मादी-२ ताङतिङका ६० वर्षीय गोरे गुरुङले भिर चढ्नुअघि हातमा चामल लिए।
भिरको फेदमा तीन पटक छर्किएर भने, 'सिमे-भूमे परमेश्वर, मैले जानेर बुझेर गरेको होइन। गर्भआत्माले गरेको काम गरिराछु। मेरो हात ठोक्किने, खुट्टा ठोक्किने र लड्ने काम नहोस्। मैले नजानेर गरेको गल्तीमा क्षमा होस्।'
गोरेले यसो भनिरहँदा भिरको फेदमा धुँवा लगाइसकिएको थियो। सुकेका दाउरा बालेर त्यही आगोमाथि हरियो घाँसपात हाल्दिएपछि धुँवाको मुस्लो उड्यो। मुस्लोले एकछिन भिर छोप्यो, जुन भिरमा मौरीले ठूल्ठूला चाका बनाएका थिए।
मुस्लोले ढाकिएपछि मौरीहरू चाका छाडेर उड्न थाले। धेरैजसो त चाका नजिकै डल्लो परेर एकैठाउँ बसे।
'जुनै कुराको पनि शत्रु हुने रैछ। मौरीको शत्रु नै धुँवा हो,' गोरेले भने, 'धुँवा लगाएन भने मौरी काच्चै हुन्छ, धुँवाले नभेटेको मौरीले टोक्दा धेरै दुख्छ। तम्तमाएको मौरीको टोकाइले दुख्दैन, टोके पनि विख लाग्दैन।'
धुँवा लगाइसकेपछि भिरमाथि बसेका शिकारीले लठ्ठाको भर्याङ डोरीको सहायताले माथि ताने। भिरमाथि रुखमा लगेर भर्याङ बाँधिदिए। यो भर्याङ २३ वर्ष पुरानो हो। मह-शिकारी गोरेका अनुसार धुँवामा राख्दा ४० वर्षसम्म यही भर्याङले धान्न सक्छ।
भिरमौरीका मुख्य मह-शिकारी गोरेले भिर पूजा गरे र भर्याङमा चढे। उनलाई सघाउन भिर माथि र तल अन्य व्यक्ति थिए। डोरीमै अडिन आफूलाई उनले भर्याङमा बाँधे र तलबाट मह शिकार गर्न चाहिने टाँका, टोकरी लगायत मागे।
यहाँ सबै काम डोरीकै सहायताले हुन्थ्यो, भर्याङ पनि डोरी, महको चाका तलमाथि गर्न पनि डोरी। तलबाट महको चाका राख्ने भाँडो अर्थात टोकरी, मह काढ्न प्रयोग गरिने दाबिलो लगायत माथि पठाइयो। भिर तल डोरी बाँधिदिएपछि माथिकाले तान्थे र शिकारीको छेउमा पुगेपछि रोकिन्थे।
शिकारी गोरेले टोकरी थापेर दाबिलोले चाका पहराबाट काट्थे जुन टोकरीमा खस्थ्यो। जम्मा भएको चाका फेरि डोरीकै सहायताले तल झार्ने, मह खन्याउने र फेरि माथि पठाउने। यसरी ताङतिङ, सलाइँभिरका ३ वटा भिरमहका चाका गत साता काढियो।
भिरमा बस्ने हजारौं मौरीले झन्डै वर्ष दिन लगाएर भरेको मह मान्छेले एकाध घन्टामै सबै निकालिदिए। मौरीले वर्षभरी कहाँकहाँ पुगेर जम्मा गरेको फूलको रस मान्छेले खाइदिए। त्यही भएर होला, गोरेले सुरूमै पूजा गरेर आफूले क्षमा मागेका।
ताङतिङ गाउँबाट झन्डै ३ घन्टा ठाडै ओरालो झरेपछि उक्त भिरमा पुगिन्छ। फर्किँदा त उकालो झन्डै ५ घन्टा हिँड्नुपर्ने। जंगलको बाटो आफैं फाँड्दै हिँड्नुपर्थ्यो। भिर पुग्दा तल मादी नदीको छङछङ प्रष्ट सुनिन्थ्यो, मह शिकार गर्ने बेला मौरीको भुनभुन पनि उत्तिकै चर्किएको थियो।
भिर हेर्दै डरलाग्दो थियो। छङगाछुर भिर तल बस्न पनि निकै होसियार हुनुपर्ने। गोरे भने डोरी भर्याङका सहारामा भिर सरासर चढे, सरासर झरे।
'यो भिरमा मैले ५०-६० पटक मह काढेँ होला,' गोरले भने, 'अचेल त केही जस्तो लाग्दैन।'
ताङतिङका भिरमा मात्र होइन, गोरे त्यस क्षेत्रकै एक मात्र भिरमह शिकारी हुन्। उनलाई छिमेकी गाउँहरू तप्राङ, खिलाङ, सिक्लेस, पार्चे, घ्याप्राङ लगायतका गाउँलेले मह काढ्न बोलाउँछन्। उनी पनि नाइँनास्ती नगरी जान्छन्।
यसरी भिर चढेर हजारौं मौरीका गोलामा पुग्न गोरेले किशोरावस्थामै सिकेका हुन्। ताङतिङकै मह-शिकारी डम्बरसिंह गुरुङले उनलाई १६ वर्षकै उमेरमा मह काढ्न सिकाएका थिए।
'म अलि मूर्ख थिएँ, जहाँ पनि चढ्ने। अग्लो रुखमा पनि, भिरभिर पनि चढ्थेँ,' उनी डम्बरसिंहलाई गुरु मान्छन्, 'गुरुले मह काढ्दा लगाएको डोरीमा पनि चढेपछि उहाँले मलाई यो ज्ञान सिकाउनुभयो।'
डम्बरसिंह बितेको १३ वर्ष भयो। उनले मह शिकार गर्न भिरमा चढाउँदा २-३ पटक अलिअलि डर लागेको गोरे सम्झिन्छन्, 'त्यसपछि त बानी परिहाल्यो। अचेल त भुइँमै हिँडे जस्तो लाग्छ।'
मह शिकार गर्दा शिकारीका हात खुट्टा र अनुहार खुल्लै हुन्छ। अघिल्ला वर्ष त छोटा कपडामै भिर चढेका गोरे गत शुक्रबार ताङतिङमा भने पिपिई सेट लगाएर उक्ले। हातखुट्टा त खुल्लै थियो। उनलाई कति मौरीले टोके होलान्?
उनी आफैं अनुमान गर्न सक्दैनन्। अझ, थाहा पाउनै नसक्ने भएका छन्।
'हजार मौरीले टोके पनि मेरो ज्यान सुनिन्न। दुख्दैन पनि, मलाई केही हुँदैन,' गोरे आत्मविश्वाससाथ भन्छन्, 'मेरो ज्यान नै लाटो भयो भनम् न। मौरी देखेर कत्ति डर लाग्दैन।'
उनलाई सघाउने साथीहरू भने खुबै डराउँछन्।
मह काढ्ने बेला मौरीसँगै भिरमा रहेका गोरेले भिरतल र भिर बसेकालाई बोलाए। उनीहरूले सुनेनन्। गोरे जङ्गिए। माथिबाट लालबहादुर गुरुङ विस्तारै डोरीको भर्याङ हुँदै तल झरे। भिरमा के आइपुगेथे, उनको मुटुले ठाउँ छाड्यो। उनी माथि पनि जान नसक्ने, तल पनि झर्न नसक्ने भएर अड्किए।
मह शिकार सकिएपछि साथीहरूको सहयोगमा विस्तारै माथि चढेर ज्यान जोगाएका लालबहादुरले भने, 'भाग्यले बाँचेर आएँ। त्यहीँ पुग्दा पनि डरले लगलग कामेको थिएँ।'
नकामून् पनि कसरी, भिर हेर्दै भयानक, अडिने ठाउँ कतै थिएन।
गोरेका अनुसार वर्षमा दुई पटक, मंसिर र वैशाख–जेठमा मह काढिन्छ। शिकार गर्न दिन जुराउन पर्छ।
मंगलबार र बुधबार मौरीको बार भनेर छाड्छन्। शनिबार पनि मौरीका बच्चा र माउ नछुटून् भनेर मह काढ्दैनन्। यी दिनमा नकाढ्नुको कारण गोरे र उनका टिमलाई थाहा छैन। पहिल्यैदेखिको चलन मानेका हुन्।
मंसिरमा काढेको महले शरीरलाई कुनै असर नगर्ने गोरेले बताए। तर वैशाख-जेठको मह खाँदा 'लाग्न' सक्ने उनको भनाइ छ। आफूलाई पनि एक पटक लागेको बताउँदै भने, 'पूरै ज्यान लाटो हुन्छ। कोही त बेहोस नै हुन्छन्।'
मह शिकार गर्ने बेला आफू कहिल्यै मह नखाने गोरे बताउँछन्। थाहा पाउने गरी धेरै मौरीले टोक्यो भने चाका काट्ने दाबिलो चाट्नू भनेर गुरुले सिकाएका छन्। उनले एकपटक दाबिलो चाटेका छन्। त्यसपछि मौरीले टोक्न कम गरेको उनको अनुभव छ।
यो काममा ज्यान जोखिममा हुन्छ। भिरबाट खसेर कतिको ज्यान गएको छ भने कति अंगभंग भएका छन्। यसपालि पनि गोरे झन्डै भिरबाट खसेका थिए। उनले आफूलाई अड्याउन बाँधेको डोरी फुत्किसकेको थियो। उनका हातखुट्टा भने मह शिकार गर्ने सरसामग्री समाउँदै ठिक्क।
बेलैमा थाहा पाएर उनले आफूलाई फेरि बाँधे।
'हातखुट्टा खाली राखेर डोरीले काखीमा बाँधेको हुन्छ, धन्ने फुत्केको,' उनले भने, 'मैले होसियारी पुर्याँए भनम् न।'
यसअघि ताङतिङ पारिको भिरमा मह शिकार गर्न जाँदा शिकारी गर्वे गुरुङको भिरबाट खसेर मृत्यु भएको थियो। ताङतिङस्थित हिमालय माविका प्रधानाध्यापक प्रकाश गुरुङका अनुसार गर्वेले भिरमह खाएपछि लागेर खसेका थिए।
गुरुङका अनुसार अर्का एक जना मह शिकारकै क्रममा खसेर अहिले अंगभंग भएर बाँचेका छन्। ती व्यक्ति भारतीय सेनाका सेवा निवृत्त पाविर गुरुङ हुन्। उनी छुट्टिमा आएका बेला त्यही सलाइँभिरमा मह काढ्न गएका थिए। मह समाउन खोज्दा भिरबाट खसे, घाइते भए। अंगभंग भएर उनी हाजिर हुन पल्टन फर्केका थिए।
यति धेरै जोखिम भए पनि उच्च पहाडका गाउँलेले भिरमह शिकार गर्न छाडेका छैनन्। चाका निकालेपछि शिकारी समूह र अन्य सहयोगीले बोकेर गाउँ ल्याउँछन्। जालीमा छानेर चाका निचार्छन् र मह निकाल्छन्।
मह शिकारमा जाने सबैका भाँडा लाइनमा हुन्छ, सबैलाई बराबर बाँड्छन्। यसरी बाँड्दा मौरी बसेको भिरधनी र मुख्य मह-शिकारीलाई दुई भाग दिइन्छ। भिर माथि र तल बस्नेले पनि अरूले भन्दा केही धेरै पाउँछन्। त्यस्तै भिरसम्म भर्याङको डोरी लगायत सामग्री बोकेर लैजानेले पनि केही मह पाउँछन्।
बाँकी गाउँलेले भने कि किनेर खानुपर्छ कि शिकारी समूहले दिनुपर्छ। मह काढ्नेले मात्र हात चाट्ने नियम छ ताङतिङमा।
'गाउँलेलाई किन बाँड्ने,' गोरे जोस्सिएर भन्छन्, 'यहाँ दुःख गर्नेलाई बाँड्ने हो नि।'
ताङतिङका गोरे छरछिमेकी गाउँका पनि मह-शिकारी भएकाले उनका घरमा सबभन्दा धेरै मह हुन्छ। त्यसमाथि मुख्य शिकारीले पाउने दुई भाग। यसरी पाएको मह उनले देश-विदेशमै बिक्री गरेका छन्। बेच्न आफैंले ग्राहक खोज्नुपर्दैन, ग्राहक आफैं भिरमह खोज्दै गोरेका घर पुग्छन्।
गाउँमा एक जम्बो बोतल (२.२५ लिटर) महको मूल्य ३ हजार रुपैयाँ छ। गत वर्ष गोरेले मह बेचेरै ५ लाख कमाए। भिरमह शिकार हेर्न आएका जापानी टोलीले उनीसँग ७ ड्रम मह किने। गाउँ घुम्न गएका पर्यटक र अरू नेपालीले ४ ड्रम किने। शिकारको जटिलता देखेर होला, सस्तो पाएको भन्दै जापानी टोलीले मह किनेकै मूल्य जति, अर्थात् साढे २ लाख रुपैयाँ गोरेलाई दिए।
नागरिकताको नाम शेरबहादुर गुरुङ भए पनि उनलाई गाउँलेले गोरे भन्छन्। उनी पनि आफूलाई चिनाउँदा गोरे नै भन्छन्। ताङतिङ, सिक्लेस क्षेत्रका अनुभवी मह-शिकारी गोरका अनुसार शिकारमा सधैं उस्तै मह आउँदैन।
'कहिले एक थोपा आउँदैन। भिर चढ्ने दुःख मात्रै,' उनी भन्छन्, 'सधैं उस्तै मह परे त म धनी हुन्थेँ नि।'