रोगले गाल्दै लग्दा लेखक कल्पना बान्तवाको शरीरले आमाको काख खोज्थ्यो।
आफू जति ठूली भए पनि, आमा जति बूढी भए पनि आमा, आमा नै हुन्। आमाको छेउमा घुस्रिएर सँगै निदाउन उनलाई मन हुन्थ्यो।
लाग्थ्यो– आमाले थप्थपाइदिए मात्रै पनि रोग 'छुमन्तर' हुन्छ।
घरिघरि आफ्नी नर्स साथीलाई सोध्थिन् पनि, 'अब कहिले आमासँग बस्न सक्छु?'
'अब केही दिन,' साथीले सम्झाउँथिन्।
त्यो केही दिन बित्न कति नै दिन लाग्थ्यो र? अनि फेरि सोध्थिन्, 'अब कहिले?'
फेरि जवाफ उस्तै।
कोरोना त भएको थिएन कल्पनालाई। तर कोरोनाकाल सुरू भएको चैतदेखि नै उनी रोगले थलिएकी छन्।
कपन, आकाशेधारा नजिकै उनको डेरा पुग्दा सोफामा ढल्किइरहेकी थिइन् कल्पना। सँगैको टेबलमा औषधि र उनलाई चाहिने सामान थिए। ८६ वर्षीया उनकी आमासँग पनि कहाँ हुनु तागत? अर्को खाटमा उस्तै अवस्थामा थिइन्।
कहिलेकाहीँ राति कल्पना गाह्रो भएर कराउँछिन् रे, 'आमा गाह्रो भयो।'
उमेरसँगै आमा कान नसुन्ने। धेरैपछि 'हँ' भन्छिन्। अनि 'अब मैले के गर्नु त? म आफैं त यस्ती छु' भन्छिन्।
तर आमा सँगै हुनु मात्रै पनि उनमा ऊर्जा थपिनु हो। डेढ महिना जति आफ्नै कोठामा कैद भएपछि कल्पना आमाकै कोठामा सरेकी हुन्।
'कहिले आमासँग बस्न सक्छु?' भन्ने प्रश्नको जवाफ त पर्खनु छैन अब उनलाई।
'कहिले ठीक हुन्छु?' भन्ने प्रश्नले भने पिरोलिरहन्छ।
कल्पना उपन्यास 'कायाकल्प' की सर्जक हुन्। उनका कथा, कविता, संस्मरण, निबन्ध, लेखहरू पनि पत्रपत्रिकामा आइरहेका हुन्छन्। यिनै परिचयबाट चिन्नेहरूले अहिले उनलाई देखे भने पत्याउनै मुश्किल पर्ला!
५०–५५ किलो ज्यानकी कल्पना सुकेर अहिले हाडछाला मात्रै भएजस्तो ख्याउटी छन्। उनको घरैमा छ तौल नाप्ने उपकरण। तर उनलाई डर लाग्छ, '३५ किलो नि छुइनँ हुँला। बरू चेक नगर्दै ठीक।'
उनको यो अवस्था चैतदेखि सुरू भएको लगातार खोकी हो। आज निको होला, भोलि निको होला...दिन गन्दै दिन बित्दै गयो।
बिस्तारै उनको स्वर भासिन थाल्यो। यता कोरोना समय भएकाले अस्पताल जान आँट भएन। एलर्जीजस्तो खोकी त उनलाई पहिले पनि हुन्थ्यो।
'एलर्जीजस्तो खोकीमा के अस्पताल जानू' भनेर त्यति धेरै वास्ता पनि गरिनन्। खोकीको औषधि खाइन्, बोझो चुसिरहिन्। कहिले अदुवा–मह–पानी बनाइन्। जे–जे सकिन्छ गरिन्। निको भएन।
खाना रुच्न पनि कम भइरहेको थियो। नखाएपछि ज्यान पातलिँदै थियो। विस्तारै घर वरिपरि नै हिँड्न नसक्ने भइन्। ह्विलचेयर चाहिने भयो।
अत्ति भएपछि बल्ल उनले नर्स साथीलाई सुनाइन्, 'म के गरौं?'
