बिक्री हुने अध्यक्ष पुष्टीमाया बताउँछिन्।
आमा समूहले फूल रोपेपछि गाउँका होटल र होमस्टेसम्मलाई सजिलो भएको छ। ताङतिङमा होमस्टे चलाएकी पुनम गुरुङले आफ्नो होमस्टेमा आउने पाहुनालाई आमा समूहले नै रोपेको फूल किनेर लगाइदिने गरेको बताइन्। उनका अनुसार आमा समूहले एउटा गुच्छा फूल पाँच रुपैयाँमा र एउटा मालाको मूल्य ५० रुपैयाँ तोकेको छ।
कोरोना महामारी आउनुअघि गाउँमा विभिन्न कार्यक्रम र पाहुनाको चाप बढ्दा फूलको व्यापार पनि गाउँमै बढेको थियो। आमा समूहले पाँच रोपनी जग्गामा लगाएको फूल गाउँमै धेरै खपत हुन्थ्यो।
‘कोरोना महामारी फैलिएपछि त गाउँमा न पाउना आउँछ न फूल नै बिक्री हुन्छ,’ पुनमले भनिन्, ‘हाम्रो गाउँको फूल यसपालि कसैले नलगाई ओइलाउने भयो।’
होमस्टे व्यवस्थापन समिति ताङतिङका सचिव समेत रहेकी पुनमले फूल बिक्री नहुँदा आमा समूहको दु:ख पनि खेर गएको बताइन्।
ताङतिङ गाउँमा फूल खेती गर्न मादी गाउँपालिकाले पनि सहयोग गरेको छ। गाउँपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत आमा समूहले फूल खेती गर्न एक लाख बजेट मागे। आमा समूहले जति मागेको थियो गाउँपालिकाले त्यति नै दियो। फूल खेती विस्तार गर्न आमा समूहले योजना त बनाएका छन्, तर फूल ओइलिएर खेर जान्छ कि भन्ने चिन्तामा छन्।
यसअघि गाउँपालिकादेखि प्रदेशका सरकारी कार्यक्रम, गाउँ तल बगेको मादी नदीमा बनिरहेका र बन्ने योजनामा रहेका जलविद्युत आयोजना र केही गैरसरकारी निकायका कार्यक्रम ताङतिङमा हुन्थ्यो। त्यसभन्दा पनि गाउँकै युवाहरूको समूह ताङतिङ युवा क्लबले आयोजना गर्ने चर्चित ताङतिङको मेला पनि गत वर्षसम्म भइरहेको थियो। यस वर्ष यी सब हुन सकेन, गाउँमा पाहुना आउनै पाएनन्।
गाउँमा मात्र होइन, पोखरा र काठमाडौंमा पशुपतिको मन्दिरसम्म ताङतिङका फूल पुगेका छन्। गत बर्ष मात्र ताङतिङबाट चार बोरा फूल बिक्रीका लागि पशुपतिनाथ मन्दिर पुगेको थियो। तर, यसपालि मन्दिर त के गाउँपालिका नै खुलेन, मन्दिर पुग्ने कुरै भएन।
गाउँमा कुनै पनि कार्यक्रम नहुँदा पनि फूल ओइलिएर गएको ताङतिङ आमा समूहकी अध्यक्ष पुष्टीमाया बताउँछिन्। ‘अझै कहिलेसम्म यस्तो हुने हो थाहा छैन,’ उनी भन्छिन्, ‘हाम्रो यस वर्षको मेहनत खेर गयो।’
समुद्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा छ ताङतिङ गाउँ। यो चिसो ठाउँमा झट्टै फूलका बिरुवा मर्दैनन्। त्यसमाथि आमा समूहले दिनहुँ गोडमेल र पानी हाल्छन्। स्थानीय जातको फूल रोपेको कारण पनि यहाँ बाह्रैमास फूल फुलेको स्थानीय महिला बताउँछन्। ‘गाउँमै फुलिरहेको फूललाई व्यावसायिक रुपमा खेती गरेका हौं,’ होमस्टे व्यवस्थापन समितिका सचिव पुनमले भनिन्, ‘गाउँको फुल झट्टै मर्दैन।’
ताङतिङ आमा समूहले लगाएको फुलबारी म्युजिक भिडियो सुटिङस्थलसमेत बनेको छ। गत साता मात्र पोखराबाट मुनाल फिल्म्सको टोलीले एउटा नेपाली र एउटा गुरुङ भाषा गरी दुई वटा गीतको म्युजिक भिडियो सुटिङ गर्यो। फुलबारीबाट हिमालको दृश्य प्रष्ट देखिने भएकाले आफूले फुलबारीकै सिन राखेर म्युजिक भिडियो सुटिङ गरेको मुनाल फिल्म्स पोखराका निर्देशक भोजबहादुर गुरुङले बताए। ‘ताङतिङ गाउँ यसै पनि सुटिङस्थल त छँदैथियो,’ निर्देशक गुरुङ भन्छन्, ‘फुलबारीले सुनमा सुगन्ध छरिदियो।’