सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नीतिलाई पुन: कार्यान्वयन गर्न लागेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिएका छन्।
मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विदेशबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा राख्नलाई अहिले टोलटोलमा निगरानी समूह गठन गर्ने काम भइरहेको छ।
उनले उक्त निगरानी समूहले विदेशबाट आउने व्यक्ति घरमा बसे/नबसेको निगरानी गर्ने जनाए।
'विदेशबाट आउने व्यक्ति १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्छ। त्यसका लागि अहिले टोलटोलमा निगरानी समूह गठन गरिरहेका छौं,' श्रेष्ठले भने।
उनले उक्त निगरानी समूह देशव्यापी रूपमै गठन गरिने जनाए।
अहिले काठमाडौं उपत्यकाको स्थानीय तहहरूले निगरानी समूह गठन गर्ने काम गरिरहेको भन्दै उनले यस्ता समूह सबै स्थानीय तहहरूमा गठन गरिने बताए।
श्रेष्ठले भने, 'उपत्यकाको १८ वटै पालिकाहरूमा छलफल भइसकेको छ। कतिले समूह गठन गरिसक्नुभएको छ भने कतिले गर्दै हुनुहुन्छ।'
निगरानी समूह गठन गर्नकै लागि मन्त्रालयले स्थानीय तहका प्रमुख र वडाध्यक्षसँग छलफल गरेको थियो।
श्रेष्ठले भने, 'हामीले उहाँहरूसँग छलफल गरेर एउटा निर्देशिका पनि दिएका छौं। अब उहाँहरूले सोही अनुसार काम गर्नुहुन्छ।'
अब विदेशबाट आउने जो कोही पनि कम्तिमा दुई साता घरमै बस्नुपर्ने हुन्छ। सो अवधि पूरा नभई कोही पनि बाहिर निस्कन वा डुल्न पाउने छैनन्।
सरकारले यसअघि पनि विदेशबाट आउने व्यक्ति होम क्वारेन्टिनमा बस्नुपर्ने बताए पनि त्यसको कार्यावन्यन फितलो भएको थियो।
मानिसहरू विदेशबाट आउनेबित्तिकै बजार, टोल छिमेक र गाउँगाउँ डुल्ने गरेका थिए।
अब भने विदेशबाट आउने व्यक्ति घरमा बसे/नबसेको कुरा निगरानी समूहले रेखदेख गर्ने छ।
उक्त टोलीमा टोलका सक्रिय व्यक्ति, जनप्रतिनिधि र स्वास्थ्यकर्मी समेत हुनेछन्। त्यही टोलीले होम क्वारेन्टिनमा बसिरहेका विदेशबाट आएका व्यक्तिको प्रत्यक्ष निगरानी राख्नेछ।
सरकारले विदेशबाट आउने व्यक्तिलाई पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरे पनि थप संक्रमण जोखिमलाई मध्यनजर गर्दै होम क्वारेन्टिनको नीति लिएको हो। होम क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिए त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गरिने श्रेष्ठ बताउँछन्।
साथै, लक्षण नदेखिए पनि ती व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गरिने उनले जनाए।
त्यसरी पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भए आवश्यकता अनुसार अस्पताल पुर्याउने काम पनि उक्त समूहले नै गर्ने भनिएको छ।
साथै, संक्रमण पुष्टिपश्चात पनि कतिपय संक्रमितहरू घरमा नबसेको भन्दै उक्त कुरालाई पनि कडाइ गर्न निगरानी समूहलाई सक्रिय पार्न खोजिएको हो।
मन्त्रालयले यसअघि नै संक्रमितहरू घर बाहिर निस्किँदा जोखिम बढेको औल्याउँदै उनीहरू घरमा बसे/नबसेको निगरानी गर्न समूह गठन गर्ने जनाएको थियो।
अब विदेशबाट आउने व्यक्ति पनि घरमा बसे/नबसेको कुरा उक्त समूहले नै निगरानी गर्ने भनिएको हो।