सुरूमा त पहिल्यै नजँचाएकोमा साथीले गाली गरिन्। अनि तुरुन्तै अस्पताल आउन सुझाइन्।
'अस्पताल पुगेपछि एक्सरे गरियो। ओहो! मेरो छाती त खत्तमै भइसकेको रहेछ,' उनले भनिन्, 'क्षयरोग भएको रहेछ। निमोनिया पनि भइसकेछ। त्यतिन्जेलसम्म छातीभरी फैलिसकेको थियो।'
डाक्टरहरूले औषधि चलाए। दिनमै ९ वटा औषधि खाँदा पहिल्यै नजाँचेकोमा उनलाई सजाय पाएजस्तो भयो।
औषधि खाएपछि झनै कमजोरीले गाँज्दै लग्यो। लुलो हुने, खान मन नलाग्ने, भ्रम हुने जस्तो समस्या। अहिले भर्खर बोलेको अहिल्यै बिर्सिने लक्षण देखिन थाले। उठेर बस्न खोज्दा ज्यान पुर्लुकपुर्लुक लड्थ्यो। अनि सुतेको सुत्यै। सहारा ह्विलचेयर र भाइ–बुहारी।
अस्पतालमा दुई साता बसेपछि उनी घर फर्किइन्। घरमा पनि आमा र भर्खरै जन्मिएकी सानी भदैनीलाई रोग सर्ने डर थियो। बुहारी र भदैनीलाई काकडभिट्टा पठाइदिए। आमा भने बेग्लै कोठामा। भाइ पनि दिनभरी जागिर। दिउँसो एक जना सहयोगीले उनीहरूको रेखदेख गर्छन्।
त्यति बेलै त हो उनलाई एकान्तपनले झनै सताउन थालेको।
'कसैसँग बोल्नु हुन्नथ्यो, एकदम झर्कने। स्वर पनि खुलेको थिएन,' उनकी फिजियो-थेरापिस्ट सुरविनी आचार्यले भनिन्, 'उहाँले फोन गर्दा पनि बूढी मान्छे बोलेजस्तो हुन्थ्यो। अहिले त धेरै सुधार भएको छ।'
हामी पुग्दा दिनको १२ बजिसकेको थियो। खाना खाइसकेपछि कल्पना र उनकी आमाको पालैपालो थेरापीको समय रहेछ। एक साथीले यो उपचारविधिबारे बताएपछि कल्पनाले सुरविनीसँग दुई साताअघि सम्पर्क गरेकी रहिछन्।
सुरविनीले पनि उनलाई 'हिँड्ने बनाउँछु' भनेकाले कल्पनालाई आशा जागेको छ। आशासँगै एक महिनायता खाने भोक पनि जागेकाले तंग्रिदैछिन्।
'दुई-तीन हप्ता भयो अलिकति आशावादी भएकी छु। बल्ल त हाँस्न, बोल्न थालेकी छु। नत्र मलाई कसैसँग बोल्न झर्को लाग्थ्यो। एकदमै निराशावादी, डिप्रेस्ड थिएँ,' कल्पनाले भनिन्, 'सबभन्दा ठूलो कुरा आशा नै रहेछ। आश भएपछि जीवन पनि रमाइलो, सजिलो लाग्ने रहेछ।'
'बिरामी छु' भनेर आफूलाई माया लाग्दो देखाउने कल्पनाको स्वभाव होइन। उनले त नजिकैका साथीलाई पनि आफू यस्तो अवस्थामा पुगेको बताएकी थिइनन्। केही शुभचिन्तक–साथी भने उनका लागि सहयोग रकम उठाउन लागिपरेका छन्।
आफ्नो रोगबारे नसुनाउनुको अर्को कारण पनि उनी बताउँछिन्, 'मलाई क्षयरोग भएको छ भन्न पनि अप्ठ्यारो। मान्छेलाई औषधि खाएर निको हुन्छ भन्ने थाहा छ। तर जतिसुकै पढे-लेखेका भए पनि मान्छेको विचार अझै प्रस्ट भएको छैन।'
कल्पनालाई पहिलेदेखि उच्च रक्तचापको समस्या थियो। औषधि खाइरहेकी थिइन्। क्षयरोग लागेपछि भने उच्च रक्तचापको समस्या हटेछ। भन्छिन्, 'रोगले रोगलाई काट्दो रहेछ भन्ने मैले पत्याएँ। छक्कै परेँ। क्षयरोग भएपछि सबै छुमन्तर, कता गयो गयो।'
पेसाले आफैं पनि नर्स हुन् कल्पना। शिक्षण अस्पताल, महाराजगञ्जमा करिब दुई दशक काम गरेकी उनले 'हाइपर टेन्सन' का कारण ५–६ वर्षअघि राजीनामा दिएकी हुन्। त्यसयता उनी लेखनमै पूर्ण रूपमा लागेकी छन्।
साहित्य उनको बालापनदेखिको नशा हो भन्दा फरक पर्दैन।
पुर्ख्यौली घर खोटाङ, दिक्तेल हो। जन्मे–हुर्केको भने सप्तरीमा। राई हुन् तर मधेस प्रभाव बढी छ। मैथिली खानादेखि भाषासम्म बुझेकी उनका लेख पनि मधेसबाट अछुतो छैनन्। तिनमा त्यहीँको गन्ध बढी पाउन सकिन्छ।
राईहरूलाई सुँगुर–बंगुरको मासु खुबै मन पर्छ। तर कल्पनाकी आमा गुरूङ भएकीले खाँदिनन् रे। त्यसैकारण कल्पना पनि खान्नन्।
