कक्षा १० मा पढ्ने धनगढी-३ की लक्ष्मी जोशीलाई सबभन्दा सुरक्षित ठाउँ आफ्नो घर हो जस्तो लाग्छ। त्यसपछि स्कुल।
‘घरमा हामीलाई केही होला भनेर आमा-बुवाले चक्कु नचलाउनदेखि बाहिरकाले दिएको नखानसम्म सुझाव दिन्छन्,' उनले भनिन्, 'कहिलेकाहीँ रिसै उठे पनि मनमा लाग्छ- उनीहरूलाई हाम्रो चिन्ता छ। त्यसैले घर सुरक्षित लाग्छ।'
जिल्ला प्रहरी कार्यालय कैलालीमा परेका उजुरी हेर्ने हो भनेचाहिँ लक्ष्मीको त्यो विश्वासमा तुषारापात भएको देखिन्छ। घरभित्रैबाट बालबालिकाका यौन हिंसामा परेका घटनाबारे प्रहरीमा रिपोर्ट बढ्न थालेका छन्। त्यसमा पनि बालिकामाथि हुने हिंसाका घटना धेरै छन्।
कैलालीमा पछिल्लो तीन महिनामा १२ जना बालिकामाथि जबरजस्ती करणी भयो। अरू ४ जना बालिकामाथि जबरजस्ती करणीको प्रयास भयो। एकजना बालकमाथि अप्राकृतिक मैथुनको घटना भयो।
यसरी यौन हिंसा गर्नेहरू अपरिचित हुँदैनन्, परिवारभित्रैका र आफन्तले नै बालिकामाथि हिंसा गरेका हुन्छन्।
तिनैमध्ये एक हुन् ११ वर्षीया प्रिन्सी(नाम परिवर्तन)। उनी बाजेबज्यै, आमाबुबा र बहिनीसँगै बस्थिन्। उनका बुबाले नै उनलाई बलात्कार गरे। डेढ महिनाअघि जन्म दिने बुबाले नै बलात्कार गरेपछि उनी घरमा बस्न सक्ने अवस्थामा छैनन्। त्यसैले एउटा संस्थाको सेफ हाउसमा बसेकी छन्।
हामीले भेट्दा उनी निकै खिन्न थिइन्। त्यो घटना बिर्सिनै उनलाई गाह्रो भइरहेको छ।
उनलाई अरूबेला पनि रक्सी खाएर बुवाले पिट्ने गर्थे। रक्सी खाएर आमा र अरू परिवारका मान्छेलाई पनि तथानाम गाली गर्ने र पिट्ने सामान्य नै हुन्थ्यो।
एकदिन बुबाले रक्सीको मातमा आमालाई बेस्सरी पिटे। आमाको टाउकोमा चोट लाग्यो। श्रीमानले कुटपिट गरेपछि उनी माइत गइन्।
‘बुबाले पिटेपछि आमा बहिनीलाई सँगै लिएर माइत जानुभयो। म बहिनीभन्दा अलि ठूली भएकोले लग्नुभएन,’ उनले भनिन्।
छोरीलाई हुर्काउन माइत बसेर सम्भव नभएपछि उनकी आमा दिदीसँगै बम्बई गइन्। केही महिना उतै काम गरिन्। अलिकति पैसा कमाएपछि बुबाले फोन गरेर 'झगडा गर्दिनँ, आऊ' भन्न थाले।
आमा फर्केर आइन्।
'बाबाको बुद्धि भने फर्केन,' उनले भनिन्, ‘आमा घर फर्किएको केही समय त राम्रै थियो। पछि पहिलेकै जस्तो दुःख दिन थाले।’
घरमा सधैं झगडा हुने भएपछि आमा अलग बस्न थालिन्।
‘म पनि मम्मीसँग बस्न थालें,’ उनले भनिन्। एकदिन बुबा पनि सँगै बस्ने भनेर आए।
आमाले सिलाइकटाइ गर्न थालेकी थिइन्। स्कुलबाट बचेको समय प्रिन्सीले आमालाई सघाउँथिन्।
बुबा पनि बिहान खाना खाएर निस्कन्थे। बेलुका रक्सी खाएर आउँथे।
कमजोर हुँदै गएकी आमा बिरामी परिन्।
‘आमालाई डाक्टरले अलग सुत्नु भनेका थिए,’ उनले भनिन्।
एकदिन खाना खाएपछि आमासँगै सुत्छु भने पनि बिराम सर्छ भनेर उनले माथि खाटमा बुबासँग सुत्न पर्यो। त्यस रात बुबाले उनको मुख च्यापेर बलात्कार गरे।
‘मुख जोरसँग च्यापेकाले म चिच्याउनै सकिनँ,’ उनले भनिन्।
भुइँमा सुतेकी आमा ब्युँझिएपछि उनले भन्न सकिनन्। बुबाले ममीलाई पनि पिट्न सक्छन् भन्ने सोचेर उनी चुपचाप बसिन्।
‘ममीलाई पनि पिट्ने हुन् कि भनेर डरले मैले भनिनँ,’ उनले भनिन्।
बिहान उज्यालो भएपछि उनको शरीर निकै दुख्न थाल्यो। उनले हेर्दा दुई खुट्टाको बीचमा रगत बगेको थियो। शरीर सुन्निएको थियो।
‘ममीले मलाई के भयो किन नउठेको भनेर सोधिन्। मैले सुरूमा त केही बोलिनँ, पछि सबै कुरा भनें,’ उनले भनिन्।
थाहा पाएपछि आमालाई असह्य भयो। हजुरआमाले घटना भयो भन्दा पत्याइनन्। उनले आफ्नो छोराको बेइज्जत गर्न यस्तो भनेका भनिन्।
प्रिन्सीकी आमाले छोरीमाथि बलात्कार गर्ने श्रीमानलाई कारबाही गर्नुपर्ने भन्दै प्रहरीमा उजुरी गरिन्। प्रिन्सीको मेडिकल चेक भयो। रिपोर्टमा उनीमाथि बलात्कार भएको देखियो।
प्रिन्सीकी आमाले छोरीको न्यायका लागि आफ्नै परिवारसँग लड्नु परेको बताइन्। बाबुबाटै बलात्कृत भएपछि छोरीको न्यायका लागि मुद्दा दर्ता गर्दा उनको परिवारले नै रोकावट गर्न खोजेको छ।
‘घरको कुरा किन बाहिर ल्याउनु पर्यो। बेइज्जत हुन्छ, मुद्दा फिर्ता लेऊ भनेका भन्यै छन्,’ प्रिन्सीकी आमाले भनिन्।
दबाबका बाबजुद् मुद्दा दर्ता गराएरै छोडेकी उनले अहिले घर नै छोड्नु परेको छ।
‘म अहिले माइत बसेकी छु। घरमा मुद्दा हालेपछि बस्ने अवस्था नै छैन,’ उनले भनिन्।
मुद्दा दर्ता भएपछि उनका श्रीमान् फरार छन्। प्रहरीले भेटाएको छैन।
केही दिनअघि उनले फोन गरेका थिए।
‘मलाई मुद्दा फिर्ता लिए पैसा दिन्छु भनेर फोन आएको थियो, मैले त्यो नम्बर प्रहरीलाई दिएकी छु,’ उनले भनिन्।
प्रिन्सीकी आमा छोरीले न्याय पाउनु पर्ने भन्दै प्रहरी कार्यालय धाइरहेकी छन्।
सेफ हाउसमा रहेकी प्रिन्सिलाई ठूली भएपछि पढेर डाक्टर हुने रहर छ। तर कसले उनलाई डाक्टर बनाइदिन्छ थाहा छैन।
बाल हेल्पलाइनकी जिल्ला संयोजक विष्णु पौडलले घटना भएपछि समुदायमा बस्न साह्रै गाह्रो भएर उनलाई परिवारले खबर गरेको बताइन्।
‘उनी सेफ हाउसमा बसेको एक महिना भयो,’ उनले भनिन्।
पौडेलका अनुसार सेफ हाउसमा पीडितहरूलाई मनोपरामर्श दिने काम भइरहेको छ। अनौपचारिक रूपमा पढाइ पनि हुने गरेको उनले बताइन्।
‘मुद्दाबारे अदालतमा बकपत्र नहुन्जेलसम्म उनी यतै बस्छिन्,’ पौडेलले भनिन्।
सुरूमा आउँदा अरूको विश्वास नगर्ने, डराउने उनको अवस्थामा केही सुधार आएको पौडेलले बताइन्।
उनको मुद्दा प्रक्रियामा छ। अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा उनकी आमालाई पीडा भइरहेको छ।
बाल हेल्पलाइनमा अनौपचारिक रूपमा पढाइ गर्न पाए पनि उनको नयाँ कक्षाको पढाइ भने रोकिएको छ।
कैलालीमा बालिकामाथि यौन हिंसाका कारण पढाइ प्रभावित हुने क्रम बढेको संयोजक पौडेलले बताइन्।
उनका अनुसार आफूमाथि यौन हिंसा भए पनि बालिकाहरू आफैंलाई दोषी सोच्छन्। सोही कारण उनीहरू जीवनदेखि हरेस खाने, बोल्न छोड्ने, खेल्न छोड्ने, पढाइ छोड्ने, घरमा जान डराउने गर्छन्।
बाल हेल्पलाइनमा प्रिन्सीजस्तै हिंसामा परेका ३ जना बालिका अरू पनि छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले प्रिन्सीलाई बलात्कार गर्ने उनका बुवा फरार रहेकाले खोजीकार्य जारी रहेको बताए।
‘मुद्दा प्रक्रियामा छ हामीले खोज्ने प्रयास गरिरहेका छौं, छिट्टै अदालतमा मुद्दा पेस गर्ने तयारीमा छौं,’ उनले भने।