गए राति कैलालीमा हल्लाखल्ला भयो- प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्पर्कमा छैनन्। कतै अपराधीहरूसँग त मुठभेड भएन?
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी भरतबहादुर चौधरी बेलुकी ९ बजेदेखि नै सम्पर्कविहीन थिए।
प्रहरीले तत्काल उनको खोजी सुरू गर्यो। रातभर आफन्त र उनी जान सक्ने सम्भावित ठाउँहरूमा प्रहरीले खोजी गरे पनि फेला परेनन्।
‘उहाँसँग सम्पर्क पनि भएन। फोन नलागेपछि खोजी गर्न थाल्यौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सेतोपाटीसँग भने, ‘आफन्त र उहाँ जान सक्ने सम्भावित ठाउँमा खोजी गरिएको थियो।’
डिएसपी चौधरी एक्लै ड्युटीमा गएको भन्ने थियो।
‘पहिले त कतै अपराधीहरूसँग उहाँ मुठभेडमा पर्नु भयो कि भन्ने लागेर हामी संवेदनशील भएर खोजी गर्यौं,’ सिंहले थपे।
करिब ९ घन्टापछि चौधरी बुधबार बिहान ६ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीबाट आफैं सम्पर्कमा आए।
कार्यालयकै काममा जाँदा नेटवर्कले काम नगर्दा आफू सम्पर्कविहीन भएको भन्ने बताएको उनलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। तर उनको यो भनाइ अरूले विश्वास गर्न सकेका छैनन्।
उनले दिएको यो जानकारी ठिक छ या छैन भन्ने विषयमा छानबिन सुरू गरिएको एसएसपीले सिंह बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारीबिना सम्पर्कविहीन भएको भन्दै सोधपुछका लागि चौधरीलाई जिल्ला झिकाएको छ। उनको ठाउँमा अर्को प्रहरी प्रमुख पठाइएको भने छैन।
उनले सम्पर्कविहीन हुनुपर्ने कारण देखाएअनुसार प्रमाणित भए पुन: काममा फर्कन पाउनेछन्। तर गैरजिम्मेवार काममा लागेको पुष्टि भए कानुनअनुसार कारबाही गरिने एक प्रहरी अधिकृतले बताए।
स्रोतका अनुसार डिएसपी चौधरी एक होटलमा बसेका थिए।