बुवाले पहिला पर चुलो बनाएर पकाएको उनले देखेकी हुन्। त्योबेला खान नहुने रहेछ भन्ने लाग्थ्यो। पछि कोसिस गरे पनि खान सकिनन्।
'अस्ति त मैले पनि सोचेँ, यो कमजोरी ठीक पार्न बंगुरकै मासु खाऊँ कि क्या हो,' कल्पना एकसुरले बोल्छिन्, 'मुवाले पनि खाऊ खाऊ भन्नु भयो, मन चाहिँ लागेन। खसी-कुखुरा नै खान्छु भनेँ।'
उनलाई आफू राई भएर पनि यो समुदायमा भिज्न नसकेको थकथकी छ, 'कसैकसैको नाम सुन्यो भने आफ्नै जस्तो लाग्छ। बुवाले पहाड घर पनि कहिल्यै लैजानु भएन। त्यही हो, हामी राई भएर पनि राई जस्तो भएनौं।'
उनी फेरि आफ्नो साहित्य यात्राबारे बताउन थाल्छिन्।
कल्पना सानो छँदा राम्रा स्तरका साहित्यिक किताब गाउँमा पाइन्थेनन्। फुटपाथमा बेच्न राखेका किताब सबै पढेर सकिहालिन्। पछि विराटनगर, नर्सिङ क्याम्पस पढेपछि मात्रै हो उनले पारिजात, ध्रुवचन्द्र गौतमहरूका किताबबाट प्रभावित बन्ने अवसर पाएकी।
'पहिले साहित्यलाई नै भविष्य बनाउने भन्ने थिएन। आँट पनि आएन। यति पढिहालियो, अब पैसा कमाउनुपर्छ भन्ने सोचेर ओभरसियर आर्किटेक्टमा परीक्षा दिएँ, नाम निस्कियो। सँगै नर्सिङ परीक्षा पनि दिएकी थिएँ। त्यसमा पनि नाम निस्किएपछि नर्सिङमै लागेँ,' उनले भनिन्।
तर नशा बनिसकेको साहित्यले कहाँ छोड्थ्यो। साहित्यिक प्रभाव परेर होला उनी चिठीहरू लेख्थिन्। साथीहरूले 'ओहो! कस्तो साहित्यिक चिठी' भन्दा दंग पर्थिन्। अहिले ती चिठी पढ्दा उनलाई सतही लाग्छन्। भन्छिन्, 'उपन्यासका डायलग चिठीमा हालेर पनि कहीँ साहित्यिक हुन्छ?'
वास्तविक लेखन यात्रा त उनको पत्रपत्रिकाबाट भयो। एकदिन कान्तिपुर 'कोसेली'बाट पाठकहरूलाई लेख्न खुला आहवान आयो। कोसिस किन नगर्ने? उनले पनि आफ्ना लेख पठाइन्, छापियो। प्रशंसा पाइन्। झनै लेखिरहिन्।
त्यही लेखनले निखारिँदै उनले पहिलो उपन्यास 'कायाकल्प' प्रकाशन गरिन्। यो उपन्यासमा काया नामक एक पात्र छिन् जो नर्स हुन्। प्रेमका लागि धेरै संघर्ष गरेकी, तर सधैं धोका पाइरहेकी।
कल्पना आफैं नर्स। ५३ वर्षकी उनी अविवाहित छन्। धेरैले कायाको कथा कल्पनाकै कथा हो भन्छन् उनलाई। लेखक र पात्रबीच तुलना गर्छन्। कल्पनाकै जीवनलाई कायामा उभ्याइएको पनि भन्छन्।
कल्पना यति भन्छिन्, 'म होइन भन्न सक्दिनँ। मेरो काम लेख्ने हो। पाठकले जे सोच्छन्, सोचून्।'
दोस्रो उपन्यास पनि उनले लेखिसकेकी छन्। प्रेम कथामै आधारित उक्त उपन्यास पुनर्लेखन गरेर मात्र प्रकाशन गर्ने सोचमा छिन्।
साहित्यसँगको उनको लगाव रोगले घटाएको छैन। तर कोठा सर्दाको दिक्दारीका कारण भन्छिन्, 'मेरो किताबको सानो दराज छ। सोच्दैछु, यस्तो अवस्थामा किताबहरू राखेर के गर्नु? एउटा पुस्तकालयलाई दिएर दराज पनि बेचिदिन्छु। अब घर सर्दा फर्निचर एकदम थोरै होस्। दिक्कै भइयो नि!'
काठमाडौं आएयताका करिब १५ वर्ष उनी चाबहिलमा भाडामा बसेकी हुन्। एक वर्ष मात्रै भयो कपन आएको। यो ठाउँसँग त्यति टक बसेको छैन उनलाई।
फेरि यहाँ आएदेखि नै उनी रोगले थलिएकी छन्। रोगकै कारण यो पटकको दसैं–तिहार मनाउन मन भएन। अचेल उनलाई केही पढ्न–लेख्न पनि जाँगर छैन। युट्युबमा हाँस्य र पाककलाका कार्यक्रम हेरेर बस्छिन्।
अनि त्योसँगै यस्तो दिनको प्रतीक्षामा छिन्- फेरि स्मार्ट भएर कहिले हिँड्ने होला? विभिन्न ठाउँ, कार्यक्रममा कहिले पुग्ने होला?
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी